बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिषादीमुक्त सहर बनाउनेदेखि गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि महिलालाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने योजना ल्याएका छन् ।
प्रथम नगर परिषद भेलामा मेयर ध्रुवकुमार शिवाकोटीले आगामी आवका लागि ७३ करोड ४६ लाख ३० हजार ४ सय ६१ रुपैयाँको बजेट प्रस्तुत गरे । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार केही महत्वकांक्षी तथा दीर्घकालीन योजना तय गरिएको छ ।
जस अन्तर्गत अब बिर्तामोड क्षेत्रमा नक्सा पास गरी घर निर्माण गर्दा घर परिसरमा २ वटा बिरुवा अनिवार्य रोप्नु पर्नेछ । नयाँ कार्यक्रमको रुपमा नगर प्रमुखले बिषादीमुक्त अभियान पनि ल्याएका छन् । शिवाकोटीले नगरलाई बिषादीमुक्त बनाउने अभियान यस कार्यक्रमभित्र समेटिएको उल्लेख गरेका छन् ।
यसका लागि मासु, डेरी, भेटनरी औषधि पसलको अनुगमन तथा पशु आहार अन्तर्गत डाले घाँसको रोपणलाई प्राथमिकता दिने नीति रहेको बताए । उनका अनुसार वनस्पति बिषादी उत्पादनदेखि किसानलाई ड्रम, ग्रीन टनेल, निमको बिरुवा वितरण गरिनेछ ।
त्यसैगरी, गड्यौला मल उत्पादन तालिम, हरियो मल बीउ वितरण पनि गरिनेछ । नीति तथा कार्यक्रम अनुसार मुक्ति चोक वरिपरिको भागलाई हरियाली पार्कको रुपमा विकास गरिनेछ भने वडा नं १, २, ३, ४ र ५ लाई सहरी क्षेत्रको रुपमा र २ नं को दक्षिणी भागलाई औद्योगिक र ६ नं को बुट्टाबारीमा अटोल्यान्ड बनाउने सम्मका योजना समेटिएका छन् ।
अदुवा खोला लगायतको विपद् व्यवस्थापनका लागि ६८ लाख रुपैयाँ रकम विनियोजन गरिएको बजेट विवरणमा उल्लेख छ ।
साथै, फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइडको व्यवस्थादेखि नगर क्षेत्रमा रहेका सामुदायिक बन, पार्क र पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यक्रममा छ ।
नगरको आव ०७४÷०७५ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रममा उपमेयर पवित्रा महतारा प्रसाईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
जसमा आन्तरिक तथा बाह्रय आम्दानीको विवरण समेटिएको बिर्तामोड नगरका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।