काँकरभिट्टा । बहु प्रतिक्षित नेपाल–भारत भेट्रान फुटबल प्रतियोगिता शनिवार सुरु हुँदैछ ।
नेपाल र भारतका १५ टिमको सहभागिता रहने सो प्रतियोगिता जित्नेले हालसम्मका भेट्रान प्रतियोगिताहरुको तुलनामा सर्वाधिक नगद पुरस्कार पाउने छ ।
बिजेता टिमले १ लाख २५ हजार र उपबिजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लवका अध्यक्ष गङ्गालाल गुरुङले जनाएका छन् ।
अनुभवी र प्रख्यात पूर्व राष्ट्रिय खेलाडीहरुको समेत सहभागिताले प्रतियोगिता निकै रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजक क्लवका महासचिव सुन्दर बस्नेत बताउँछन् ।
आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
दर्शकलाई निःशुल्क प्रवेश दिइने जनाउँदै महासचिव बस्नेतले प्रतियोगिताका ओल्ड भेट्रान (ज्येष्ठ) स्वदेशी र विदेशी खेलाडीलाई सम्मानस्वरुप पुरस्कार प्रदान गरिने बताएका छन् ।
प्रतियोगिताका लागि काँकरभिट्टा माविको खेलमैदान श्रृङ्गारिएको छ भने दर्शक बस्ने प्याराफिट निर्माण गरिएको छ ।
प्रतियोगिताको उद्घाटन मेचीनगरका प्रमुख विमल आचार्यले गर्ने भएका छन् ।
कूल ८ लाख ८४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कार क्रमशः दुर्गाचन्द्र मेमोरियल ट्रस्टका संस्थापक शरदचन्द्र प्रकाश राई र अठोट नेपालका अध्यक्ष पुष्पा गुरुङले स्पोन्सर गरेको बताइएको छ ।