भद्रपुर, १५ असार । झापा सदरमुकाम भद्रपुरको वडा नं. १० मा सेती खोलाले पक्की पुल बगाएको छ ।
देउनिया पुल उत्तरतिरबाट चन्द्रगढ जाने सडकमा रहेको सो पुल मंगलवार बाढीले भत्काएपछि आवागमन बन्द भएको वडाध्यक्ष काजी खड्काले जानकारी दिए ।
सो स्थानमा फेरि पुल बनाउन लगभग एक करोड रुपैयाँ लाग्ने उनको भनाई छ ।
खोलामा पानीको बहाव नघटेका कारण अस्थायी आवागमनका लागि काम गर्न नसकिएको उनले बताए । सो स्थानमा बाँसको अस्थायी पुल बनाउने वडा कार्यालयको तत्काल योजना छ ।
गौरीगञ्ज र गौरादहमा विद्युत अवरुद्ध
यसैगरी, गौरीगञ्जको वडा नं. १ र २ को सीमानामा कमल खोलाले विद्युतको उच्च लाइनको तार बगाएको छ ।
सोही कारणबाट गौरीगञ्ज वडा नं. २ को कोरोबारी लाइनमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । मौसममा सुधार नआइकन मर्मत सम्भार गर्न नसकिने नेपाल विद्युत प्राधिकरणका रामचन्द्र ठाकुरले बताएका छन् ।
गौरादह वडा नं. ९ मा किस्ने खोलाले पोल ढालेका कारण बैगुनधुरा क्षेत्रमा समेत विद्युत प्रवाह अवरुद्ध भएको जनाइएको छ ।