बाध्यताका पौरखी पात्रहरू

  प्रकाशित मिति
५ माघ २०७३, बुधबार १०:४८


जीवन जिउने माध्यम पेशा हो भन्ने मेरो बुझाइ छ । त्यसैले जीवनलाई सजीवतामा ढाल्न र जिउँदो रहिरहन एउटा पेशा अँगाल्नु पर्ने आवश्यकता रहन्छ भनिरहँदा कसैलाई यो आवश्यकताको बोध नै नभई विलासितामा जीवन बिताइरहेका हुन्छन् भने धेरैलाई सास अड्याउने बाध्यताका लागि जीवन व्यतित गर्ने कुनै एक पेशा अँगालिरहेका छन् । पुगिसरी आएमा उमेरको हद पनि हँुदोरहेछ । तर, सबै व्यवहार आफ्नै थाप्लोमा बोक्नु परेकाहरूलाई त न उमेर न समय न बलियो शरीर केही पनि सान्दर्भिक नहुँदा पनि त निरन्तरताका लागि जिम्मेवारी वहन गर्न केही न केही त गर्न बाध्य हुनुपर्ने रहेछ । धेरै ज्वलन्त उदाहरणका बिच यहाँ केही पात्रहरूलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

उनान्सय वर्षमा पनि व्यापार

3
यी हुन् भागवत सिंह । उमेरले एक शताब्दी व्यतित गर्न आँटेका अर्थात् ९९ वर्ष ६ महिना समय व्यतित गरिसकेका भागवत आफनो अमूल्य जीवन जीउनका लागि माछाको व्यापार गर्छन् ।
धुलावारी मोडबाट कतै गन्तव्यमा पुग्नुपर्ने भएकाले बसको सिटमा बसी राखेको बेला एउटा ठूलो हलुङ्गेको भाँडो बिर्कोसहित सकिनसकी दुई हातले उठाएर बसभित्र हाल्न खोजे उनले, उठेर मैले सघाएँ अनि यहाँ बस्नुस् भनेर सिट पनि छोडी दिए । तर सिटमा बस्न मानेनन् र गाडीको बनोट(चालक छेउको अग्लो भाग)मा बसे उनी । मैले सोधेँ–कति वर्ष पुग्नु भो ? उनले दुबै हात जोडेर भने–‘भन्दिन नानी !’ म अचम्ममा परे फेरि सोध्न छोडिन । अनि उनले आँखाबाट तुरुक्क आँशु झारेर ‘सय पुग्न लागेँ’ भने । मलाई एकातिर गर्व लाग्यो–१०० वर्षको सङ्घार उमेरमा पनि आफ्नो लागि मात्र नभई परिवारका लागि पनि भरपोषण गर्न सक्षम भागवत सिंह । उनीप्रति फेरि माया लागेर आयो–खोइ ज्येष्ठ नागरिकको सम्मान ? नारा र भाषणमा सीमित भएर आएका योजनाहरू बिल बनाउन र बिल फछ्र्यौट गर्नमा तल्लीन निकायहरूले बुझ्न अति आवश्यक छ ।

जडिबुटी बेच्दै पढ्दै

4
यी हुन् सोनम शेर्पा । यिनको घर सङ्खुवासभा हो । सङ्खुवासभाबाट विभिन्न जडिबुटी जस्तै पाखनवेद, ठूलो ओखती, हड्चुर, पिप्लालगायत अन्य जडीबुटी र त्यसको ढुठो बनाएर हाट हाटमा पसेर बेच्छिन् । यति मात्र नभएर घर घरमा पनि औषधी बेच्न हिँड्छिन् ।
हेर्दा सुन्दर राताराता गाला, गोरी । अग्ली उमेर मात्र सत्र पुगेर अठार लागेको । मलाई जिज्ञासा भयो सानो उमेरमा यिनलाई किन यो व्यापार गर्न मन लाग्यो भनेर । उनले यसरी व्यापार गर्नु रहर नभएर बाध्यता भएको सुनाइन् ।
उनले भनिन् –‘म धनकुटामा स्वास्थ्य नै पढ्छु, १५ महिने अनमी  ।’
कस्तो लागिरहेको छ व्यापार गर्दा ?
‘राम्रो लागेको छ ।’
सबैले राम्रो गर्छन् त ?
‘राम्रै गर्छन् ।’
हाम्रो समाजमा घटना भइसकेपछि मात्र बचाउका नारा लगाउँदै हिड्ने संस्कृति नै भइसक्यो । यी सरल महिलालाई कसैको गिद्धे दृष्टि नलागोस् भन्ने कामना गर्न मात्र सकँे ।

पोते बेच्ने आमा

1
उमेरले ८१ टेकेकी यी आमा मेचीनगर–५ मा बस्नुहुन्छ । ढाका टोपी र पोतेको व्यापार गर्दै आउनु भएकी आमा बजार लाग्ने दिनहरूमा धुलाबारीमा नै पाटा गोदाम अगाडि सामान फिँजाएर व्यापार गर्नुहुन्छ भने कहिले शङ्कर श्रेष्ठको पसल अगाडि बस्नु हुन्छ । दाहिने हातका आँैलाहरू चल्दैनन् । देब्रे हातका माध्यमबाट आफनो जीवन गुजारा गर्न पोतेको व्यापार गर्दै आउँदा ४० वर्ष वितेछ उहाँको । उहाँको नाम फुलमाया राई हो । आफ्नो सामान आफ्नै झोलामा बोकेर घर लाने लैजाने गर्नुहुन्छ । आमा तपाइँले किन यो व्यापार गर्नु भएको भनी सोद्धा झर्केर ‘खानुको लागि’ भन्ने उत्तर दिनुभयो । हुन त सबैले यही प्रश्न गर्दा गर्दै हैरान भएर होला झर्किनु भएको । अर्कातिर बुढेसकाल अर्कातिर अपाङ्ग यी आमा घरमा भात तरकारी पनि आफै गर्नुहुन्छ । छोरा छोरी नाति नातिनीसँग बस्दै आउनु भएकी आमा एकल महिला हुनुहुन्छ । ज्येष्ठ, अपाङ्ग, एकल सबै भए तापनि आफ्नो जीवन निर्वाह र ती केटाकेटीका लागि दरिलो अभिभावक यी आमाले यो पोको बिसाएर कहिले सास फेर्ने त ?
परिश्रमी सन्तोष

2
कविशिरोमणि माविमा अध्ययनरत् सन्तोष रेग्मीको पनि आफनै कथा व्यथा र विवशता छ । हुन त सामुदायिक विद्यालयमा अध्ययनरत् धरै विद्यार्थीहरूमा यस्तै समस्याग्रस्त विद्यार्थी भेटिन्छन् । यिनै समस्या भित्र पनि रहेर सदैब हासी खुसी रहने र कर्तव्य पथबाट एक पाइला पनि पछि नहट्ने भाई सन्तोषको बेग्लै खाले परिस्थिति छ । उनकी आमाको उ र उनका भाइ बैनी सानो हुँदा रोगको कारण मृत्यु भएपछि बाबाले पनि अर्की महिला विवाह गरेर अन्तै गएर बसे । उनीहरूलाई बेवास्ता गरे । कहिल्यै फर्केर हेरेनन् । अनि भाई बहिनीलगायत सन्तोष भाई पनि आफन्त र आफ्नै बडाबाको शरणमा पुगे । बडाबाले पनि शरण दिनुभयो ।

उनी बिहान सबेरै उठ्छन् । २ वटा गाईलाई घास पराल खोले दिन्छन्, गोवर सोर्छन्, गाई दुहन्छन्, दुध लिएर बजार जान्छन् । घरमा रहेका काम गर्छन् । भात खाएर विद्यालय जान्छन् । विद्यालयका पनि उनी यिनी स्कुल क्याप्टेन हुन् । विद्यालयको वातावरण अनुशासित राख्न महत्वपूर्ण भूमिका इमान्दारीका साथ निर्वाह गर्दछन् । विद्यालयमा हुने विभिन्न खाले कार्यक्रममा सक्रिय सहभागिता राखेर सफल बनाएरै छोड्छन् । सबैका आखाँका नानी भएका सन्तोष रेग्मी आसामबाट नेपाल आएका हुन् ।

विद्यालयबाट फर्केपछि गाई स्याहार्छन् । केही काम सघाएपछि भात खाएर गृहकार्य गर्दछन् । विद्यालय विदाका दिन लामो दुरीको वसमा खलासीको काम गर्दछन् । काँकडभिट्टा …..काठमाडौ, काँकरभिट्टा –महेन्द्रनगर चल्ने बसमा काम गर्दछन् र त्यहाँबाट प्राप्त पैसाले बैनीको आवश्यकता सामान र व्यवहारमा चाहिने र आफूलाई आवश्यक पर्ने सामान खरिद गर्दछन् । यति गर्दागर्दै समय उब्रियो भने हाट बजार लगाउन सामान बोक्ने ठेला गाडी समेत चलाउँछन् र आफूलाई त्यसबाट आउने पारिश्रमिकबाट आवश्यक सामान खरिद गर्दछन् ।

प्रायः विद्यालयमा अनुपस्थित नहुने सन्तोषको पेशा विद्यार्थी भन्नु पर्ने परिस्थितिले थपिदिएको व्यावहारिक बोझको कारण बाध्यता र आवश्यकताको अगाडि विद्यार्थी जीवनलाई निरन्तरता दिन तल्लीन छन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता पात्रहरू हामै्र गााउँ ठाउँमा थुप्रै छन् । यिनीहरूको नाममा थुप्रै बजेट आउँछ । तर, लक्षित समूहसम्म पुग्नै नपाई सकिन्छ । हामी नागरिक पनि यही समाजमा बस्छौँ तर रात दिन आफ्नै आँखा अगाडिका यी होचा अर्घेलो कहिल्यै देख्दैनौँ । अनि मृत्युपछि तिनका गुनगान गाउन र समवेदनाका फ्रेम बनाउन प्रतियोगिता नै हुन्छ कि भनेर जुट्छौँ । बाँचुञ्जेल चिनेका पनि हँुदैनौँ । शोकसभामा कार्यक्रम भन्दै कुद्छौँ । कार्यक्रमै कार्यक्रमले ग्रस्त हाम्रो समाजमा कहिले आउला चेतना ? कहिले होला लक्षित वर्गको उत्थान ? बाध्यता र आवश्यकता सकी नसकी पेशा अँगालिरहेकाले कहिले पाउलान् आराम ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: