बाँसबारीका तीन पदाधिकारी निलम्बित

  प्रकाशित मिति
८ चैत्र २०७४, बिहीबार ०९:४१


मेचीनगर । धाइजनस्थित बाँसबारी सामुदायिक बनको उपभोक्ता भेलाले लेखा राख्दा प्राविधिक त्रुटी गरेको आरोपमा निवर्तमान कार्य समितिका दुई पदाधिकारी र एक जना कर्मचारीलाई संस्थाको सदस्यबाट निलम्बन गरेको छ ।
बुधवार आयोजित उपभोक्ता भेलाले संस्थाको विधान बमोजिम निवर्तमान कार्य समितिका अध्यक्ष दुर्गा शिवाकोटी, सचिव उमानाथ कडरिया र कार्यालय सचिव चेतप्रसाद दाहाललाई निलम्बन गरेको हो ।

दाउराका लागि सखुवाको टुन टुक्रा विक्री गर्दा आन्तरिक खर्च मिलान गर्ने नाममा विल बमोजिमको आम्दानी नबाँधी प्राविधिक त्रुटी गरेको छानविन समितिले प्रतिवेदन बुझाएपछि भेलाले उनीहरुलाई कार्वाही स्वरुप निलम्बन र विगो असुली गरेको हो ।

उपभोक्ता भेलाले निलम्बनका परेका पदाधिकारी तथा कर्मचारीबाट छानविन समितिको ठहर बमोजिम ६७ हजार ८ सय ८१ रुपैयाँ विगो र त्यति नै रकम जरिवाना समेत असुल्ने निर्णय गरेको छ ।

विगो र जरिवाना रकम निलम्बित पदाधिकारी तथा कर्मचारीले बुधवार नै नेपाल बैङ्क लिमिटेडको धुलावारीस्थित शाखामा रहेको संस्थाको खातामा जम्मा गरेको बन समितिका वर्तमान अध्यक्ष शम्भु राजबंशीले जानकारी दिए ।
बुधवार भएको भेलामा संस्थापकहरु चेतनाथ दाहाल, विष्णु प्रसाई लगायत हालसम्मका कार्य समिति र लेखा समितिका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्ष सन्तोष मेचे लगायत वडाका जनप्रतिनिधिहरु, प्रतिनिधिमूलक अगुवा उपभोक्ताहरुको वृहत उपस्थिति रहेको थियो ।

निवर्तमान कार्य समितिको पालामा टुन टुक्रा विक्री गर्दा विल नं. ४६८७, ४८१० र ४८२७ मा विल र रकममा भिन्नता देखिएको थियो ।

सोही विषयमा उपभोक्ताहरुले छानविनको माग गरेपछि मेचीनगर(११ का वडाध्यक्ष सन्तोष मेचेको संयोजकत्वमा रुद्र डाँगी, नरेश मोहरा, गङ्गा कडरिया, राजन प्रसाई र राजन राउत रहेको सर्वदलीय छानविन समिति गत फागुन १९ गते गठन गरिएको थियो ।

छानविन समितिले निवर्तमान पदाधिकारी तथा कर्मचारीबाट विल बमोजिमको अपुग ६७ हजार ८ सय ८१ रुपैयाँ र त्यति नै रकम जरिवाना असुली गर्नु पर्ने प्रतिवेदन बmुझाएको थियो ।

छानविन समितिको सुझाव बमोजिम उपभोक्ताको भेला बोलाइएको र छानविन समितिको प्रतिवेदन भेलामा राखेर छलफल चलाइएको वडाध्यक्ष सन्तोष मेचेले बताए ।

मेचीनगरको वडा नं. १० र ११ मा उपभोक्ता रहेको बाँसबारी सामुदायिक बनले पछिल्लो समय पर्यटकीय पूर्वाधार बढाउँदै झापाको नमुना पर्यटकीय स्थलको रुपमा आफुलाई चिनाउन थालिसकेको छ ।

पर्यटकीय विकासमा नमुनाको रुपमा अघि बढिरहेको बाँसबारी सामुदायिक बनको सञ्चालनमा बेथिति बढ्न नदिन वर्तमान समिति र उपभोक्ता निकै सचेत देखिएका छन् ।

‘कतिपय मिडियामा प्रचार गरिए जस्तो भ्रष्टाचार गरेर कसैले गोजी भर्ने काम गरेको देखिदैन, तर पनि विल रकममा फरक देखिएको यथार्थ हो’, छानविन समितिका सदस्य रुद्र डाँगी भन्छन् ‘त्यसैले छानविन गरियो र विगो असुली गराउने एवम् संलग्नहरुलाई निलम्बन गर्ने निर्णय भएको हो ।’

संस्थाको आर्थिक हिसाबकिताबका बारेमा गुनासो आए पछि यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष समेत पुगेको छ ।

तर जुन विलमा अनियमिता भएको भनिएको थियो, त्यो रकम असुली भइसकेकाले अब उपभोक्ताहरुको गुनासोको सही सम्बोधन भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: