‘बीएन्डसीले हाम्रो ज्यान बचाएको हो, बन्धक बनाएको होइन’

  प्रकाशित मिति
१७ भाद्र २०७८, बिहीबार १९:२४


विर्तामोड, १७ भदौ । जुन अस्पतालले घाइतेको उपचार गरेर ज्यान बचायो, उसैले बन्धक बनायो भनेर अफवाह फैलाइएको छ । यो अफवाहको शिकार बनेको छ विर्तामोडको बीएन्डसी हस्पिटल । घटना अनुसार २०७७ फागुन १९ गते कनकाईको सुरुंगामा डरलाग्दो दुर्घटना भएको थियो । एउटा ठूलो ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिदा कारमा रहेका दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पत्ति घाइते भएर मृत्युको मुखमा पुगेका थिए ।

प्रहरीले घाइते भएका शिवसताक्षी–२ का यामबहादुर श्रेष्ठ र उनकी पत्नी सनम श्रेष्ठलाई उपचारका लागि बीएन्डसी हस्पिटल पुर्याएको थियो । लामो अवधिसम्मको उपचारपछि श्रेष्ठ दम्पत्तिको ज्यान बचेको छ ।

तर, राजधानीको एउटा मिडियाले उपचार खर्च तिर्न नसक्दा बिरामीलाई अस्पतालले बन्धक बनाएको भनी समाचार फैलाइदियो । आज श्रेष्ठ दम्पत्तिले अस्पतालमै पत्रकार सम्मेलन गरी आफुहरु बन्धक नभएको जनाउँदै बीएन्डसीलाई बद्नाम गराउने चलखेलमा मिडिया समेत सामेल भएकोमा दुःख व्यक्त गरे ।

अस्पतालले उपचार र हेरचाहमा आफुले सोचेभन्दा बढी सद्भाव राखेर सहयोग पुर्याइरहेको अवस्थामा एक्कासी ‘बन्धक बनाइएको भनेर समाचार आउँदा नराम्रो लागेको’ घाइते यामबहादुर श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा यामबहादुर र उनकी पत्नी सनम श्रेष्ठ ह्वीलचियरमै उपस्थित थिए ।

पत्रकारहरुको बाक्लो उपस्थितिमा उनले आफुले भन्दै नभनेको कुरा मिडियामा आएको समेत गुनासो गरे ।

अस्पतालले बन्धक बनाएको भनेर आफुलाई नै उद्धृत गरिएकोमा आश्चर्य व्यक्त गर्दै उनले भने–‘मैले कसैसँग त्यस्तो भनेकै छैन ।’

खेमबहादुर श्रेष्ठ ।

आफ्नो दाजु र भाउजुको ज्यान बचाउने बीएन्डसीलाई बद्नाम गराउँदै मिडियामा समाचार आउँदा ज्यादै नराम्रो लागेको घाइते यामबहादुरका भाइ खेमबहादुर श्रेष्ठले बताए । उनको भनाई छ–‘हस्पिटलले बन्धक बनाएको होइन, मेरो दाजुभाउजुको जीवन बचाएको पो हो त ।’

मिडियाले मार्सी चामलको भात खाएको असान्दर्भिक फोटो राखेर समाचार प्रकाशित गरी घाइते र मानवीय पक्षको सम्वेदनशीलताको ख्यालै नगरी राजनीति गरेको उनको आरोप थियो ।

‘समाचार लेख्दा घाइतेको फोटो पो राख्नुपथ्र्यो,’ उनले पत्रकार सम्मेलनमा भने–‘केपी ओली र मार्सी भात खाएको फोटो राखेर मिडियाले के गर्न खोज्या हो ? जसले दुर्घटना गराएर मेरो दाजुभाउजुको यो हालत गरायो, उसलाई उपचार खर्च व्यहोर्न दवाव दिने समाचार आइदिएको भए हामीमाथि न्याय हुन्थ्यो ।’

घाइते दम्पत्ति ६ महिनादेखि उपचारको क्रममा अस्पतालमै रहेका छन् । बीएन्डसीले ट्रक सञ्चालक पक्षबाट उपचार खर्च नव्यहोरेको अवस्थामा कुनै गुनासो बेगर उपचार र हेरचाह गरिरहेको घाइते श्रेष्ठका आफन्तहरुको भनाई छ ।

उपचारमा सहयोग गरिरहेको अस्पताललाई लाञ्छना लगाउँदै मिडियामा समाचार आएकोले घाइतेका आफन्तहरु दुःखी भएको मामा कृष्णकुमार राईले बताए ।

कृष्णकुमार राई ।

‘हामीसँग उपचारका लागि तिर्ने आर्थिक क्षमता थिएन, ट्रकवाला सम्पर्कमै आएको छैन, तैपनि बीएन्डसीले कहिल्यै उपचार रोकेन’, राईले भने–‘हामी आफ्नै राजीखुशी र सल्लाहले ट्रक पक्षलाई उपचार खर्च तिराउन दवाव दिनका लागि अस्पतालमा बसेका हौं, यस्तो यथार्थ नबुझी मिडियाले बन्धक बनाएको भनेर हावादारी समाचार बनाउँदा मिडियाको विश्वसनीयतामा समेत प्रश्न उब्जिएको छ ।’

ट्रक सञ्चालक नविन रिजाल नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालको नातेदार भएको र त्यही आडमा उपचार खर्च तिर्न अटेर गरेको हुनसक्ने पीडित पक्षलाई शंका छ ।

दुर्घटना भएपछि सुरुमा नविन रिजालले अस्पतालमा उपचारका लागि दुई लाख रुपैयाँ जम्मा गरिदिएको र त्यसपछि सम्पर्कमै नआएको घाइतेका भाइ खेमबहादुर श्रेष्ठले बताए ।

पीडित पक्षले जिल्ला प्रशासन कार्यालय झापामा उपचारको रकम र भरणपोषणका लागि क्षतिपूर्ति रकम तिराइपाउँ भनी उजुरी दिएको छ ।

यो मुद्दा अहिले प्रशासनमा विचाराधीन छ । छिटै नै प्रशासनले निर्णय दिने आशा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: