ट्रान्जिट बदल्दै मानव तस्कर

  प्रकाशित मिति
८ भाद्र २०७३, बुधबार ०८:३८


dhulabari
धुलाबारी

झापा । ६ वर्षअघि झापाको मेचीनगर–१० काँकरभिट्टास्थित होटल ताप्लेजुङबाट किराँत जनवादी बर्कर्स पार्टीका कार्यकर्ताले दुई जना युवतीको उद्धार गरे । विवाहको बहानामा भारतमा बेच्नका लागि लगिन लागेका नुवाकोट र गोरखाका दुई युवतीलाई झापाको बुधबारे लगेर सञ्चारकर्मीको जिम्मा लगाएपछि प्रहरीले उनीहरुलाई अभिभावकसमक्ष बुझाएको थियो । घटना सार्वजनिक हुँदा काँकरभिट्टाबासी छक्क मात्रै भएनन्, आक्रोशित पनि भए । तर, अभियुक्त फरार भए ।

काँकरभिट्टाबासीको सजगता र खबरदारीपछि अहिले मानव तस्करीको गिरोहले आफ्ना गतिविधि अन्यत्र सारेको पाइएको छ । काँकरभिट्टामा नेपाल प्रहरी, माइती नेपाल, साना हातहरु, आमा समूह नेपाल तथा अन्य सामाजिक सङ्घ–संस्था र सर्वसाधारणले खबरदारी गरेपछि मानव तस्करीका गिरोहले झापाकै धुलाबारी र बिर्तामोडमा अड्डा जमाउन थालेको हो । ‘काँकरभिट्टटाबासी सचेत भएपछि मानव तस्करलाई अप्ठ्यारो पर्यो, त्यसैले बिर्तामोड, धुलाबारीजस्ता स्थानलाई प्रयोग गरेको पाइएको छ’, माइती नेपालको पूर्व क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द घिमिरेले भने – ‘तर, ती स्थानमा पनि सुरक्षाकर्मीको सहयोगमा निगरानी भइरहेको छ ।’

नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा तीन तहको सुरक्षा प्रबन्ध छ । काँकरभिट्टामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, माइती नेपाल, साना हातहरुजस्ता संस्था सक्रिय छन् । शङ्का लागे तत्कालै प्रहरीलाई खबर गरिन्छ । प्रहरीले पनि तदारुकताका साथ चेकजाँच गरेर जोखिममा पर्न लागेको भए अभिभावक बोलाएर जिम्मा लगाइदिने गरेको छ । ‘कति त काँकरभिट्टास्थित गेटबाटै पक्राउ पर्ने गरेका छन्’, घिमिरेले थपे – ‘अहिले पनि आधा दर्जन अभियुक्तमाथि कानूनी कारबाही भइरहेको छ ।’

माइती नेपाल पूर्व क्षेत्रीय कार्यालयका अनुसार सन् २०१६ को महिनाको अवधिमा भारतका विभिन्न शहरबाट ९ जनाको उद्धार गरिएको छ । ‘उद्धार गरिएका चेलीबेटीको भनाईकै आधारमा हामीले खोजी र चेकजाँच गर्छौ’, प्रमुख घिमिरेले भने – ‘विभिन्न जिल्लाबाट ल्याउने, अनि धुलाबारी र बिर्तामोडमा राख्ने र अनुकूलता हेरेर भारत लाने गरेको बयान पीडितहरुले दिएका छन् ।’ उनका अनुसार मानव तस्करहरुले अन्य जिल्लाबाट ललाइफकाई ल्याइएका युवतीलाई शहरका होटलमा महिनौँसम्म राखेर भारत पठाउने गरेका छन् । ‘विवाहको बहानामै धेरै युवती फँस्न पुगेको देखिन्छ’ – उनले भने ।

सन् २०१६ को ६ महिनाको अवधिमा पूर्वी नाकाबाट १ सय ९७ जना युवतीलाई सोधपुछ गरी फर्काइउको छ । माइती नेपालका अनुसार घरेलु हिङ्साका ४ वटा मुद्धा परेका छन् । हराएका ९७ मध्ये ३२ जना भेटिएको र अरु सम्पर्कविहीन नै रहेका छन् । माइती नेपालका अनुसार ६ महिनाको अवधिमा मानव बेचबिखनविरुद्ध ५ वटा मुद्दा दायर गरिएको छ । कार्यालयकी काउन्सिलर हेमन्ता बुढाथोकीले १४ हजार ९ सय ४६ जनालाई सल्लाह दिएर नाकाबाटै फर्काइएको जानकारी दिएकी छिन् । उनका अनुसार एउटा बलात्कारको अभियोगमा मुद्धा परेको छ ।

btm buspark
बिर्तामोड

६ विरुद्ध मुद्दा, ४ जना फरार
काँकरभिट्टा । गत आर्थिक वर्षमा मानव बेचविखनमा सम्लग्न भएको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख विशाल भारतीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक भारतीका अनुसार १० जनामध्ये ४ जना अभियुक्त अझै फरार रहेका छन् ।

प्रहरी निरीक्षक भारतीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा पक्राउ परेकी भारतको पश्चिम बङ्गाल राज्यकी ४० वर्षीया मनमाया क्षेत्रीमाथि मानव तस्करीको अभियोगमा मुद्दा चलाइएको छ । त्यसैगरी, मानव तस्करीमा सम्लग्न भएको अभियोगमा झापा मेचीनगर–४ का राजेशकुमार राय र सोही ठाउँका इन्द्र राय, मेचीनगर–१० काँकरभिट्टाका राजेश महत, कोहबरा घर भई लखनपुर–१ बस्ने दलबहादुर नेम्वाङ उर्फ प्रकाश,

नुवाकोटको रातमाटेका कृष्णबहादुर दर्जी, नुवाकोट घ्यामफेदीका सोनम तामाङ र सोही ठाउँका राजु तामाङ पक्राउ परेका छन् । उनीहरुमाथि मानव तस्करीमा सम्लग्न भएको अभियोगमा मुद्दा चलाइएको छ ।

‘सबै अभियुक्तमाथिको मुद्दाको फैसला हुन बाँकी छ’, प्रहरी निरीक्षक भारतीले भने – ‘पुर्पक्षका लागि थुनामा राखिएको छ ।’ फरार अभियुक्तको खोजी भइरहेको पनि भारतीले जनाएका छन् । उनका अनुसार मानव तस्करीको जालो तोड्न नेपाल प्रहरीले सरोकारवाला सबै सङ्घ–संस्थाको सहकार्य गरिरहेको छ ।

(२०७३ भदौ ८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: