बाढीमा बग्यो बुढेसकालको खुसी

  प्रकाशित मिति
२ भाद्र २०७४, शुक्रबार २१:०३


jhulan 1
झुलन रेग्मी

सहरेडाँगी । झापा गाउँपालिका–३ का टेकबहादुर दर्नाल २०६१ सालमा श्रीमतीको निधनपछि निकै पीडामा थिए । उपचार अभावमा श्रीमतीको मृत्यु भएको घटना उनले अझै भुल्न सकेका छैनन् । ‘पुरानो घाउ कोट्याउँदा जति चर्याउँछ, त्योभन्दा धेरै पीडा त आलो घाउ दुख्दा भएको छ । दैवले यस्तै लेखेको रहेछ,’ ६५ वर्षका टेकबहादुरले भने ।

जेठी श्रीमतीबाट उनका ४ छोरी र १ छोरा छन् । पत्नी वियोगको पीडा बिर्सनका लागि टेकबहादुरले ६० वर्षको उमेरमा २०६९ सालमा दोस्रो बिहे गरे । ३१ वर्षकी कमलासँग बिहे गरेपछि उनको जीवन हाँसीखुसीले चल्दै थियो । तीन वर्षअघि छोरी जन्मिइन् । बुढेसकालमा लक्ष्मी भित्रिएपछि दङ्ग बनेका टेकबहादुरले नाम राखे–‘खुसी’ ।

तर, श्रीमती कमला र छोरीसँगै उनको खुसी गएको शुक्रवार सानो माइखोलामा बग्यो । शुक्रवार राति १२ बजे टेकबहादुरले एक्कासी ओछ्यान चिसो भएको अनुभव गरेका थिए । घरमा खाट नभएका कारण उनीको परिवार भुइँमै ओछ्यान लगाएर सुत्ने गर्दथ्यो ।

एकैछिनमा गाईवस्तु कराउन थाले । मानिसहरुको चिच्याहट सुनियो । ‘बाढी आयो भागौँ’ भन्दै चिच्याइरहेको आवाज उनको कानमा पर्यो । श्रीमतीलाई उठाए । सानी छोरीलाई श्रीमतीेले सलमा बाँधिन् र सललाई छातीमा च्यापेर बेरिन् । त्यसपछि हातमा टर्च बोकेर यो परिवार घरबाट विस्थापित भयो ।

गोठमा गोरु कराइरहेको थियो । टेकबहादुरले सम्झिए–‘कमलाले तपाईं गोरु छाडेर आउनुस् भनिन् ।’ टेकबहादुरले सुरुमा मानेनन् । ‘गोरुभन्दा ज्यान ठूलो हो भन्दै उसलाई सम्झाउन खोजेको थिएँ । उ, सरासर खोलामा पसी । सबै हतारमा भएको थियो, म पनि गोरु फुकाउन पुगेछु,’ टेकबहादुरले भने ।

गोरु फुकाएर फर्कदा टेकबहादुरको खुसी गायव भइसकेको थियो । उनी श्रीमती कमला र छोरी खुसीलाई खोज्दै खोला किनारमा गए । यताउता खोजे तर भेटेनन् ।

kiriya picटर्चलाइट समेत श्रीमतीले लगिसकेकी थिइन् । अन्धकारमा उनका आँखा घरतर्फ सोझिए । ‘बेरा सबै लगेछ, छानो मात्र बाँकी थियो,’ टेकबहादुरले भने ।
उनले २ घण्टा खोला किनारमै बिताए । यतिबेलासम्म बाँच्ने आशा मरिसकेको थियो । ‘पारी तरेर जाने सोचेको थिएँ । पुल पनि बगाइसकेको रहेछ । एकछिनपछि पारीबाट दुई÷चारजना केटाहरु आए र मलाई खोला तारेर लगे,’ उनले भने ।

बाढीमा बेपत्ता भएकी श्रीमती कमला र छोरी खुसी फर्किएनन् । उनीहरुको शव शनिवार बिहानै स्थानीयले फेला पारे । तर पनि समयमै दाहसंस्कार गर्न पाएनन् । ‘पोष्टमार्टम नगरी लान हुँदैन भनेर स्थानीयले भनेका कारण २ दिनसम्म कुरेँ । तर कोही आएनन् । त्यसपछि सोमवार दाहसंस्कार गरियो,’ रुँदै टेकबहादुरले भने । टेकबहादुरकी श्रीमती कमलाको ३६ वर्षको अल्पायुमै मृत्यु भएको हो । उनकी छोरी खुसी केवल ३ वर्षकी थिइन् ।

बुढेसकालमा जवान श्रीमती र कान्छी छोरी गुमाउनु पर्दाको पीडामा रहेका टेकबहादुरको घर समेत बाढीमा बगेपछि आफन्तको घरमा किरिया बस्न बाध्य छन् । मेचीनगर–१२ स्थित सहरेडाँगीमा भाई (फूपुका छोरा) सरमान बराइलीको घरमा उनी श्रीमती र छोरीको किरिया बसेका छन् । उनीसँगै जेठी श्रीमतीपट्टीकी साँइली छोरी पनि किरिया बसेकी छिन् ।

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमती र छोरीको किरिया खर्च कसरी तिर्ने भन्ने चिन्तामा टेकबहादुर छन् । ‘मलाई कमलाले बचाइन्, उसले गोरु सार्न जानु नभनेको भए म पनि खोलामा पस्थेँ होला,’ त्यस दिनको कहालीलाग्दो घटना सम्झदै उनले भने–‘पहिलो श्रीमतीको पीडा बिर्सन दोस्रो बिहे गरेँ । बाढीले बगाएपछि न छोरी बाँची न श्रीमती नै । बुढेसकालमा घरको न घाटको भइयो ।’

उनले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए । ‘हाम्रो पुख्र्यौली पेशा आरनको काम गरेर परिवार पाल्दै आएको थिएँ । अब सहाराविहीन भइयो । छोरीहरु विवाह गरेर गइसके,’ रुँदै टेकबहादुरले भने ।

उनले अहिलेसम्म राहत पाएका छैनन् । ‘गाउँ (झापा गाउँपालिका) मा गएर धेरै सङ्घसंस्थाले राहत बाँडे रे ! म यता (मेचीनगर) छु । त्यही भएर केही पाइएन,’ उनले भने ।

कान्छी श्रीमतीको नागरिकता र छोरी ‘खुसी’ को जन्मदर्ता समेत नगरेका कारण सरकारी निकायले राहत वितरण गर्दा टेकबहादुरको नाम छुट्न सक्ने चिन्ता उनका भाई (फूपुका छोरा) सरमान बराइलीलाई छ । ‘दाजुले भाउजुको नागरिकता पनि बनाइदिनु भएको रहेनछ । अब राहतमा छुट्ने होकी भन्ने चिन्ता छ,’ सरमानले भने ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: