झापा, ८ असार । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले पुष्टि गरेका छन् ।
बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।
दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरेका थिए भने बिर्तामोडका एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारी समेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।
वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ ।
नगर उपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई एक महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।