बामपन्थी सांसद्हरुले गरे धर्मको प्रशंसा

  प्रकाशित मिति
२९ माघ २०७५, मंगलवार ०९:०६


धर्मले न्यायको पक्षमा लाग्न प्रेरणा ः कार्की धर्म छाडेकाले बलात्कार बढ्यो ः लिङ्देन धर्मले सुकर्मतिर डोहोर्याउँछ ः मैनाली धर्म नमान्नेहरुको भीड बढ्यो ः आचार्य

मेचीनगर । कम्युनिस्ट, प्रजातान्त्रिक र राजाबादी विचारधारा बोकेका सांसद तथा नेताहरुले सोमवार एउटै धार्मिक मञ्चमा उभिएर हिन्दु धर्मको प्रशंसा गरेका छन् ।

श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्वर्ण महोत्सवका अवसरमा आयोजित विचार गोष्ठीमा नेकपाका सङ्घीय सांसद् राम कार्की, राप्रपाका सङ्घीय सांसद् राजेन्द्र लिङ्देन, नेकपाका प्रदेश सांसद् श्रीप्रसाद मैनाली र नेपाली काङ्ग्रेसका नेता एवम् मेचीनगरका नगरप्रमुख विमल आचार्यले धर्मले समाजमा शान्ति, सद्भाव र सकारात्मक सन्देश फैल्याएको भन्दै खुलेर प्रशंसा गरेका हुन् ।

सुरुमै बोलेका झापा क्षेत्र नं. १ का सांसद् एवम् नेकपाका केन्द्रीय नेता राम कार्कीले धर्मले न्यायको पक्षमा लाग्न सँधै प्रेरणा दिने बताए ।

उनले प्रेम, सद्भाव, विनम्रता र अनुकम्पाको प्रतीकको रुपमा श्रीकृष्णलाई मान्ने गरिएको बताउँदै अन्याय विरुद्ध लड्न गीतामा कृष्णले दिब्य उपदेश दिएको चर्चा गरे ।

‘कृष्णको मूर्ति अगाडि घोप्टो पर्ने तर अलि पर्तिर गएर अन्यायीलाई साथ दिन्छ भने’, सांसद् कार्कीले भने–‘त्यस्तो व्यक्ति कृष्णको सही भक्त हुन सक्दैन, आडम्बरी मात्र हुन्छ ।’

उनले सानो छँदा आमाको मुखबाट कृष्णका कथाहरु सुन्ने गरेको र पछि ठूलो भए पछि पण्डितकहाँ गएर कथालाई मसिनो गरेर बुझेको अनुभूति समेत सुनाएका थिए ।

झापा क्षेत्र नं. ३ का सांसद् एवम् राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले देशले धर्म छाडेर निरपेक्षतातिर लागेको कारण बलात्कार र भ्रष्टाचार बढ्दै गएको तर्क गरे ।

सनातन् हिन्दु धर्मको लागि ज्यानको बाजी लगाएको धारणा राख्दै उनले धार्मिक अनुष्ठानहरुमा पुग्दा आफुलाई आफ्नै घरमा पुगेको अनुभूति हुने बताए ।

नेपालको पहिचान हिन्दु धर्म भएको हुँदा संसद्ले हटाएको त्यो पहिचान संसद्ले नै फिर्ता ल्याउन सांसद् लिङ्देनले माग गरे ।

९४ प्रतिशत हिन्दु परिवार बस्दै आएको मुलुकमा हिन्दु राष्ट्र हुनु पर्छ भन्दा आफु एक्लो परेको बताउँदै उनले सबैले कुरा बुझेका दिन नेपाललाई हिन्दु राष्ट्र हुनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

कार्यक्रममा नेकपा नेता तथा प्रदेश सांसद् श्रीप्रसाद मैनालीले धर्मले समाज र मानिसलाई सुकर्मतिर डोहोर्याउने बताए ।

उनले मदिरा र मांसाहारले अधिकांश अपराध हुने गरेको अध्ययनले देखाएको भन्दै आफुले पनि मांसाहार छाड्ने सङ्कल्प सुनाए ।

‘मदिरा कहिल्यै खाने गरेको छैन’, आफ्नो सङ्कल्प सुनाउँदै उनले भने–‘आत्मैदेखि मासु खान हुँदैन भन्ने लाग्न थालेको छ ।’

मेचीनगरका नगरप्रमुख एवम् नेपाली काङ्ग्रेसका नेता विमल आचार्यले नेपालको राजनीतिमा धर्म नमान्नेहरुको भीड बढेको टिप्पणी गरे ।

उनले धर्मलाई अङ्गाल्ने हो भने राजनेताहरुमा सकारात्मक सोचको विकास हुने र त्यसबाट समाजले लाभ पाउने बताए ।

श्री कृष्णप्रणामी सत्सङ सेवा परिषद् झापाको आयोजनामा भएको विचार गोष्ठीको अध्यक्षता मन्दिरका अध्यक्ष हरिप्रसाद नेपालले गरेका थिए भने आयोजक समितिका सदस्य धर्म भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

वक्ताहरुको सम्बोधन पछि आशिर्वचन दिदै धर्मगुरु श्री १०८ मोहन प्रियाचार्यले धर्मका विषयमा नेताहरुमा रहेका ज्ञानको सराहना गर्दै नेपाल हिन्दु राष्ट्र नहुँदा विश्वभरिका हिन्दु धर्मावलम्बीहरुको मन दुखेको बताउनु भयो ।

कार्यक्रमको सञ्चालन मूल समारोह समितिका सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेलले गरेका थिए ।

सो अवसरमा मन्दिरका जग्गादाता परिवारका प्रतिनिधि एवम् मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कल्याण खड्का, राप्रपाकी नेतृ सबिना बजगाई, नेपाल परिवार नियोजन सङ्घका महासचिव तेजप्रसाद चापागाई, श्री कृष्णप्रणामी सत्सङ सेवा समितिका अध्यक्ष मिलन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: