झापा । दुई वर्षअघि ४० हजार रुपैयाँ कृषि कर्ममा लगानी गरेका झापाको गरामनीका दुई युवकले चालीस लाख रुपैयाँ आम्दानी गर्न सफल भए भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो ।
विसं २०७० सालमा पाथीभरा बायोप्लान्ट टेक नामक संस्था दर्ता गरी बागवानीमा इच्छुक कृषकका लागि करेसाबारीमा लगाउने बिरुवा उत्पादन गर्ने काम सुरु गर्नुभएका गरामनी–८ निवासी रोहित र शिव ओलीले बिरुवा बेचेर दुई वर्षमा रु ४० लाख आम्दानी गर्न सफल भएका हुन् ।
बेरोजगार स्थानीय युवालाई रोजगारीसमेत दिलाउने मुख्य उद्देश्यसहित उन्नत जातका बिरुवाको नर्सरी लगाउन सुरु गरेका उनीहरुले अहिले २७ जनालाई रोजगारी दिएका छन् । दुई दाजुभाइले सुरु गरेको नर्सरीबाट कागती, कटहर, आँप, अनार, सुपारी, रक्तचन्दन, श्रीखण्ड, बर्मेली टीकलगायतका उन्नत जातका बिरुवा उत्पादन भई बिक्री वितरण हुने गरेको स्थानीयवासीको भनाइ छ ।
ओली दाजुभाइले उत्पादन गरेका बिरुवाको मुख्य वजार झापासहित पूर्वी पहाडी जिल्ला इलाम र मोरङका विभिन्न बजार रहेको स्थानीयवासी दीक्षा आचार्यले बताए । उनले भने –‘पाथीभरा बायोप्लान्ट टेकले उत्पादन गरेका बिरुवा वर्षेनी ४० हजार रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ ।’
रासायनिक मलको प्रयोगले कृषि क्षेत्रको उत्पादनमा ह्रास आइरहेको कृषकको गुनासो बढिरहेको समयमा आपूmले गड्यौले मलको प्रयोग गरेर बिरुवा उत्पादन गर्ने गरेको फार्मका सञ्चालक शिवको भनाइ छ । उत्पादित बिरुवालाई रोगबाट बचाउन सिओसी गरेर भिटामिन र औषधि प्रयोग गर्ने गरेका शिवले बताउनुभयो । छोटो समयमा ओली दाजुभाइले राम्रो आम्दानी गर्न सफल भएको भन्दै जिल्ला वन कार्यालय झापाले समेत अघिल्लो आर्थिक वर्षमा ३० हजार रुपैयाँ अनुदान सहयोग गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले बताए ।
वन कार्यालयले आपूmले लगाएको नर्सरी देखेर गरेको सहयोगले आफूहरुलाई नर्सरीलाई अझ व्यवस्थित बनाउन थप प्रोत्साहन मिलेको फार्मका अर्का सञ्चालक रोहितले बताए ।