बिर्तामोडका दुई वडा खुल्ला दिसामुक्त

  प्रकाशित मिति
२७ फाल्गुन २०७४, आईतवार १७:१८


बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुई वडा खुल्ला दिसामुक्त घोषणा भएका छन् । वडा नं. १ र ५ लाई आइतबार खुल्ला दिसामुक्त घोषणा गरिएको हो । यसैगरी वडा नं. २ लाई सोमबार खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी रहेको छ ।

१ हजार ७ सय ४३ घरधुरी रहेको बिर्तामोड नगरपालिका, वडा नं. १ मा खुल्ला दिसामुक्त अभियानको क्रममा १ सय ६७ घरमा चर्पी बनाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । २ हजार १ सय २७ घरधुरी रहेको बिर्तामोड–२ मा ३ सय १४ घरधुरीमा शौचालय थिएन भने २ हजार ९ सय घरधुरी रहेको वडा नं. ५ मा अभियानको क्रममा १ सय ६५ घरमा शौचालय निर्माण गरिएको हो ।

आइतबार बिर्तामोड नगरपालिका, वडा नं. ५ मा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले वडा नं. ५ लाई खुल्ला दिसामुक्त घोषणा गरे ।

आइतबार नै वडा नं. १ मा आयोजना गरिएको कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले वडालाई खुल्ला दिसामुक्त भएको घोषणा गरे ।

वडा नं. ५ मा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले विर्तामोड लगायत सम्पूर्ण स्थानीय तहहरुलाई चैत्र १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्न निर्देशन दिए । यसअघि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति सारिरहेको स्मरण गर्दै उनले भने, “जिल्लाको इज्जत र समृद्धिको सवाल छ । यसै वर्षभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरी नयाँ वर्षदेखि समृद्धिको दोस्रो चरणको यात्रामा लाग्नुपर्ने छ ।”

पूर्व सांसद नरेश खरेलले नगरपालिकालाई दिगो सरसफाइको यात्रामा लैजानुपर्ने र सार्वजनिक क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बताए ।
खुल्लामा दिसा गर्नेको फोटो खिचेर ल्याएमा फोटो ल्याउनेलाई पुरस्कृत गर्ने र खुल्लामा दिसा गर्नेलाई कारवाही गर्ने तयारी गरेको जानकारी दिंदै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुुवकुमार सिवाकोटीले पूर्ण सरसफाइ अभियानलाई नगरपालिकाले निरन्तरता दिने बताए । कृषि थोक बजारमा रहेको ४ विघा जमिनलाई बढाएर १२ विघा बनाउने र पार्किङ र बालबालिकाका लागि सार्वजनिक उद्यान समेत बनाउने रहेको जानकारी दिए ।
नगर कार्यपालिकाको पहिलो बैठकले नगरपालिकालाई पाँच वर्षभित्र विषादीमुक्त र प्रदूषणमुक्त बनाउने योजना पारित गरेको स्मरण गर्दै नगर प्रमुख सिवाकोटीले मोटर ग्यारेजहरुलाई प्रदूषणमुक्त बनाउन नियमन गरिने समेत बताए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोदप्रसाद शर्माले पूर्ण सरसफाइ कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

वडा नं. ५ का अधयक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट पार्वता विमली, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रुद्रबहादुर न्यौपाने, बिर्तामोड–१ का अध्यक्ष अग्नी पाण्डे लगायतले वडा खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएकोमा बधाइ तथा पूर्ण सरसफाइका लागि शुभकामना व्यक्त गरेका थिए ।

वडा नं. १ मा आयोजना गरिएको घोषणा समारोहमा नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रुद्रबहादुर न्यौपाने, चारपाने गाविसका पूर्व अध्यक्ष प्रेमप्रसाद सिटौला, सरसफाइ समितिका डम्बर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: