‘बाहुनडाँगीबासीले हाम्रो कामको मूल्याङ्कन गर्नुहुनेछ’

  प्रकाशित मिति
३ माघ २०७४, बुधबार ११:३७


       मेघनाथ खड्का                                                          हरिप्रसाद उप्रेती

‘बाहुनडाँगीबासीले हाम्रो कामको मूल्याङ्कन गर्नुहुनेछ’
मेघनाथ खड्का (मेघराज)
(अध्यक्षका उम्मेदवार)

तपाईको उम्मेदवारी किन ?
वर्तमान समितिको उपाध्यक्ष पदमा रहेर काम गरेकोले पनि अबको पालो मेरै हो । मान्छेले काम गरे पछि कामको आधारमा प्रमोशन खोज्छ । त्यहि प्रमोशनका लागि पनि मेरो उम्मेदवारी हो । त्यसमा पनि म एउटा युवा व्यक्ति । केही गर्न सक्ने र सबैलाई सम्मानका साथ सँगै लैजान सक्ने क्षमता मसँग छ । अहिलेसम्म गरेको कामको आधारमा पनि यहाँका बासिन्दाले मेरो कामको मूल्याङ्कन गर्नु भएको छ । म यहाँको हात्तीका हरेक समस्यामा अरुभन्दा एक कदम अघि बढेर समाधानका लागि जुट्ने गरेको छु । यो काममा मेरो लामो अनुभव छ । यहि अनुभवलाई थप सार्थक बनाउन पनि मेरो उम्मेदवारी हो । यसैगरी केन्द्रदेखि वडासम्मको वर्तमान राजनीतिक घटनाक्रमले पनि स्पष्ट देखाएको छ कि बाम गठबन्धनको बहुमत छ । सरकार पनि बाम गठबन्धनबाटै बन्दैछ । त्यसमा हामीलाई काम गर्न सजिलो पनि हुनेछ । माथिल्लो तहदेखि वडासम्मका लागि पनि काम गर्न सहज हुन्छ ।

तपाईका जित्ने आधारहरु के छन् ?
सबैभन्दा ठूलो आधार त हाम्रो टिममा ३ वटा राजनीतिक आस्था भएका साथीहरुको साझा गठबन्धन छ । सबैलाई समेटेर हाम्रो टिम तयार गरिएको छ । टिम नै मजबुत छ । यसैगरी प्रतिपक्षी साथीहरुसँग मिलेर जान सक्ने भावना, सबैलाई सामूहिक रुपमा अघि बढ्ने प्रतिबद्धता छ । हाम्रो जित व्यक्तिगत नभएर सिङ्गो बाहुनडाँगीको हुने भएकाले पनि जित्ने आधारहरु छन् । यसैगरी यो भन्दा अघि यहाँ रहेर निस्वार्थ रुपमा मैले गरेको कामलाई यहाँका जनताले नजिकबाट नियाल्नु भएको छ । यसले केही गर्छ भन्ने विश्वासको भावना उहाँहरुमा छ । आम जनताको मन जितेको छु । यिनै आधारले मेरो जित सुनिश्चित छ ।

चुनाव जित्नु भयो भने तपाईका योजनाहरु के के हुनेछन् ?
फेन्सिङ तारको लथालिङ्ग अवस्थालाई व्यवस्थित गर्ने पहिलो काम हुनेछ । यहाँ काम गर्ने १२ जना कर्मचारीलाई स्थायी रुपमा रोजगारीको व्यवस्थापन गर्ने, त्यसका लागि नेपाल सरकारसँग आग्रह गर्ने दोस्रो र महत्वपूर्ण काम हुनेछ । यो तारबार भएको स्थानमा रहेको १८ किलोमिटर बाटोलाई हाललाई ग्राभेल गरेर जुनसुकै समयमा पनि यातायातका साधन हिड्न सक्ने र आगामी दिनमा कालोपत्रे गर्ने । हात्ती पीडित जनताले पाउने राहत रकम पाउनका लागि ठूलो झन्झटिलो अवस्था छ, त्यसलाई अन्त्य गर्नका लागि र त्यो राहत रकम स्थानीय स्तरबाटै उपलब्ध गराउने व्यवस्था गर्ने मेरो योजना छ । बाहुनडाँगीको हात्ती समयस्यालाई अन्तर्राष्टिूय स्तरमा जानकारी गराई यसको दीर्घकालिन समाधानका लागि कटिबद्ध भएर लाग्ने छु ।

सामाजिक सङ्घ संस्थामा यसरी तपाइँहरु दलीय प्रतिस्पर्धामा उत्रिनु राम्रो हो र ?
म त अझै पनि समय छ, सर्वसम्मत गरेर जाउँ भनेर साथीहरुलाई भनिरहेको छु । सहमति बन्छ भने चुनावी प्रक्रियामा जानै पर्दैन । सहमति हुन नसकेपछि यो प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नु पर्ने छ । यहाँ राजनीतिक आस्था भएका साथीहरु एक ठाउँमा उभिँदैमा राजनीतिकरण भएको भन्न मिल्दैन । यो समाजमा जो कोही पनि राजनीतिक आस्था मान्ने मान्छे छौँ । त्यहि भित्र म पनि कुनै राजनीतिक दलसँग नजिक छु । यहाँ त्यस्तो देखिएको मात्र हो । अनि काम गर्ने शिलशिलामा पनि कहिले पनि राजनीतिक रङ देखिदैन । म यहि ठाउँमा जन्मिएर यो अवस्थासम्म आउँदै गर्दा यहि समाजको मूल्य मान्यतालाई स्वीकार गर्दै यहाँका हरेक गतिविधिमा संलग्न भएर आएको छु । मेरो पार्टीगत आस्थाका रुपमा सामाजिक संस्थाको काम गर्ने शिलशिलामा कहिले पनि पक्षपात हुन दिएको छैन र हुँदैन पनि । चुनावको समयमा सबै राजनीतिक आस्था भएका मान्छे एकै ठाउँ हुँदैमा राजनीतिक भएको मान्दिन । यो एउटा प्रजातान्त्रिक प्रक्रिया मात्र हो ।

दुबै प्रत्यासीले जित्न सम्भव हुँदैन, यदि हार्नु भयो भने ?
एउटा प्रजातान्त्रिक प्रक्रियामा जित र हार हुन्छ । हारलाई स्वीकार गर्न नसक्ने मान्छेले चुनावी मैदानमा आउनै हुँदैन । चुनावमा हार वा जित दुबै हुन्छ । यसैले जसले जिते पनि यहाँको हात्ती समस्याका लागि काम गर्ने हो । यदि मैले जिते भने मेरो प्रतिस्पर्धीका रुपमा रहनु भएका हरि दाईलाई र सिङ्गो टिमलाई पनि सहकार्य गरेर जानेछु । उहाँहरुका सुझावहरुलाई अङ्गाल्ने छु । यदि हार भयो भने उहाँलाई सहयोग गरेर जानेछु ।

मतदातालाई केही भन्न छुट्यो कि ?
यो निर्वाचन यहाँका जनतासँग प्रत्यक्ष रुपमा जोडिएकोले आफ्नो विवेक प्रयोग गरेर मत गरिदिनु हुन आम मतदाता समक्ष आग्रह गर्दछु । हिजोको कामको आधारमा भोलि गएर कसले काम गर्न सक्छ भन्ने कुरा आम मतदाताले पहिचान गरिसक्नु भएको छ । त्यहि आधारलाई मानेर योग्य, सक्षम र इमान्दार व्यक्तिहरु भएको बाम गठबन्धनको समर्थन रहेको हाम्रो प्यानललाई संस्थाको नेतृत्व प्रदान गर्नका लागि अत्यधिक बहुमत दिनु हुन अनुरोध गर्दछु । साथै, हाम्रो धारणालाई आम झापा जिल्लावासीसमक्ष पुर्याउन सहयोग गर्ने लोकतन्त्र पोस्टलाई हार्दिक धन्यवाद ।

 

‘स्थायी समाधानका लागि पहल गर्नेछु’
हरिप्रसाद उप्रेती
अध्यक्षका उम्मेदवार

तपाईको उम्मेदवारी किन ?
सबैभन्दा पहिलो कुरा त म बाहुनडाँगीबासी भएकाले यहाँको हात्तीको समस्याहरुलाई नजिकबाट अनभूति गरेको छु । विगत लामो समयदेखि बाहुनडाँगीको हात्ती समस्या समाधानका लागि लागिपरेको छु । त्यसमा पनि यहाँ हात्तीको समस्या हुँदै गर्दा हात्ती पीडित सङ्घर्ष समितिको संयोजक भएर धेरैपटक राज्यको ढोका ढक्ढक्याउन पुगेको छु । जसको फलस्वरुप मेरै संयोजकत्वमा रहेको समितिकै पहलमा हात्तीबाट पीडित जनताका लागि राहत उपलब्ध हुन सुरु गरेको थियो । यसैगरी, यो मानव हात्ती द्वन्द्व व्यवस्थापनको विधान मस्यौदा समितिको संयोजकमा पनि बसेर काम गरेको छु । यसले पनि मेरो अनुभवलाई बाहुनडाँगीबासीको हितका लागि सार्थक बनाउन मेरो उम्मेदवारी हो । विश्व बैङ्कको सहयोगमा निर्माण कार्य सम्पन्न भई समुदायमा हस्तान्तरण भएको सोलार फेन्सिङलाई प्रभावकारी बनाएर मानव हात्तीबिचको द्वन्द्वलाई न्यूनिकरण गर्ने मेरो प्राथमिकता हो ।

जित्ने आधारहरु के के छन् ?
मैले अघि पनि भने कि म बाहुनडाँगीमा हात्ती समस्या हुँदै गर्दादेखि निरन्तर काम गरेको छु । यहाँका आम जनताका पक्षमा रहेर काम गर्ने अवसर पाएको छु । त्यहि कामको मूल्याङ्कन गरेर आम बाहुनडाँगीबासीले मलाई तपाई आउनु पर्छ भनेर आग्रह गर्नु भयो । मेरो जित्ने आधार भनेको नै यहाँका आम जनता हुनुहुन्छ । जसले मेरो कामको मूल्याङ्कन गर्नु भएको छ । यहाँ यो पार्टी र त्यो पार्टी भन्दा पनि आम बाहुनडाँगीबासीका लागि मैले गरेको काम नै मेरो जित्ने आधार हो । मैले काम गर्ने शिलशिलामा कुनै दिन पनि पार्टीगत स्वार्थ देखाएको छैन । अनि मैले यस भन्दा अघि पनि काम गरेका सामाजिक सङ्घ संस्थामा आर्थिक पारदर्शितालाई महत्व दिने गरेको छु । मेरो काममा पहिलो कुरा आर्थिक पारदर्शिता हुन्छ । इमान्दारिताका साथ काम गरेको छु । सबै दलसँग मिलेर अनि सबैलाई मिलाएर टिममा बसेर काम गर्न सक्ने क्षमता ममा छ ।

यदि तपाईले चुनाव जित्नु भयो भने तपाईका योजनाहरु के के हुनेछन् ?
यहाँ प्रश्न चुनाव जित्ने मात्र होइन । मूल प्रश्न यस क्षेत्रमा दीर्घकालिन हात्ती व्यवस्थापन कसरी गर्ने भन्ने चाहिँ हो । यस क्षेत्रमा हामीले वर्षाैदेखि धेरै पीडा र समस्या भोगेका छौँ । जब यहाँ फेन्सिङ तारले घेराबारा गर्ने काम भयो अनि मात्र यहाँका बासिन्दाले केही राहत पाएको अनुभव गरेका छन् । हो त्यहि फेन्सिङ तारको सुरक्षा, व्यवस्थापन र त्यसलाई दीर्घकालिन समयसम्म सञ्चालन गर्ने, समय समयमा मर्मत सम्भार गर्ने योजनाहरु छन् । साथै त्यो तारको सुरक्षा र मर्मत सम्भारका लागि १८ किलोमिटर बाटो जहाँ १२ महिना सञ्चालन हुने गरी बनाउने, थोरै पारिश्रमिकमा काम गरिरहेका प्राविधिक साथीहरुका लागि दीर्घकालिन रोजगारीको व्यवस्थापन गर्ने । त्यसका लागि सम्बन्धित निकायमा जानकारी गराउने र रोजगारीको व्यवस्थापन गर्ने, हाल हात्ती पीडितले पाउने राहत रकम उपलब्ध गराउन थुप्रै झन्झटिलो अवस्था छ । धेरै प्रक्रियापछि मात्र उसले रकम पाउँछ । अबका दिनमा त्यो झन्झटिलो परिस्थितिको अन्त्य गर्न र विना झन्झट स्थानीय स्तरबाटै वा वडाबाट रकम राहत पाउने व्यवस्था गर्ने, सरकारले बाहुनडाँगीलाई यो व्यवस्थापनका लागि ३० लाखको फन्ड दिएको छ । उक्त फन्डलाई बढाएर लैजाने र एक करोडको कोष निर्माण गर्ने, जसका कारण यहाँ पर्ने सानातिना समस्याहरु यहि समाधान गर्न सकिन्छ ।

सामाजिक सङ्घ संस्थामा यसरी तपाइँहरु दलीय प्रतिस्पर्धामा उत्रिनु राम्रो हो र ?
म यो मान्दिन । यहाँ राजनीतिक क्षेत्रमा काम गर्ने मान्छेहरु नै नेतृत्वको प्रतिष्पर्धामा आएकोले त्यस्तो अनुभव भएको होला । यो समाजमा कुनै न कुनै राजनीतिक आस्थामा हामी सबै बाँचेका हुन्छौँ । त्यहि व्यक्ति हो जसले राजनीति गरेको हुन्छ, सामाजिक सङ्घ संस्थाको नेतृत्व गरेको हुन्छ । राजनीतिक आस्थाका रुपमा यो समाजमा चिनिएको हुन्छ । अनि त्यहि व्यक्ति हो जसले यो समाजका हरेक सङ्घ संस्थालाई प्रतिनिधित्व गरेको हुन्छ । हो म कुनै दलसँग नजिक छु । अनि मेरो मित्र मेघराजजी पनि । त्यसैले गर्दा उहाँ र म प्रतिस्पर्धीका रुपमा अघि आएकाले त्यो अनुभव हुन सक्छ । तर काम गर्ने शिलशिलामा कुनै राजनीति हँुदैन । जसले जिते पनि यहाँको हात्ती समस्याका लागि काम गर्ने हो ।

दुबै प्रत्यासीले जित्न सम्भव हुँदैन, यदि हार्नु भयो भने ?
यो प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा आएपछि एक जनाको जित र अर्काेको हार अवस्य हुन्छ । यो सामान्य प्रक्रिया हो । त्यसैले मतदाताले जसलाई माया गरेर मत दिनु हुन्छ उसैले जित्छ । यदि मलाई माया गरेर जिताउनु भयो भने मेरो प्रतिस्पर्धीका रुपमा रहेका मेघराजजीलाई समेटेर उहाँका पनि भावनालाई कदर गर्दै सँगसँगै काम गर्नेर्छौँ । मेरो पराजय भयो भने पहिले जसरी सँगै रहेर काम गरेको थिए, त्यसरी नै सधै मेरो बलबुताले भ्याएसम्म काम गर्नेछु ।

मतदातालाई केही भन्न छुट्यो कि ?
आम मतदातालाई पहिलो कुरा त मत हाल्नका लागि मतदान स्थल आइदिन आग्रह गर्दछु । मतको अधिकार आफुसँग भएकाले जसले काम गर्न सक्छ भन्ने विश्वास लाग्छ उसैलाई मत दिनु होला । आफ्नो विवेक प्रयोग गरेर यस क्षेत्रको यो दीर्घकालिन समस्यालाई हल गर्नका लागि योग्य उम्मेदवारको छनोट गर्नुहोस् । ताकि आगामी दिनमा यो समस्या बाहुनडाँगीबासीले भोग्नु नपरोस् । हामी बोलीमा भन्दा पनि काममा विश्वास गछौँ । हाम्रो टिममा रहेका सबै साथीहरु योग्य र सक्षम हुनुहुन्छ । यहाँका हरेक समस्यालाई चिन्नु भएको छ । यसैले एक पटक हामीलाई काम गर्ने मौका दिनका लागि मत दिएर विजय गराउनु हुन अनुरोध गर्दछु । साथै लोकतन्त्र पोस्टलाई पनि हाम्रा कुरा बाहिर ल्याउन सहयोग गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: