झापा, १ जेठ । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आजविहान छावासहित पसेका १५ वटा जंगली हात्तीका कारण बाहुनडाँगीबासी त्रसिद बनेका छन् ।
पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउने ध्याउन्नमा रहेको स्थानीयवासी शंकर लुईटेलले जानकारी दिए ।
उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने वित्तिकै भारतीय जंगलबाट हुल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्ती मध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको उनको भनाई छ ।
“प्रहरी प्रशासनदेखि सबैको ध्यान यतिबेला मत गणनातिर छ”, उनले भने “हाम्रो भने हात्तीबाट आफू र पाकेको बाली कसरी जोगिनु भन्नेमा छ ।” उनले चार दशकदेखि बाहुनडाँगीबासी हात्तीबाट पीडित बन्दै आएको बताए । उनले बस्ती नजिकै रहेको सामुदायिक बनमा रहेका हात्ती लेख्टनका लागि डिभिजन वन कार्यालयसँग आग्रह गरिरहेको बताए ।
डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लट्दै आएको बताए । उनले भने, “प्रहरी प्रशासन यतिबेला मतगणना स्थलमा सुरक्षाका लागि खटिएका छन् । एउटा मात्र साइरनसहितको गाडीले हात्ती धपाउन समस्या भइरहेको छ ।” उनका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हुल बाँधेर नेपाल पस्न थालेका छन् ।
तेलपानी बनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जंगलतर्फ लख्ने तयारी गरिरहेको उनले बताए ।