भद्रपुर । कचनकवल–१ निवासी बाढीपीडितहरुले आफुहरुलाई राज्यले प्रदान गरेको रकमवाट कर्मचारीहरुले कमिशन लिएको भन्दै आपति जनाएका छन् ।
वार्ड नं–१ का ७९ घरका बाढीपीडितहरुले जिल्ला प्रशासन कार्यालय झापाले उपलब्ध गराएको दोस्रो किस्ताको रकम वापतको २५ हजार रुपैयाँ गाउँपालिकाका कर्मचारीहरुले प्रति घर परिवारवाट १० हजार रुपैयाँ लिएको भन्दै आपति जनाएका हुन् ।
कचनकवल गाँउपालिका नागरिक समाजको अगुवाईमा शुक्रवार वार्ड कार्यालय घेराउ गर्न पुगेका उनीहरुको भेलाले नेपाल सरकारले बाढीपीडितलाई प्रदान गरेको २५ हजार रकममा आफुहरुलाई सहि छाप गराएर १५ हजार मात्र प्रदान गरेकोमा आपति जनाएका हुन् ।
गाउँपालिकाबाट घरधुरी सङ्कलन गर्न गएका करारमा नियुक्त भएका कर्मचारी पञ्च राजवंशी र सर्मिला राजवंशीले आफुहरुलाई २५ हजार रुपैयाँमा सही गराएर जवरजस्ती पैसा लिएको स्थानीय बुद्विसरि राजवंशीले बताइन् ।
वास्तविक बाढी पीडितलाई राहत उपलव्ध नगराएर गैरबाढी पीडितले ३÷ ४ पटक सम्म रकम लिएको स्थानीय सावित्रा श्रेष्ठले आरोप लगाइन् ।
उनले आफनो मान्छेलाई जनप्रतिनिधिहरुले खोजी खोजी दिएको र वोल्न नसक्ने लाई वास्तै नगरेको बताइन् ।
वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले मनोमानी तरिकाले काम गरेकाले आफुहरुले न्याय पाउनु पर्ने बाढीपीडित नरवहादुर राजवंशीले वताए ।
वडा सदस्य उमा शंकर गणेश र सुिनता नेपालीले वार्ड अध्यक्षले आफु खुशी राहतको सिफारिस गरेको उल्लेख गर्दै अध्यक्ष कै कारण पीडितहरुले राहत नपाएको वताए । उनीहरुले पीडित परिवारको रकम तत्काल फिर्ता गर्न समेत माग गरे ।
वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफुहरुले बाढी पीडितहरुको लागि सिफारिस मात्र गरेको बताउँदै वार्डको कुनै पनि कमजारी नभएको हुँदा यसको जिम्मेवारीले गाउँपालिकाले लिनुपर्नेै बताए ।
वास्तविक बाढी पीडितले राहत नपाउनुमा जनप्रतिनिधि र कर्मचारीहरु नै दोषी रहेको उल्लेख गर्दै पीडितले सहि न्याय पाउनु पर्ने नागरिका समााजका अगुवा कालेन्द्रप्रसाद राजवंशीले बताए ।
गाउँपालिकाका कार्यकारी अधिकृत्त रेखनाथ दाहालले कार्यालयवाट त्यस्तो समस्या नभएको उल्लेख गर्दै प्राप्त हुने सवै रकम प्रति व्यक्ति २५ हजारका दरले नै उनीहरुलाई प्रदान गरिएको बताए ।
कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरि राजवंशीले आफुलाई भरखरै मात्र यस्तो कुरा थाहा भएकोले अव खोजी गर्ने बताइन् ।
कचनकवल गाउँपालिकामा बाढी पीडितलाई दोस्रो किस्ता वापत ३६ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।