बसाई हिँड्नेको ताँतीले रित्तिदै हिमाल र पहाड

  प्रकाशित मिति
१२ श्रावण २०७९, बिहीबार १६:११


।। अम्बिका भण्डारी ।।
झापा, १२ साउन (रासस) : ‘बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुँदछ, लाखौका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।’ वि.सं. २०२६ तिर गायक जेबी टुहुरेले साहित्यकार लब प्रधानका यी शब्दमा स्वर भरेपछि अहिलेसम्म जनजनमा लोकप्रिय भएर गुञ्जिरहेको छ यो गीत ।

राजनीतिक जागरणका लागि जनताको जीवनलाई दुरुस्त उतारिएको यो गीतले उसबेला पहाडी भूगोलमा गरीवी, अभाव र बेरोजगारीका कारण बसाई हिँड्नेको ताँतीले गाउँ नै उजाडेको सन्देश बोकेको छ । जो अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।

त्यसो त, साहित्यकार लीलबहादुर क्षेत्रीले पूर्वी पहाडको यही जनसांख्यिक विशेषतालाई कथाबस्तु बनाएर ‘बसाई’ उपन्यास नै लेखे । धने भन्ने पात्रले बिहानीपख उजेलो नहुँदै पहाडको थातथलो छाड्दा भएको रुवाबासीले कसको मन पगाल्दैन र !

गीत र उपन्यासको यो अभिशप्त जीवनचर्चा अहिले पनि पूर्वी पहाडको वत्र्तमान नियति बनेको छ । समृद्ध र सुखी समाजको परिकल्पना गर्दै अनेक युग फेरिए पनि यहाँको बसाई हिँड्नु पर्ने बाध्यता अझै हटेको छैन भन्ने तथ्य जनगणनाले प्रष्ट देखाएको छ ।

वि.संं २०७८ को जनगणनाको प्रारम्भिक नतिजाको मिहिन विश्लेषण गर्दा प्रदेश नं. १ का हिमाली र पहाडी क्षेत्रले बसाई सराइका कारण ठूलो जनसांख्यिक क्षति व्यहोरेको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले गत माघमा सावर्जनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश नं. १ का हिमाली र पहाडी क्षेत्रका ११ वटा जिल्लाको जनसंख्या घट्दै गएको हो ।

हाल स्थानीय तहहरुमा भएको जनसंख्या र अघिल्लो दशक अर्थात् २०६८ सालमा गरिएको जनगणनाको नतिजाका आधारमा विश्लेषण गर्दा हिमाली र पहाडी क्षेत्रका ७५ वटा स्थानीय तहमा मान्छेहरु घटेका छन् । अर्थात यी पालिकाहरुको जनसंख्या वृद्धिदर ऋणात्मक छ । तथ्यांक कार्यालय मोरङका प्रमुख तिर्थ बरालका अनुसार प्रारम्भिक तथ्यांकमा संस्थागत जनसंख्या (होस्टल, ब्यारेक, कार्यालय आवास आदि)को जनसंख्या समेटिएको छैन ।

हिमाल र पहाडमा राज्यले अर्वौ लगानी गरेर विकासका पूर्वाधार पु¥याउने अनवरत प्रयास गरे पनि मानिसहरु नअडिएपछि त्यस क्षेत्रका जनप्रतिनिधिहरु चिन्तित हुन थालेका छन् । यसैगरी मानिसहरु आफ्नो पालिकालाई त्याग्दै नयाँ गन्तव्य खोज्ने हो भने केही दशकपछि जनसंख्या अभावकै कारण हिमाली र पहाडी क्षेत्रका पालिकाहरु एक आपसमा गाभिनु पर्ने स्थिति आउने पो हो कि भन्ने चिन्ता उनीहरुलाई छ ।

“हिमाली र पहाडी क्षेत्रका पालिकामा निरन्तर जनसंख्या ओरालो लाग्नुले हाम्रो विकासको मोडललाई नै चुनौती थपेको छ,” लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुन मावोहाङ भन्छन्–“हामी नगरबासीको सुख र समृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी गरिरहने तर नगरबासीहरु हामीलाई छाड्दै तराईतिर बसाईं सरिरहने । आखिर विकास र मानिसका आकांक्षामा किन मेल भइरहेको छैन । यो चिन्ताको विषय हो ।”

तथ्यांक कार्यालय मोरङका अनुसार प्रदेश नं १ का ताप्लेजुङका ८ स्थानीय तहमध्ये फूङलिङ नगरपालिकाबाहेक ७ वटा तहको जनसंख्या वृद्धिदर घट्दो अवस्थामा छ । पाँचथरको फिदिम नगरपालिका सहित सबै ८ वटै तहको जनसंख्या घट्दो अवस्थामा नै छ । इलामको चुलाचुली र इलाम नगपालिकाबाहेक तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको जनसंख्या निरन्तर घट्दो अवस्थामा छ ।

तेह्रथुमका सबै ६ वटै पालिकामा जनसंख्या घटेको छ । कुनैबेलाको क्षेत्रीय सदरमुकाम भएको जिल्ला धनकुटाका सबै सातवटै तहको जनसंख्या ओरालो लागेको छ । यसैगरी संखुवासभाको खाँदबारी नगरपालिकाकाबाहेक ९ वटा पालिकाको जनसंख्या घटेको छ । भोजपुरका ९ वटै पालिकाको जनसंख्या २०६८ को तुलनामा २०७८ मा घट्यो । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाबाहेक ७ वटा पालिकाको जनसख्या घट्यो ।

ओखलढुंगाका ८ वटै स्थानीय तहको जनसंख्या घट्यो । खोटाङका सबै १० वटै पालिकाको जनसंख्या घटेको छ । भित्री मधेसको जिल्ला उदयपुरको पनि ४ वटा गाउँपालिकाको जनसंख्या घटेको छ । यसरी प्रदेश नं १ का १४ मध्ये ११ वटा जिल्लाका ७५ वटा स्थानीय तहको जनसंख्या वृद्धिदर घटेको छ ।
विगतमा खानेपानी, विजुली, इन्टरेट, बाटो केही नहुँदा समेत पहाडी क्षेत्रमै बस्ने रुचाउने मानिसको पछिल्लो समय ठूला शहर बजारतिर बसाई सर्ने क्रम बढ्दो रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कलाई विश्लेषण गर्दा पनि प्रष्ट देखिन्छ ।

उदाहरणका लागि लालीगुराँस नगरपालिकामा २०६८ को तुलनामा २०७८ मा एक हजार ५१६ जना मान्छे घटेका छन् । यो अघिल्लो दशकको तुलनामा करिब १ (०.९) प्रतिशते कम हो । जनगणनाको प्रारम्भिक नतिजा अनुसार यो नगरपालिकाको जनसंख्या १५ हजार ४१८ रहेको छ ।

“अहिलेको भन्दा सरल र सुखी जीवन सबैको चाहना हो, त्यसैले सक्षम र केही पैसा हुनेहरु बसाईं सरेका कारण हाम्रो जनसंख्या घटेको हो,” उहाँले भन्नुभयो, “जापान, कोरियादेखि साउदीका देशमा श्रम गर्न जानेहरुमध्ये धेरैले आफ्ना परिवार काठमाडौं, विराटनगर र धरानजस्ता ठूला सुविधाभोगी सहरमा सारिसकें ।”

माबोहाङका अनुसार जनसंख्या वृद्धिको प्राकृतिक नियम अनुसार जन्मिने दरमै उल्लेख्य कमी भएको होइन र अस्वाभाविक मृत्यु दर बढेर पनि जनसंख्या घटेको होइन । यो सबै बसाईंसराईका कारण उत्पन्न भएको परिस्थिति हो ।

तेह्रथुम जिल्लामा चार वटा गाउँपालिका र दुई नगरपालिका रहेका छन् । सबै पालिकाको जनसंख्या घट्दो छ । आठराई गाउँपालिकामा विगतमा २१ हजार ७४७ रहेकोमा हाल १८ हजार २१०, छथरमा वि.सं. २०६८ मा १६ हजार ७१५ रहेकोमा हाल १४ हजार २४४, मेन्छ्याम गाउँपालिमा विगतमा ८ हजार ०७८ रहेकोमा हाल छ हजार ६९८, म्याङलुङमा विगतमा १९ हजार ६५९ मा हाल १९ हजार ७८ जना र फेदाप गाउँपालिकामा वि.सं. २०८६ मा १७ हजार ७०० रहेकोमा हाल १५ हजार २३६ रहेको जनगणनाको प्रारम्भिक प्रतिवदेनमा उल्लेख छ ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बसाई सर्ने क्रमलाई संघीय, प्रदेश सरकारले गम्भीर रुपमा नलिने हो भने १० बर्ष पछि वस्तीहरु जंगलमा परिणत हुने बताए । उनले पहाडी जिल्लाहरुमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएर भरपर्दो सेवा दिन आवश्यक रहेको बताए ।

“हरेक गाउँका वस्तीमा बाटो पुगेको छ”, उनले भने, “तर भरपर्दो रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था नहुँदा त्यही बाटो प्रयोग गरेर गाउँलेलाई रातारात नै बसाई हिंड्न सजिलो भएको छ ।” उनका अनुसार पहाडी जिल्लाबाट बसाई सर्नेेहरुले झापा, सुनसरी र मोरङलाई बढीजसो रोजेका छन् ।

खोटाङ जिल्लाको अति दुर्गम मानिने खोटेहाङ्ग गाउँपालिकाका कतिपय वडा बसाईसराइका कारण खाली हुने अवस्थामा पुगेको पालिका अध्यक्ष उदिनबहादुर राई बताउँछन् । यो पालिकाका बासिन्दा बसाई सर्नुको कारण वन्यजन्तु र यातायातको असुविधा रहेको उनको भनाई छ । सो पालिकाको जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १९ हजार २९५ रहेको छ भने २०६८ सालमा २१ हजार ४४ रहेको थियो । एक दशकमा यो पालिकामा एक हजार ७ सय ४९ जना मानिस घटेका छन् ।

पहाडी क्षेत्रमा जनसंख्या घट्नुको कारण बैदेशिक रोजगारी प्रमुख भएको अध्यक्ष राई बताउँछन् । “गाउँमा रोजगारी नपाएर परदेश जाने धेरै छन्”, राईले भने, “उनीहरुले दुई चार पैसा कमाउँछन्, सुविधा भएको ठाउँमा जग्गा किनेर परिवार सार्छन् । गाउँ त यसरी नै रित्तिने भयो ।”

तथ्याङ्क कार्यालय मोरङका प्रमुख बरालले समग्र राष्ट्रिय स्तरको जनसंख्या बढेको तथ्याङ्क रहे तापनि प्रदेश नम्बर १ को भने पहाडी जिल्लामा घटेको र तराई क्षेत्रमा बढेको बताए । उनका अनुसार, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, भोजपुर, धनकुटा, सोलुखम्बु, ओखलढुङ्गा, तेह्रथुम, संखुवासभा र उदयपुरको जनसंख्या घटेको छ ।

यसैगरी, तराई क्षेत्रमा पर्ने झापा, मोरङ सुनसरीमा वि.सं. २०७८ को जनसंख्यामा बृद्धि भएको तथ्याङकमा उल्लेख छ । जसमा झापा जिल्लाको जनसंख्या १ प्रतिशतदेखि ३ दशमलव ४५ प्रतिशत, मोरङको ३ दशमलव ९३ प्रतिशत र सुनसरीको २ दशमलव ३७ प्रतिशतले बढेको देखिन्छ ।

उनले बसाई सराई न्यूनीकरणका लागि स्थानीय स्तरमै अधिकतम् रोजगारी उपलब्ध गराउने खालको औद्योगिक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्यको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

मानिसको स्वभाव नै घुमन्ते र सुविधाको खोजीमा भौतारिने भएकोले बसाई नसर भनेर कसैले कसैलाई रोक्न नसक्ने जनता बहुमखी क्याम्पस इटहरीको जनसंख्या विषयका उपप्राध्यापक बिमल नेपाल बताउँछन् । हिमाल र पहाडमा जनसंख्याको सन्तुलित वितरणका लागि ब्यवस्थित बसाईंसराई र भौतिक सुविधा हिमाल र पहाड केन्द्रीत गर्नुपर्ने नेपालको धारणा छ ।

“हिमाली र पहाडी क्षेत्रमा त्यहीका बासिन्दालाई रोक्ने नीति होइन, तराईका मानिस हिमाली र पहाडी क्षेत्रमा बसाई सर्ने स्थिति बनाउनु पर्दछ,” नेपाल भन्छन्–“यसका लागि पालिकाहरुले एकीकृत वस्ती विकास, रोजगारीका नयाँ क्षेत्रको पहिचान, पालिकामा बसाई सरेर आउनेलाई विशेष सहुलियत, कृषि र पशुपालनमा आकर्षक कार्यक्रमहरु ल्याउनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: