मेचीनगर । मेचीनगर नगरपालिका अन्तर्गतका बाल विकास केन्द्रमा कार्यरत शिक्षिकाहरुको भेला शुक्रवार दुहागढीमा सम्पन्न भएको छ ।
मेचीनगर शिक्षा शाखाको आयोजना तथा स्थानीय बाल सुबोधिनी आधारभुत विद्यालयको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
बाल सुवोधिनी आधारभुत विद्यालयमा सञ्चालित नमूना बाल विकास केन्द्रको अवलोकन गराई त्यहाँ अबलम्वन गरिएका सफल अभ्यासलाई मेचीनगर क्षेत्रका सबै बाल विकास केन्द्रमा पुर्याउने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो ।
भेलामा मेचीनगरका ४२ जना बाल विकास शिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेचीनगर शिक्षा शाखाका लोकबहादुर दाहालले नगरको शैक्षिक गतिविधिका बारेमा जानकारी दिँदै शैक्षिक गुणस्तर अभिबृद्धिमा बाल बिकास शिक्षकहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।
भेलामा सहभागी बाल विकास शिक्षकहरुले आफुहरुलाई सरकारले सेवा सुविधामा विभेद गरेको गुनासो गरेका थिए ।
कार्यक्रमको सभापतित्व गर्दै बाल सुवोधिनी आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापाले विद्यालयले अबलम्वन गरेका सफल अभ्यासका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।