शेर्मा परिवारलाई नगरपालिकाले जग्गा दिने, अभियानले घर बनाइदिने

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार १४:५५


मेचीनगर, ३ साउन । कनकाई नदीको बाढीबाट विस्थापित तारा शेर्माको परिवारलाई शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले घर बनाइदिने भएको छ ।

तारा शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार आएपछि नगरपालिकाले जग्गा दिने भएको हो ।

शिवसताक्षी–११ स्थित बच्चाबरमा जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने भएको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए ।

नगरप्रमुख शेर्माले भने, ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट विस्थापित तारा शेर्मालाई घर बनाएर भित्राउने योजना छ ।’

जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भइसकेका छन् । घरहरु करिव ५ धुर जग्गामा बनेका छन् । ताराले पनि त्यतिनै भूमि पाउने नगर प्रमुख शेर्माले बताए । उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

ताराका ३ जना छोरा छोरी छन् । ७ र ६ वर्षीया दुई छोरी समृद्धि र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तह सम्मको पढाइको पनि चाँजोपाँजो मिलेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका नगरपालिकाका सचेतक कुलवहादुर बस्नेतले उनीहरुको अभिभावकत्व लिने घोषणा गरेका छन् ।

उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनीहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तह सम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च उपलव्ध गराउँछु ।’

पीडित परिवारको जीविका चलाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उनलाई रोजगारी दिन सकिने नगर प्रमुख शेर्माले बताए । उनले भने, ‘आत्मनिर्भर बन्नका लागि नगरपालिकाले शिपमूलक तालिम दिएर रोजगारी दिनेछ ।’
वडा अध्यक्ष बस्नेतले पीडितको पुनस्र्थापना र रोजगार स्थानीय सरकारको जिम्मा भएको बताउँदै भने, ‘व्यावसायिक रुपमा पशुपंक्षी पालेर पनि शेर्माले आफ्नो परिवारको गुजारा चलाउनु हुनेछ ।’

यसै सातादेखि घर निर्माण हुने संयोजक डालमियाले बताए ।

यसैवीच, बाढीबाट विस्थापित तारा शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार आएपछि भद्रपुरस्थित एकल महिलाका लागि मानव अधिकार र एवीसी नेपाल नामक सामाजिक संस्थाका अगुवाहरुले अस्थाई छाप्रामै लगेर उनलाई खाद्य र गैरखाद्य सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: