बीएन्डसीमा मंसिरदेखि डाक्टरी पढाइ हुने

  प्रकाशित मिति
६ श्रावण २०७६, सोमबार ०८:४५


विर्तामोड । बीएन्डसी टिचिङ हस्पिटलले यही वर्षको मंसिरदेखि डाक्टर (एमबीबीएस) विषयको पठनपाठन सुरु गर्ने भएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एमबीबीएस पठनपाठनका लागि मेचीनगर-१२  धाइजनस्थित बेसिक साइन्स भवनमा आवश्यक पूर्वाधार थप्ने र व्यवस्थापन मिलाउने काम सुरु भइसकेको बताएका छन् ।

‘सबै तारतम्य मिलाइरहेका छौं, अब एमबीबीएसका विद्यार्थीहरु मङ्सिरदेखि पढ्न थाल्नेछन्’, प्रसाई भन्छन्–‘झापामा मेडिकल शिक्षा सुरु गर्ने हाम्रो सपना अब साकार हुने दिन आइपुगेको छ ।’
उनले सुरुको वर्ष एक सय जना विद्यार्थीले बीएन्डसीमा एमबीबीएस पढ्ने जानकारी दिए ।

प्राडा उप्रेती नयाँ प्रिन्सिपल नियुक्त

बीएन्डसीलाई त्रिभुवन विश्वविद्यालयबाटै मेडिकल कलेजको सम्बन्धन प्राप्त हुने उनले सङ्केत गरे ।
डाक्टरी विषयको पठनपाठनकै लागि बीएन्डसी टिचिङ हस्पिटलले प्रा.डा. रामप्रसाद उप्रेतीलाई आइतवार प्रिन्सिपल नियुक्त गरेको छ ।

विर्तामोड–२ घर भएका प्राडा उप्रेती काठमाडौंस्थित महाराजगञ्ज टिचिङ हस्पिटलमा ४५ वर्षदेखि कार्यरत अनुभवी एवम् सिनियर प्रोफेसर हुन् ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष इन्दिरा गिरी, हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुली, हस्पिटलका मेनेजमेन्ट टिमका प्रमुख प्राडा गेहनाथ बराल, हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीसहित कार्यरत चिकित्सकहरुको बाक्लो उपस्थितिमा नवनियुक्त प्रिन्सिपल उप्रेतीले आइतवार नै कार्यभार सम्हालेका छन् ।

नेपालको चिकित्सा जगतका हस्ती एवम् त्रिभुवन विश्वविद्यालयको चिकित्सा विभागको सबै उच्च पदहरु सम्हालिसकेका उप्रेतीलाई मेडिकल कलेज सञ्चालनका लागि नै बीएन्डसीमा ल्याइएको बताइएको छ ।

उप्रेती तेह्रथुममा जन्मेका र झापाको घैलाडुब्बामा वत्र्तमान प्रधानमन्त्री केपी ओलीसँगै पढेका व्यक्ति हुन् । उप्रेतीको राजनीतिक निकटता समेत ओलीसँग मिल्छ ।

उप्रेतीलाई प्रिन्सिपलको नियुक्ति दिएसँगै आइतवार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब बीएन्डसी हस्पिटल सञ्चालनको सम्पूर्ण जिम्मेवारी (प्राडा उप्रेतीतिर सङ्केत गर्दै) डाक्टरहरुले लिने घोषणा गरे ।

‘मुलुकको होनहार प्रतिभाशाली प्रोफेसर डाक्टर रामप्रसाद उप्रेतीलाई प्रिन्सिपलको रुपमा ल्याउन पाउँदा आज ज्यादै हर्ष लागिरहेको छ’, पत्रकार सम्मेलनमा प्रसाईले भने–‘अब मैले भारी बिसाउने ठाउँ पाएको छु ।’

जागिर खान होइन, इतिहास बनाउन आएको हुँ

पत्रकार सम्मेलनमा अलि भावुक बनेका प्राडा उप्रेतीले बीएन्डसी नेपालकै सबैभन्दा राम्रो र आधुनिक पूर्वाधारयुक्त हस्पिटल भएको बताउँदै आफु यहाँ जागिर खान नभई इतिहासमा नाम लेखाउने गरी सेवा गर्न आएको सुनाए ।

बीएन्डसीलाई नेपालको नम्बर एक मेडिकल कलेज बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफुसँग बीएन्डसी हस्पिटलको प्रतिष्ठा, सेवाको गुणस्तर र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने दर्जनौं योजना भएको बताए ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध भएको प्रसङ्ग समेत उनले पत्रकार सम्मेलनमा लुकाउन चाहेनन् । ‘म प्रिन्सिपल भएर बीएन्डसी हस्पिटल आएको खबर सुनेर पीएम निकै खुशी हुनुभएको छ’–उप्रेतीले भने ।

उनले विर्तामोडमा रहेका अरु हस्पिटलसँगको सम्बन्ध राम्रो बनाउने, चिकित्सकहरुको मनोबल उच्च बनाउने, सञ्चालकहरुले हस्तक्षेप गर्नु नपर्ने गरी व्यवस्थापन र चिकित्सकविचको सहकार्य प्रभावकारी बनाउने, मिडियासँग असल साथीको नाता गाँस्ने, विरामीले हस्पिटललाई मन्दिर ठानेर माया गर्ने अवस्था सिर्जना गर्ने आफ्नो योजना रहेको सुनाएका छन् ।

उनले आफुले आजसम्म पाएको सयौं गोल्डमेडल भन्दा बीएन्डसीमा पाएको प्रिन्सिपलको जिम्मेवारी बढी प्रिय भएको सुनाउँदै प्राडा उप्रेतीले भने–‘हेर्दै जानुहोस् अब बीएन्डसी आज भोलि पर्सी गर्दै नयाँ सफलताको यात्रामा अघि बढ्छ बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: