बित्थैमा आक्रमण, ‘२ करोड’ जल्यो

  प्रकाशित मिति
२५ कार्तिक २०७४, शनिबार ०८:१४


विर्तामोड । कात्तिकको दोस्रो साता प्रहरीविरुद्ध आक्रोशित स्थानीयवासीले गरेको आन्दोलनमा ‘सरोकार नै नराख्ने’ सडक विभागको विर्तामोडस्थित यान्त्रिक कार्यालयले ठूलो भौतिक क्षति व्यहोर्नु परेको छ ।
कात्तिक १९ गते शुक्रवार आन्दोलनकारीले विर्तामोडको यान्त्रिक कार्यालयभित्र पसेर जथाभावी आगजनी गर्दा त्यस्तो क्षति भएको हो ।

सो घटनामा आन्दोलनकारीले यान्त्रिक कार्यालयको भवन, बिटुमिन डोजर लगायतका भौतिक सम्पत्तिमा आगजनी गरेका थिए ।

कार्यालयका सिनियर मेकानिक अरुण कुमार देवले आगजनीमा २ करोड भन्दा बढी मूल्य बराबरको क्षति भएको बताएका छन् ।

‘त्यो दिन कर्मचारीहरु विदामा र केही गार्डहरु मात्र ड्युटीमा थिए’, घटना जानकारी गराउँदै सिनियर मेकानिक देब भन्छन्–‘आन्दोलनकारीहरु पर्खाल भत्काएर भित्र पस्नु भएछ र जथाभावी आगो झोस्नु भएको रहेछ ।’

यान्त्रिक कार्यालयले सडक विभाग अन्तर्गत सडक तथा पुलहरुको निर्माणमा यन्त्र उपकरणहरुको सञ्चालन गर्दै आएको छ ।

अर्जुनधाराका बालक लक्ष्मण शिवाकोटीको मृत्युका विषयमा प्रहरीले विश्वसनीय अनुसन्धान नगरेको आरोपमा आन्दोलित भएका स्थानीयवासीहरु सो दिन विर्तामोडमा आम हड्तालसहित आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकारीको निसाना इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय थियो । तर इलाका प्रहरी कार्यालय नजिकै भएको यान्त्रिक कार्यालय समेत आन्दोलनकारीको आगजनीमा बित्थैमा परेको थियो ।

यान्त्रिक कार्यालय वा त्यहाँका कर्मचारीहरु आन्दोलनकारीको पक्ष वा विपक्षमा कतै पनि थिएनन् । तर भीडले प्रहरीमाथि आक्रोश पोख्ने क्रममा यान्त्रिक कार्यालयलाई निसाना बनाउन पुग्यो ।
के के जल्यो ?

कार्यालय भवनका ४ कोठामा आगजनी हुँदा त्यहाँ रहेका ३ थान कम्प्युटर, एक थान प्रिन्टर, २ थान दराज र १२ थान कुर्सीसहित सम्पूर्ण अभिलेख जलेर खरानी भएको छ ।

कार्यालय भवनमा १० लाखको सामान पूर्णरुपमा क्षति भएको मुचुल्का गरिएको कार्यालयले जनाएको छ ।
भवन नजिकै रहेको स्टोर कोठामा समेत आगजनी भएको थियो । त्यहाँ रहेका २ वटा ग्यास सिलिन्डर आगजनीमा विष्फोट भएका थिए । स्टोरमा ४ लाखको क्षति भएको छ ।

कार्यालय परिसरमा पार्किङ गरेर राखिएका को१ग नम्वरको बिटुमिन डोजर, आरडी ०७०–३२ नम्वरको नयाँ जेसीबी, बा१झ ९००७ नम्बरको निसान पिक अप भ्यान, मे१झ ६२ नम्बरको मित्सुविसी पिकअप भ्यान, को१ग ६८ नम्बरको पानी ट्याङ्कर र मे१द १२ नम्बरको ट्याक्टर आन्दोलनकारीले जलाएका छन् ।

आन्दोलनकारीले यान्त्रिक कार्यालयभित्र पस्नका लागि ६५ मिटर लामो पक्की पर्खाल ठेलेर भत्काएका थिए । आगजनी हुन थालेपछि कार्यालयका गार्डहरु ज्यान जोगाउन भागेका थिए ।

बिटुमिन डोजर जलेर काम नलाग्ने भएको र यसबाट २५ लाख रुपैयाँको क्षति भएको बताइएको छ ।
यान्त्रिक कार्यालयले भर्खर २ महिना अघि मात्र खरिद गरेको जेसीबी पनि जलाइएको छ । यसबाट ३५ लाख रुपैयाँको क्षति भएको छ ।

निसान पिकअप जल्दा ५० लाख र मित्सुबिसी जल्दा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पानी ट्याङ्करको पछाडिको मेसिन मात्र जलाइएको हुँदा २ लाख २५ हजार र ट्याक्टरको ७ लाख रुपैयाँ क्षति भएको बताइएको छ ।

रुखमुनि कार्यालय
कार्यालय भवनसँगै सम्पूर्ण सामग्री आगजनीमा परे पछि कार्यालयका कर्मचारीहरु बिलखबन्दमा परेका छन् ।

परिसरको कदम र आँपको रुखमुनि केही टेबल कुर्सी राखेर कार्यालयको रुपमा दैनिक कार्य सञ्चालन गर्न थालिएको छ ।

कार्यालयका कर्मचारीहरुले झोलामा नयाँ कागजपत्र राखेर दराजको काम गर्दै आएका छन् ।
परिसरभित्र रहेको एउटा अलग्गै सानो भवनमा प्रहरी इन्स्पेक्टर डेरा बस्दै आएका छन् । त्यो भवनबाट प्रहरी हटिदिए कार्यालय सञ्चालनमा सहज हुने कर्मचारीहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी जितेन्द्र बस्नेतले इन्स्पेक्टरका लागि नयाँ डेराको खोजी भइरहेका जनाउँदै आगामी ३ दिनभित्र यान्त्रिक कार्यालयको भवन खाली गरिदिने बताएका छन् ।
इन्स्पेक्टरले भवन छाडेपछि त्यहाँ यान्त्रिक कार्यालय सञ्चालन गरिने भएको छ । यान्त्रिकका कर्मचारीहरुले भवन खाली गरिदिन प्रमुख जिल्ला अधिकारीसमेत गुहारेका थिए ।

पूर्वमै एउटा बिटुमिन डोजर
आन्दोलनकारीहरुले जलाएको बिटुमिन डोजर पूर्वमै एक मात्र भएको यान्त्रिक कार्यालयले जनाएको छ ।
‘मुलुकभरिमा ३÷४ वटा मात्र होलान्’, यान्त्रिक कार्यालयका सिनियर मेकानिक अरुणकुमार देव भन्छन्–‘पूर्वाञ्चलमा एउटा मात्र यही एउटा बिटुमिन डोजर थियो ।’
नयाँ बिटुमिन डोजर किन्न अहिलेका बजारभाउमा २ करोड रुपैयाँ लाग्छ । जलेको बिटुमिन डोजरको आगजनी बिमा पनि थिएन ।
निर्माण व्यवसायी गुणराज अधिकारीले मेचीनगरको दुहागढी खण्डमा निर्माणाधीन सडकमा कालोपत्रे गर्ने प्रयोजनका लागि सडक बिभागको यो बिटुमिन डोजर भाडामा ल्याएका थिए ।

डोजरमा आगो लगाइए पछि सो सडकको निर्माण कार्य रोकिएको छ । बिटुमिन डोजरको अभावमा झापाका मात्र नभएर पूर्वाञ्चलका धेरै सडकको निर्माण कार्य अवरुद्ध भएको छ ।

इटहरीको सडक कार्यालयमा डोजर राखिने गरेको थियो । निर्माण व्यवसायी अधिकारीले इटहरीबाट भाडाको शर्तमा त्यसलाई झापामा ल्याएका हुन् ।

२०६२÷०६३ सालको जनान्दोलन र माओबादीको दश बर्षे सशस्त्र आन्दोलनका बेला समेत यान्त्रिक कार्यालय यसरी निसानामा परेको थिएन ।

बालक हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासीको निसानामा यान्त्रिक कार्यालय नपर्नु पर्ने हो । तर किन यान्त्रिक कार्यालय आक्रमणको शिकार बन्न पुग्यो भन्ने विषय अहिले पनि रहस्यमय नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: