इटाभट्टा । मेची दिव्यज्योति आँखा अस्पतालले आँखाका रोगीका लागि निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
दिव्यज्योतिले मङ्गलवारदेखि सात दिनसम्म शिविर सञ्चालन गरेर आँखाका रोगीहरुको निःशुल्क शल्यक्रिया गरिदिने जनाएको हो ।
शिविरको उद्घाटनमा मेचीनगर–१४ की ८१ बर्षीया शान्ता गुरुङको आँखाको शल्याक्रिया गरिएको थियो ।
उनी लामो समयदेखि मोतियाविन्दूको रोगी थिइन् । आफ्नै आँगनमा खुलेको अस्पतालले निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिदिएपछि गुरुङले खुशी व्यक्त गरिन् ।
‘थुप्रै भएको थियो आँखा नदेखेको, डाक्टरले २ बर्षअघि नै मोती विन्दू भएको छ अपरेसन गर्नुपर्छ भन्नु भएको थियो तर मसँगै पैसा थिएन’, उनले अस्पताल परिवारलाई धन्यवाद दिँदै भनिन्–‘आज मेची दिव्यज्योति आँखा अस्पतालले निःशुल्क गरिदियो, ज्यादै खुशी लागेको छ ।’
आफन्त समेत नभएकी गुरुङका दुवै आँखामा मोतिया विन्दू भएको नेत्र चिकित्सक डा. शङ्कर खनालले बताए ।
उनी मात्र होइन मेचीनगर–१३ की भद्रीमाया मुखिया पनि उस्तै खुशी थिइन् । उनको पनि शान्ताको भन्दा फरक अवस्था थिएन । शान्तसँगै मुखियाको पनि मोतियाविन्दूको मङ्गलबारै अपरेसन भएको छ ।
अस्पतालले एकै दिन ५० जना भन्दा बढी आँखाको रोगीको समेत निःशुल्क चेकजाँच गरेको छ । अस्पतालमा विहानैदेखि आँखाको रोगीको भीड लागेको थियो ।
अस्पतालले पैसा नभएर उपचार गराउन नसक्ने आमा बुबाहरुलाई विशेष लक्षित गरेर कार्यक्रमको आयोजना गरेको अस्पतालकी सञ्चालक सदस्य गीता खड्काले बताइन् ।
उनले ग्रामीण क्षेत्रमा रहेर टाढाको अस्पतालमा पहुँच पुग्न नसकेका बासिन्दालाई मध्यनजर गरेर इटाभट्टामा पहिलोपटक आँखा अस्पताल खोलेको बताइन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)