बहुप्रतिभाका धनी मात्रिका सङ्ग्रौला

  प्रकाशित मिति
२० चैत्र २०७४, मंगलवार १२:१९


मातृकाप्रसाद सङ्ग्रौलाका बारेमा केही लेख्नुभन्दा अगाडि अलिकति सोच्न बाध्य हुनैपर्छ । किनकी उनी एक विषयभन्दा बहुविषय अन्तरगत चिनिएका प्रतिभा हुन् । त्यसकारण यो एउटा साना लेखमा उनको बहुमुखी प्रतिभाको चित्रण हुन सक्दैन । यहाँ उनीद्वारा रचना गरिएको निबन्ध सङ्ग्रह ‘मेहनतका मुठी साँचेर ढिकुटी’ को सामान्य परिचय दिने प्रयत्न गरिएको छ ।

निबन्धकारको सामान्य परिचय
मातृकाप्रसाद सङ्ग्रौलाको जन्म वि.सं २०२५ साल जेठ १५ गते ओराङफुङको सुभाङ पाँचथरमा भएको हो । माता दमयन्तादेवी र पिता धनपति सङ्ग्रौलाका सुपुत्रका रुपमा जन्मिएका मातृकाप्रसाद सङ्ग्रौला बहुमुखी प्रतिभाका धनी हुन् । उनी हार्मोनियम, दुकी, तबला, सारङ्गी, सनाई, मुर्चुङ्गा, बिनायो जस्ता नेपाली लोकबाजाहरु अत्यन्त सिपालु ढङ्गबाट बजाउँछन् । अझ उनको विशेष विशेषता चाँहि के हो भने नाकबाट मुरली बजाउँछन् । नेपाल विद्युत प्राधिकरण बिर्तामोडमा कार्यरत कर्मचारी सङ्ग्रौलाको स्थायी बसोबास मेचीनगर–१३, सहरेडाँगी झापा हो । मातृकाप्रसाद सङ्ग्रौलाका ६ वटा पुस्तक प्रकाशित भएका देखिन्छन् भने ५ वटा अडियो, एउटा भिडियो क्यासेट सार्वजनिक भएको पाइन्छन् । उनका प्रकाशित पुस्तकहरुमा भजन, गीत, कविता, निबन्धहरुका सङ्ग्रह रहेका छन् । उनी सरल, मृदृभाषी, सहयोगी र समाजसेवी व्यक्तिका रुपमा परिचित छन् ।

 

‘मेहनतको मुठी साँचेरढिकुटी’ को परिचय
सङ्ग्रौलाद्वारा रचना गरिएको निबन्ध सङ्ग्रह ‘मेहनतका मुठी साँचेर ढिकुटी’ निजात्मक अनुभव र अनुभूति सँगालिएको जीवनवादी र मानवतावादी विचार बोकेको निबन्ध सङ्ग्रह हो । यस निबन्ध सङ्ग्रहभित्र २१ वटा निबन्ध रहेका छन् । सुरुमा लोकलयमा रचना गरिएको स्व. पिता धनपति सङ्ग्रौला र माता दमयन्ता सङ्ग्रौलाप्रति समर्पण गरिएको गीत रहेको छ । त्यसपछि हरिप्रसाद रिमालद्वारा सम्पादकीय शीर्षकको लेख रहेको छ । त्यसपछि अर्जुनकुमार सङ्ग्रौलाद्वारा शुभकामना प्रकट गरिएको आलेख रहेको छ । यसैगरी अर्को लेखमा मेची क्याम्पसका प्राध्यापक होम सुवेदीको कृतिप्रति धारणा राखिएको लेख छ भने अर्को लेख निबन्धकारको धर्मपत्नी सीता सङ्ग्रौलाको प्रकाशकीय रहेको छ । यसपछि भने विषय सूची रहेको पाना छ, जसमा २१ वटा निबन्धहरुको शीर्षक रहेका छन् । २०७४ मा प्रकाशित प्रस्तुत पुस्तक १००० प्रति छापिएको छ भने यस पुस्तकमा १३६+८ =१४४ पेज रहेको छ । सौजन्य डेस्कटप, विर्तामोडका मैया बराल र योगेन्द्र खतिवडाद्वारा कम्प्युटरले आउट गरिएको र गजुरमुखी प्रिन्टर्स विराटनगरमा मुद्रण गरिएको यस पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ । अगाडिको आवरणमा लेखकको तस्वीर, हिमाल, पहाड र समुन्द्रको तस्वीर रहेको छ भने अगाडिको आवरणको भित्री पेजमा लेखकका परिवारको तस्वीर र पत्रकार विमर्श उप्रेतीद्वारा निबन्धकारका बारेमा जनसंसद दैनिकमा प्रकाशित लेखेको अंश रहेको छ । पछाडिको आवरणमा निबन्धकारको सामान्य परिचय र साहित्यकार तेराखद्वारा निबन्धकारका बारेमा लेखिएको छोटो आलेख छ ।

सङ्ग्रौलाका निबन्धात्मक प्रवृत्तिहरु
लेखक, कवि, साहित्यकारका आ–आफ्ना प्रवृृत्तिहरु रहेका हुन्छन् । प्रवृत्तिगत विशेषताहरु सामयिक, सामुहिक र व्यक्तिगत रहेका हुन्छन् । यहाँ गीतकार, गायक, वाद्यबादक मातृकाप्रसाद सङ्ग्रौलाका विशेषताहरु नदेखाइ उनका निबन्धात्मक प्रवृत्तिहरुलाई केलाउने प्रयत्न गरिएको छ । उनका निबन्धात्मक प्रवृत्तिलाई बुँदागत रुपमा निम्न अनुसार प्रस्तुत गरिन्छ ः
१. धर्मप्रति विश्वासको भावना ।
२. परम्परा र संस्कृतिप्रतिको प्रेम ।
३. जीवन र जगतप्रति सचेत भावको प्रस्तुति ।
४. मानवतावादी भावनाको प्रस्तुति
५. आदर्श र उपेदशात्मक भावको सम्प्रेषण ।
६. सकारात्मक सोचको अभिव्यक्ति ।
७. प्रकृति, पशुपंक्षी र वनस्पति
संरक्षणको सन्देश ।
८. व्यङ्गात्मक अभिव्यक्ति ।
९. यात्रा अनुभवको प्रस्तुति ।
१०. नेपाली उखान, टुक्काको प्रयोगसितै सरल भाषाशैलीको प्रयोग ।
माथिका व्यक्तिगत निबन्धात्मक प्रवृत्तिका कारण मातृकाप्रसाद सङ्ग्रौलाका निबन्धहरु पढ्नमा रसिला, चेतनामूलक र आदर्शवादी पाइन्छन् । उनका निबन्धहरुमा मानवतावादी भावना भन्दा प्रकृति र विश्वप्रेमको निकटता पाइन्छ । पशुपंक्षीलाई पनि माया, करुणा र प्रेमको भाव देखाएमा तिनीहरु पनि डरपोक र हिंस्रक बन्नुको सट्टा आत्मीय, दयालु र भावनात्मक देखिन्छन् भन्ने दृष्टान्त उनका निबन्धहरुले दिएका छन् ।

उनका निबन्धहरुमा विषेश गरेर आादर्शवादी भावनाहरु नै पोखिएका पाइन्छन् । नेपालमा वर्तमान समयमा छोराछोरीहरु डलर कमाउने लोभमा विदेशिएका आमाबाबु अशक्त भएर घरघरमा रुदै बस्नु परेको बध्यात्मक परिस्थितिको सजीव चित्रण उनका निबन्धमा रहेको छ । ज्येष्ठ नागरिकहरु समाजमा अपहेलित हुनु परेको यथार्थलाई प्रस्तुत गर्दै ज्येष्ठ नागरिकहरु व्यवहार र अनुभवले खारिएका हुन्छन् । उनीहरुका ज्ञान र उपदेशलाई शिरमा राखेर युवाहरुले समाज रुपान्तरणको काममा अघि बढ्नुपर्छ भन्ने सन्देश पनि उनका निबन्धहरुले दिएका छन् । उनका सबै निबन्धहरुको व्याख्या र विश्लेषण गर्न यस छोटो लेखमा सम्भव छैन, उनका निबन्धहरु गम्भीर रुपमा अध्ययन गर्दा नै सबै ज्ञान, सीप र कलाको स्वाद लिन सकिन्छ ।

फरक प्रस्तुति, पुस्तकको पनि चिना
निबन्धकार मातृकाप्रसाद सङ्ग्रौलाले यस पुस्तकको चिना प्रस्तुत गर्नुभएको छ । बाहिरी आवरणसहित सोह्र पेज रहेको यस पुस्ततको चिना ज्योतिष पं. ज्ञानेन्द्र खरेल धाइजनद्वारा तयार पारिएको छ । निर्जीव वस्तुको चिना भनेर सुरु गरिएको यस पुस्तिकामा शार्दृलविक्रिडीतको लयमा ६ श्लोक रहेका पाइन्छ । यसपछिका बाइस श्लोक कविता छन्दमा नभइ लय मिलाउने प्रयत्नमा रचना गरेको पाइन्छन् । बीचका तीनवटा पेजमा चिना, ग्रहस्पष्ट, लग्न, कुण्डली, नवाङ्सक कुण्डली, भाव कुण्डली लगायत विशोंत्तरी दशाग्रह चव्रm, त्रिमागी दशाग्रह चक्र र योगिनी दशाग्रह चक्र पनि रहेका छन् । ग्रहले दिने शुभ फल अशुभ फलको पनि लयात्मक शैलीमा वर्णन गरिएको छ । सारांशमा यो पुस्तक तार्किक, चतुरो, न्यायिक, निर्भिक भएर संसार डुल्न सक्षम छ र मानिसका मनमनमा बस्न सफल हुन्छ भनेर ज्योतिषीले बताएका छन् । मान्यजनमा श्रद्धाभाव राख्ने, सोचेर सत्य बोल्नु पर्ने, दुःखीको सेवा गर्ने भाव पुस्तकले प्रदान गर्दै संसार डुल्ने छ भनी ज्योतिषीले भनेका छन् । आफू ज्योतिष विद्यासँग त्यति निकट नरहेको हुँदा यसभन्दा उता भनिएन । तर, नेपाली साहित्यमा यो एउटा यस्तो कृति हो जसको चिना, टिपन, ग्रह कुण्डली पनि उतारिएको छ ।

निष्कर्ष
मातृकाप्रसाद सङ्ग्रौलाद्वारा रचना गरिएका ‘मेहनत मुठी साचेर ढिकुटी’ निबन्ध सङ्ग्रहको शीर्षक अनुसारको भाव रहेको पाइन्छ । मानिसले कार्य गर्दै जाँदा दिनैपिच्छे आफ्ना अनुभवहरु सँगाल्दै जान्छ र जीवनका उत्तराद्र्धसम्म पुग्दा ऊ ढिकुटीमा साचेर राखेको अन्न जत्तिकै महत्वपूर्ण हुन्छ भन्ने भाव यसबाट बुझ्न सकिन्छ । सङ्ग्रौलाको प्रस्तुत निबन्ध सङ्ग्रहमा विद्वता भन्दा अनुभवको र सिद्धान्तको भन्दा व्यवहारिकताको पक्ष बढी झल्किएको पाइन्छ । अन्त्यमा, निबन्धकारबाट नेपाली व्याकरणका पक्षमा अलिक बढी ध्यान दिने भाषा, शैलीमा थोरै मात्र ध्यान दिँदै आगामी कृतिहरु पनि प्रकाशित हुँदै जाउन् । सुस्वास्थ्य, दिर्घजीवन र प्रगतिको उत्तरोत्तर कामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: