बस यात्रा : ७० दिनमा दिल्लीदेखि लन्डन, भाडा भारु १५ लाख

  प्रकाशित मिति
६ फाल्गुन २०७८, शुक्रबार ०९:४४


झापा, ६ फागुन । भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले दिल्लीदेखि लन्डनसम्म ७० दिनको लामो बस यात्रा सञ्चालन गर्दैछ ।

कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लन्डनसम्म चल्ने बस सञ्चालन गर्ने भएको हो ।

विभिन्न रिपोर्टहरू अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ । यो बस म्यानमार, थाइल्यान्ड, लाओस, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्दा १८ देशको सडकमा गुड्नेछ ।

दिल्लीदेखि लन्डनसम्म चल्ने बसको अवधारणा एड्भेन्चर ओवरल्यान्डका सह–सञ्चालक सञ्जय मदन र तुसार अग्रवालले ल्याएका हुन् ।

उनीहरूले सन् १९५० देखि १९७० को दशकमा युरोप र एसियाको रूटमा चल्ने ’म्याजिक बस’बाट प्रभावित भएर दिल्लीदेखि लन्डनसम्म बस यात्रा सञ्चालन गर्न लागेको लोन्ली प्लानेट रिपोर्टले जनाएको छ ।

सन् १९५० देखि १९७० दशकमा कलकत्तादेखि लन्डनमा बस चल्थ्यो। यो यात्रा ४५ दिनको थियो । तर बस दुर्घटनामा परेपछि उक्त सेवा बन्द गरियो ।

एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरू हुने बताइएको छ । दिल्लीबाट लन्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ । उनीहरूलाई यात्राक्रम विभिन्न देशका प्रख्यात ठाउँहरूमा घुमाइनेछ ।

यात्राका लागि तयार पारिएको यो बसमा वाई–फाई, बिजनेस क्लास सिटहरू, युएसबी पोर्ट, विद्युतीय प्लगहरूलगायत विशेषताहरू समावेश गरिएको छ ।

यसमा यात्रुको गोपनीयताका लागि सिटहरू बीच विभाजनहरू समेत गरिएको छ। त्यस्तै, बसमा पेय पदार्थ र खाजाका लागि कुलरसहितको मिनी प्यान्ट्री पनि पाउन सकिन्छ ।

यात्रालाई आवश्यक सामग्री राखेर प्रत्येक यात्रुले दुई वटासम्म ठूलो सुटकेस लग्न सक्नेछन् । सामग्री सुरक्षाको लागि बसमा निजी लकर पनि दिइनेछ ।

प्रत्येक व्यक्तिले यो बस यात्राको लागि भारु १५ लाख अर्थात नेपाली करिब २४ लाख रूपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसैमा गाडीको टिकट, भिसा, बस्ने–खानेको सुविधा लगायत सेवाहरू समावेश गरिएको छ ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: