बित्थैमा १०७ दिन थुना

  प्रकाशित मिति
१४ बैशाख २०७३, मंगलवार ०३:२६


विशाल साँवा लिम्वु (पहिलो तस्वीर) र उनका वुवा रामकुमार ।
विशाल साँवा लिम्वु (पहिलो तस्वीर) र उनका वुवा रामकुमार ।

शान्तिनगर । ‘कयौँ अपराधी छुटुन्, तर एउटा पनि निर्दोष व्यक्तिले सजाय नपाओस् !’ प्रहरीको अनुसन्धानमा यो भनाइ निकै प्रचलित छ । भनिएको ठिकै पनि हो– किनकि आज भागेको अपराधी भोलि पव्रmाउ पर्न सक्छ, तर निर्दोषले सजाय भोग्नु पर्यो भने त्यो भन्दा बिडम्वना अर्को हुँदैन ।

तर भनिने र गरिने कुरा अर्कै हुँदोरहेछ । झापाको शान्तिनगर–१ मङ्गलवारे गाउँका १७ वर्षीय विशाल साँवा लिम्वुले चोरीको झुठो अभियोगमा १ सय ७ दिन थुनामा बिताउनु परेको छ ।

उनले ७८ दिन झापा कारागारमा पुर्पक्षका लागि थुनामा बस्नु पर्यो भने बुधवारे प्रहरी चौकीमा २ दिन र काँकरभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतमा २७ दिन बिताउनु पर्यो ।

झापा जिल्ला अदालतले लामो सुनुवाई पश्चात उनी निर्दोष रहेको भन्दै यही बैशाख ७ गते मङ्गलवार सम्मानका साथ रिहाइ गरेको छ । उनलाई झुठा मुद्दा लगाउने उनकै छिमेकी सुकमाया थाम्सुहाङलाई अदालतले ३ हजार जरिवाना र ५ हजार रुपैयाँ क्षतिपूर्ति समेत तिराउने फैसला सुनाएको छ ।

निर्दोष सावित भएसँगै क्षतिपूर्ति समेत पाउँदा एकातिरबाट सोच्ने हो भने विशाललाई अदालतले न्याय दिएको अनुभूति हुन्छ । तर प्रश्न उठ्छ–गर्दै नगरेको अपराधमा फँसाउन मुद्दा दर्ता गराउने सुकमाया मात्रै दोषी हुन् कि उनलाई सकेसम्म जेलमा पठाउन गलत अनुसन्धान गर्ने प्रहरी पनि उत्तिकै दोषी छ ?

अदालतले झुठो मुद्दा दर्ता गर्ने सुकमायालाई जरिवाना र क्षतिपूर्ति तिराएको छ । तर यसमा गलत अनुसन्धान गरेर एउटा कलिलो युवालाई ७८ दिन थुनामा बस्न बाध्य बनाउने अनुसन्धानमा संलग्न प्रहरीहरू चाहिँ दण्डित हुनु पर्दैन ? यो प्रश्न अब न्यायालयभित्र मात्र होइन, आम वहसको विषय बन्नु पर्छ । कि प्रहरी अनुुसन्धानको काम भनेको अभियोगको जाहेरी जे जस्तो परे पनि त्यसलाई सावित गराउने मात्रै हो ? के प्रहरीले अनुसन्धानबाट साँचो र झुठो छुट्याउन सक्दैन ?

घटना यस्तो थियो
रामकुमार लिम्बु र सुमित्रा लिम्बुका जेठो छोरा विशाल साँवा लिम्बु साधारण युवा हुन् । कक्षा १० पास नगरेपछि उनी घरमै थिए । घर सल्लाह अनुसार उनी बैदेशिक रोजगारीमा जान तम्तयारीमा थिए ।

छिमेकमा एक व्यक्तिले दोस्रो पत्नी भित्र्याएका थिए । तिनकै नाम हो सुकमाया थाम्सुहाङ । सुकमायाले छिमेकी दिदीको घरमा मोवाइल बिर्सिछिन् । त्यो मोवायल विशालले भेटेर छिमेकी दिदीलाई देखाए । व्याट्री सकिएकाले त्यसलाई खोल्न दिदीकै सल्लाहमा चार्जमा राखियो । व्याट्री चार्जमा राखेपछि खोल्दा त्यहाँ सुकमायाको फोटो देखियो । सोधीखोजी गर्दा मोवाइल सुकमायाकै भएको पत्तो भयो ।

भएको यति नै थियो । सुकमायाका पतिले मोवायल चोरी भएको आरोप लगाए । त्यति मात्र होइन, घरबाट राति ४ थान चाँदीका चुरा, अढाइ तोला सुनका गहना, १६ हजार रुपैयाँ नगद र केही विदेशी मुद्रा चोरी भएको सुकमायाका पतिले आरोप थपे । चोरी गर्नेमा विशाललाई शङ्का गरे उनीहरूले । गाउँमा समाज बस्यो, विशालले इन्कार गर्दागर्दै पनि मोवाइल फेला पारेको निहुँमा उनीमाथि आरोप खन्याइयो ।
प्रहरी बोलाइयो र विशाललाई पव्रmेर बुझाइयो ।

प्रहरीले सुरु गर्यो यातना
शान्तिनगरस्थित घरबाट मोटरसाइकलमा हालेर बुधवारे प्रहरी चौकीमा पुर्याएपछि प्रहरीले विशाललाई २ रात यातनापूर्वक हिरासतमा राख्यो ।

‘चोरेको हुँ भन्, नत्र करेन्ट लगाउँछु भन्दै पुलिसले मलाई रातभर पिट्थ्यो’, विशालले बुधवारे चौकीमा पाएको प्रहरी यातना बारे बताए–‘खानेपानीको पाइप र काठका डण्ठाले पैतालामा कुटेर हो हो भन्न लगायो ।’

त्यसपछि उनलाई चारआली प्रहरी चौकीमा लगियो । २ घण्टा जति राखेर सीधै काँकरभिट्टा इलाका प्रहरी कार्यालय पुर्याइयो । इप्रकाको हिरासतमा उनले २७ दिन विताए ।

‘त्यहाँ त झन् हात टेकेर भित्तामा खुट्टा ठाडो पार्न लगाउँथ्यो’, अभियोग सकार्न प्रहरीले दिएको शारीरिक यातना बारे विशाल भन्छन्–‘टायरबाट बनाइएको पन्जाले झ्याम् कि झ्याम दिउँसै पिट्थ्यो ।’ हिरासतमा छँदा प्रहरीले लगाएको अभियोग स्वीकारेपछि मात्र कुट्न छाडेको विशालको भनाइ छ ।

साँचो डगेन, झुठो टिकेन
सुकमायाले चोरी भएको भन्दै दिएको उजुरी झुठो थियो भन्ने विशाल र विशालको परिवारलाई थाहा थियो । प्रहरीलाई अनेकौँ विन्ती गर्दा पनि उसले पत्याएन ।

विशालका बुवा रामकुमार लिम्बुका अनुसार एक दिन गाउँकी एउटी दिदी जङ्गलमा घाँस काट्न गएकी थिइन् । उनका साथीले खैनी मागेपछि उनले पटुका फुकाउँदा ४ थान चाँदीका चुरा भुइँमा छरिएछन् । विशालले चोरी गरेको भनिएका ती चुरा त्यसरी अचानक फेला परेका थिए ।

खासमा कुरो के रहेछ भने सुकमायाको परिवारले नै चुरा बेचिदिन दिदीलाई दिएका दिएको रहेछ । घरमा चुरा फेला पर्यो भने चोरी भएको ठहर्दैन भन्ने सोचेर बेच्ने सल्लाह भए बमोजिम सुकमायाको परिवारले गाउँकै दिदीलाई बेचिदिन चुरा दिएका रहेछन् । खैनी खोज्दा पटुकाबाट चुरा झरेका थिए । चुरा भेटिएको कुरा गाउँभरि सनसनी फैलियो ।

अनि बस्यो समाज र सुकमायालाई किन चुरा चोरी भएको भनेर प्रश्न गर्यो । सुकमायाको परिवार नाजवाफ भए । त्यसपछि चोरी भएको सुन पनि घरमै फेला पर्यो । चोरी भएकै थिएन । न त नगद र विदेशी मुद्रा नै चोरी भएको थियो । त्यो त विशाललाई फँसाउन आरोप लगाइएको मात्र थियो ।

गाउँलेले साँचो पत्ता लगाए पछि सुकमायाको परिवारले झुठो आरोप लगाएको स्वीकार गर्यो र अदालतमा गएर आफ्नो पुरानो वयान फेर्यो ।

जेलभित्र पनि यातना
विशाललाई २०७२ पुुस १९ गते पुर्पक्षका लागि झापा कारागारमा थुनामा पठाइएको थियो भने उनी २०७३ बैशाख ७ गते अदालतले निर्दोष ठहर्याएपछि मात्र रिहा भए ।

प्रहरीको थुनामा रहँदा शारीरिक र मानसिक यातना भोगेका विशालले कारागार भन्ने त्यस अघि कहिल्यै देखेका थिएनन् । उनलाई साँझ ५ बजेतिर कारागार चलान गरिएको थियो । कारागार पुगेको पहिलो दिन पनि उनले शारीरिक यातना भोग्नु परेको बताए ।

‘नाइकेले चोरी गरेर आइस् भन्दै फेरि पिट्यो’–विशालले कारागार पुर्याइएकै दिनको व्यथा सुनाए ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले गत बैशाख ७ गते विशाललाई निर्दोष ठहर गर्दै फैसला सुनाएपछि मात्र उनी कारागारबाट मुक्त भएका हुन् ।
………………….
क्याप्सन ः
आफ्नै घरमा लोकतन्त्र पोस्टका लागि कुराकानी गर्दै विशाल साँवा लिम्वु (पहिलो तस्वीर) र उनका वुवा रामकुमार ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: