झापा । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो ।
नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो ।
क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।
आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।
शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।
बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिए ।
बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । (अनलाइन खवर)