यस वर्ष सर्वाधिक कमाइ गर्ने सर्वकालिन गैर-हिन्दीभाषी फिल्म बनेर किर्तिमान स्थापित गरेपछि एस एस राजामौली निर्देशित फिल्म ‘बाहुबली’ अन्तराष्ट्रिय ध्यान पनि आफूतिर तान्यो। थुप्रै अन्तराष्ट्रिय संचारमाध्यममा आजसम्मकै बढि लेखिएको भारतीय फिल्म बन्यो।
यसैको नतिजा स्वरूप अन्तराष्ट्रिय वितरकहरुले फिल्म किन्नका लागि तँछाडमछाड गरेका छन्। फिल्मकार एवम् युरोपेली वितरक पियरे एसोलिनले अनुसार पछिल्लो समय युरोपियन वितरकहरु फिल्मको अधिकार किन्नका लागि भिडिरहेका छन्। ल्याटिन अमेरिका र चीनका लागि यसको वितरण अधिकार बेचिसकिएको छ।
एसोलिनले युरोपमा बाहुबलीको माग अत्याधिक रहेको जनाएका छन्। उनले भने, ‘यसअघि कुनै पनि फिल्मको लागि यस्तो माग देखिएको थिएन। कयौं वितरक यसको वितरण अधिकार किन्नका लागि तँछाड मछाड गरिरहेका छन्। भारतीय फिल्मका लागि यो सुखद हो।’
फिल्मको वितरण खरिदमा देखिएको प्रतिष्पर्दालाई इंगित गर्दै उनले थुप्रै भारतीय फिल्म अन्य देशमा प्रदर्शनका लागि योग्य रहेको बताए।