बिर्ताबजार । शारीरिक सुगठन, व्यक्तित्व विकासका साथै आत्मरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त सितोरियो कराँतेको प्रशिक्षण केन्द्र बिर्ता बजारमा स्थापना गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक दुर्गा निरौलाको सव्रिmयतामा बिर्ताबजार क्षेत्रमा छिट्टै स्थायी प्रशिक्षण केन्द्र स्थापना गर्ने तयारी सुरु भएको छ । हाल महेन्द्ररत्न उच्च माविको प्राङ्गणमा स्थानीय बालबालिका भेला गरेर उनले तालिम दिइरहेका छन्, जसलाई परिषद्कै प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने उनको उद्देश्य छ ।
‘स्थानीयको सहयोग पाएमा चाँडै बिर्ताबाजारमा सितोरियो कराँतेको प्रशिक्षण केन्द्र सञ्चालन गर्न सकिन्छ, म त्यसको तयारीमा जुटेको छु’, निरौलाले भने । करिब डेढ महिनाको अवधिमा ८० जना बालबालिकाले प्रशिक्षार्थी बन्ने इच्छा राखेको र ती मध्ये ६० जनाले नियमित तालिम लिइरहेका निरौलाले सुनाए ।
अहिले ८ देखि २० वर्षसम्मका बालबालिकाहरुले एकै ठाउँमा नियमित तालिम लिइरहेको बताउँदै निरौलाले डोजोको औपचारिक उद्घाटनसँगै खेलाडीहरुको ग्रेडिङ्ग गरेर पहिले सिकेकाहरु, उमेर आदिका आधारमा वर्गीकरण गर्ने लक्ष्य रहेको बताए ।
तालिममा सहभागी खेलाडीहरुलाई समय समयमा बेल्ट टेस्ट गराउने, खेलकुद सम्बन्धी सेमिनार गर्ने, किट्स वितरण गर्ने, अरु डोजोहरुमा लगेर वा अरुलाई यहाँ बोलाएर मैत्रीपूर्ण खेल खेलाउनेजस्ता गतिविधिमार्फत् बालबालिकाको आकर्षण गरिने योजना बनाएको निरौलाले सुनाए ।