‘बहुमत ल्याएर हाम्रा एजेन्डा लागू गर्छौं’

  प्रकाशित मिति
२४ मंसिर २०७२, बिहीबार ०८:२७


picराजेन्द्र लिङ्देन विचारमा प्रस्ट र वाक कलामा निपुण झापाली नेता हुन् । पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राजतन्त्रको उत्तिकै वकालत गर्दै आएका उनी हालै राप्रपा नेपालको महामन्त्री  पदमा मनोनित भएका छन् । आगामी चुनावमा राप्रपा नेपाललाई मुलुककै पहिलो पार्टी बनाउने उद्घोष गरेका उनले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने सवालमा अरु पार्टी पछाडि परेको दावी गर्छन् । उनी महामन्त्री बनेपछि लोकतन्त्र पोस्टका लागि मोहन काजी र राजु पाठकले लिएको अन्तर्वार्ता प्रस्तुत छ–

पार्टीको महामन्त्री बन्न पाउँदा कस्तो अनभूति भइरहेको छ ?
पाँचथरको दुर्गम गाउँमा कोदो, मकै र भटमास खान धौैँ धौँ परेपछि मधेस झरेको एउटा ठिटो राजेन्द्र लिङ्देन राजनीतिको थुप्रै कठिन उकाली पार गरेर आज राप्रपा नेपालको महामन्त्री बन्न पुगेको छ । राजनीतिमा निष्ठापूर्वक लागेपछि यस्तो अवसर पनि प्राप्त हुन्छ भन्ने उदाहरण हो यो । मैले व्यक्तिगत रुपमा कुनै पद पाएँ भन्ने कुरा ठूलो होइन, राजेन्द्र लिङ्देनलाई यो ठाउँमा पु¥याउन योगदान दिनेहरू आज अवश्य खुशी भएका छन् ।

महामन्त्री बन्ने लाइनमा अरु सिनियर नेताहरू पनि थिए होलान् । तपाईकै नियुक्तिको बेग्लै अर्थ खोज्न मिल्छ कि ?
नेपाली राजनीतिमा नयाँ पुस्ता नेतृत्वमा आउन पाउनु पर्छ भन्ने जबर्जस्त वहस चलेको सबैलाई थाहै छ । त्यो वहस काङ्ग्रेस र एमालेमा पनि छ । तर त्यहाँ बुढा र पुरानाहरूले नै पद ओगटिरहेका छन् । राप्रपा नेपालको महामन्त्री पदमा मेरो मनोनयनले अब नेतृत्वमा नयाँ पुस्ता आउनु पर्छ भन्ने मान्यतालाई बल पु¥याएको छ । ६०÷७० बर्ष पुगिसकेकालाई युवा नेता मान्नु पर्ने बाध्यता व्यहोरिरहेको नेपाली राजनीतिको हेडक्वार्टरमा यसले खैलावैला मच्चाएको छ । राप्रपा नेपालमा युवाहरू नेतृत्वमा पुगिसकेँ, हामीले पनि अवसर पाउनु पर्छ भनेर अरु पार्टीमा अब विद्रोहको स्वर घन्किने पक्का छ ।

सङ्गठन निर्माणमा लामो समयदेखि लागेको तपाई महामन्त्री जस्तो प्रभावशाली पदमा पुगिसकेपछि आफ्नो पार्टीलाई कस्तो बनाउने सपना सजाउनु भएको छ ?
मेरो सम्पूर्ण खुवी राप्रपा नेपाललाई नेपालको पहिलो पार्टी बनाउने अभियानमा लगाउने छु । हाम्रो पार्टीले उठाएका थुप्रै एजेन्डा जनताले मन पराए पनि राज्यसत्ताको तहबाट स्थापित गर्न बाँकी नै छ । मुलुकलाई समृद्धिको दिशामा लैजाने र पार्टीलाई बहुमत दिलाएर आफ्ना एजेन्डा लागू गराउने मेरो सपना हो ।

राप्रपा नेपाललाई राजतन्त्र र हिन्दु धर्र्मको मुद्दा छाडिसक्यो भन्ने आरोप लाग्न थालेको छ । सत्य के हो ?
यी बतासे आरोप हुन्, जवाफ दिनु पर्छ भन्ने लाग्दैन । संविधानमा हाम्रा एजेन्डा स्थापित नभए पनि नेपाली जनताका मनमा स्थापित भएको छ । पार्टीले दुबै एजेन्डा छाडेको छैन, छाड्दैन । अहिलेको सरकारले चाहेर पनि राजतन्त्र र धर्मका विषयमा निर्णय बदल्न सक्दैन । कसैलाई राप्रपा नेपालले हिन्दु राष्ट्र बनाउन सकेन भन्ने लाग्छ भने म उहाँहरूलाई विनम्रतापूर्वक अपिल गर्दछु कि आगामी चुनावमा राप्रपा नेपाललाई भोट हाल्नु होस् । बहुमत ल्याएका दिन हाम्रा एजेन्डा लागू गराएरै छाड्छौँ ।

राप्रपा नेपाललाई पनि जनताले हेरिसके । यति चाँडै बहुमत ल्याउने सम्भावना छ र ?
जनताले चाहेपछि असम्भव केही हुँदैन । २०५२ फागुन १ गते दुई चार वटा भरुवा बन्दुक पड्काउँदै हिँडेका माओबादीलाई पनि यस्तै प्रश्न गरिन्थ्यो । माओबादी यति ठूलो पार्टी बन्ला भन्ने कसैले सोचेको थिएन । आगामी चुनावमा राप्रपा नेपाल देशको सबैभन्दा ठूलो पार्टी बन्यो भने अब अचम्म मान्नु पर्ने कारण छैन ।

आफुलाई गणतन्त्रको प्रतिपक्षी ठान्ने राप्रपा नेपाल सरकारमा मन्त्री पद पाउने लोभैले गएको हो त ?
हामीले गणतन्त्रको विपक्षमा संविधानसभामा मतदान नै गरेका हौँ । बहुमतले विधिपूर्वक गणतान्त्रिक संविधान बनाए पछि लोकतन्त्रमा विश्वास राख्ने हाम्रो पार्टीले मान्दिन भनेन । हामी जनमतको कदर हुनुपर्छ भन्ने मान्यता राख्छौँ । भोलिका दिनमा जनमतबाटै संबैधानिक राजतन्त्र र हिन्दु राज्य स्थापना हुँदा उहाँहरूले पनि स्वकिार्नु पर्ने दिन आउने छ । जहाँसम्म मन्त्री पदको कुरा गर्नु भयो, हामी लोभले होइन, जिम्मेवारी बोधका साथ मुलुकको हितका लागि सरकारमा गएका हौँ । आज मुलुकलाई राप्रपा नेपालको जरुरत प¥यो, अनि हाम्रो पार्टीका नेताहरू सरकारमा सामेल हुनु भयो ।

राप्रपा नेपाल नहुँदा सरकार चल्दैनथ्यो भन्ने भनाई हो तपाइँको ?
यसलाई अर्कै ढङ्गले नबुझौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा परराष्ट्र मन्त्री नै बन्न चाहनु भएको थिएन । उहाँ स्थानीय विकास मन्त्रीमै चित्त बुझाउने पक्षमा हुनु हुन्थ्यो । तर प्रधानमन्त्री केपी ओलीले ‘तपाई जस्तो प्रभावशाली नेता परराष्ट्र मन्त्री बन्न जरुरी छ’ भन्नु भयो । आज देखिरहनु भएको छ नि, जेनेभामा भारतीय नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय समुदाय गुहार्ने काम कमल थापाले नै गरेको होइन ? फेरि भारतीय संस्थापनसँग दिल्लीमा दह्रो अडानका साथ कुरा गरेर नाकाबन्दी खुलाउन भारतलाई सहमत गराउने वार्ता गर्ने व्यक्ति पनि कमल थापा नै होइन ? राप्रपा नेपालमा देशको कुशलतापूर्वक नेतृत्व गर्ने नेताहरू छन् भन्ने अहिले सावित भइरहेको छ ।

नाकाबन्दी कहिलेसम्म खुल्छ जस्तो लाग्छ ?
ढुक्क भए हुन्छ, एक हप्ताभित्रमा नाकाबन्दी हट्यो भन्ने अनुभूति गर्न हामीले पाउने छौँ ।

नाकाबन्दी खुलाउन तपाईको पार्टीका अध्यक्ष कमल थापाले समेत दिल्लीसँग भित्री रुपमा राष्ट्रघाती सम्झौता गरेको हल्ला छ नि ?
हाम्रो पार्टीका अध्यक्षले मुलुकको शिर निहुरिने कुनै पनि सम्झौता गर्नु हुन्न भन्ने विषयमा म विश्वस्त रहन आग्रह गर्छु । बरु नेपाली जनताको शिर उठाउने काम उहाँबाट भएको छ । नाकाबन्दीबाट मुलुक र जनताले पाएको असीम पीडाबाट मुक्ति दिलाउन परराष्ट्र मन्त्रीको हैसियतले हाम्रो अध्यक्षले सकारात्मक नतिजा आउने गरी पहलकदमी लिनु भएको हो । यसमा अनेक आरोप लगाउने काम नगरौँ ।

तपाई मन्त्री बन्दै हुनुहुन्छ अरे भन्ने चर्चा चलेको छ नि ?
मैले धेरै जनालाई धेरैपटक भनिसकेको छु–मन्त्री बन्ने मेरो अभिष्ट हुँदै होइन । अहिले मेरो परिकल्पना पनि छैन । पदकै लागि मरिहत्ते गर्न जरुरी पनि छैन । सबैलाई थाहै हुनु पर्ने हो कि म अहिले आफु बन्ने होइन, मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने तहमा छु ।

राप्रपा नेपालकै भागमा परेको छ स्थानीय विकास मन्त्रालय । जिविस, नगरपालिका लगायत स्थानीय निकायमा कर्मचारी आफुखुशी पजनी गर्ने होला नि ?
इमान्दार भएर देशको सेवामा खटिएका एलडीओ हुन् वा कार्यकारी अधिकृत, उहाँहरूप्रति हाम्रो तर्फबाट कुनै पूर्वाग्रही व्यवहार हुने छैन । तर सरकारी पद धारण गरेर कुनै अमुक एउटा पार्टीको मात्र कार्यकर्ता जस्तो भएर काम गर्नेहरूलाई त मन्त्रालयको जगेडा सिटमा बस्ने अवसर मिलाइदिनु पर्छ । मैले हिजो जिविस सभापति हुँदा एक जना कर्मचारी पनि चलाइन । जस्तालाई तस्तै व्यवहार हुन्छ ।

आफ्नो विगतलाई कसरी सम्झन चाहनु हुन्छ ?
म एउटा गाउँको साधारण युवा हो । जोसँग देश र समाजका लागि केही गरौँ भन्ने भावना छ । राजनीतिलाई मैले कहिल्यै पेशा बनाइन । राजनीतिमा लागेर मैले ठूलो आर्थिक क्षति व्यहोरेको छु । अनेक दुःख, पीडा र दुव्र्यवहार व्यहोरेको छु । साथीभाइको साथ, माया र सद्भाव उत्तिकै पाएको पनि छु । तर म कहिल्यै खुशीमा उन्मादित भइन र दुःखमा विचलित भइन । म जुन विचार हिजो बोक्थे, आज पनि दृढ छु । छेपाराले रङ फेरेजस्तो विचार फेरिरहने मेरो बानी छैन । मैले विगतप्रति पछुताउनु पर्ने कुनै काम गरेको छैन, बरु मलाई आजको अवस्थासम्म ल्याइपु¥याउन हिजोको महत्वपूर्ण योगदान छ ।

केही भन्न छुट्यो कि ?
राजेन्द्र लिङ्देन एक्लै आजको अवस्थामा पुगेको होइन । झापाबासी मात्र होइन, धेरै ठाउँका धेरै साथीभाइले मेरो सफलताका लागि रगत र पसिना बगाउनु भएको छ । म उहाँहरू सबैलाई सम्झन चाहन्छु । विशेषगरी मेरो कर्मथलो झापाका जनसमुदायप्रति म कृतज्ञता प्रकट गर्दछु । मेरो राजनीतिक आस्थाभन्दा अलग रहेर पनि शुभेच्छा प्रकट गर्ने र मेरो नियुक्तिमा खुशी हुने सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । जसले हिजोका दिनमा मप्रति दुश्मनको व्यवहार गर्नुभयो, मलाई भौतिक रुपमै समाप्त गर्न चाहनेहरूलाई पनि आजको अवसरमा धन्यवाद दिन चाहन्छु । उहाँहरूकै कारणले आज म यो ठाउँसम्म आइपुग्न पाएको छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: