‘बीएन्डसी समूह’कै लगानीमा नेपालकै ठूलो क्यान्सर अस्पताल

  प्रकाशित मिति
१० पुष २०७६, बिहीबार १७:१०


अस्पतालका सञ्चालक दुर्गा प्रसाई र मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव 

।। अर्जुन कार्की ।।
विर्तामोड । बीएन्डसी समूहको लगानीमा झापाको विर्तामोडमा नेपालकै ठूलो पूर्वाधार र अत्याधुनिक प्रविधियुक्त क्यान्सर हस्पिटल निर्माण भएको छ ।

उक्त हस्पिटलको नाम पूर्वाञ्चल क्यान्सर अस्पताल राखिएको छ । विर्तामोड–५ स्थित बीएन्डसी हस्पिटलकै छेउमा रहेको सो क्यान्सर हस्पिटल ३०० बेड क्षमताको छ । भवन नौ तलाको छ ।

यही पुस १६ अर्थात अङ्ग्रेजी सम्बत् २०२० को पहिलो दिन जनवरी १ तारिखदेखि अस्पतालको सेवा सुरु हुने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

‘उच्चस्तरीय पूर्वाधार र नवीनतम् प्रविधियुक्त उपचार सेवा’ भन्ने नारासहित सुरु हुन लागेको सो अस्पतालमा कार्यकारी निर्देशक प्रसाईसहित बीएन्डसी सञ्चालक समूहको ४ अर्ब रुपैयाँ लगानी रहेको छ । यो अस्पताल क्यान्सरको उपचार गर्ने नेपालको सबैभन्दा ठूलो पूर्वाधारयुक्त र दक्षिण एसियाकै उत्कृष्टमध्ये एक भएको सञ्चालक प्रसाईको दावी छ ।

‘नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई एउटा संसारकै उत्कृष्ट अस्पताल बनाएर उपहार दिन पाउँदा खुशी लागिरहेको छ’, कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलनमा भने–‘यो हस्पिटल मेडिकल टुरिज्मको एउटा गन्तब्य बनोस् भन्ने चाहन्छु म ।’

पुस १६ गते अर्थात जनवरी १ तारिखमा अस्पतालको रेडियो थेरापी सेवा प्रारम्भ हुने र आगामी फागुन १८ गते अस्पतालको औपचारिक उद्घाटन गरिने प्रसाईले जानकारी दिए ।

रेडियो थेरापी सेवा क्यान्सर अस्पतालको सबैभन्दा महत्वपूर्ण उपचार हो । एक जना विरामीको निःशुल्क उपचार गरेर रेडियो थेरापी सेवाको थालनी गरिने र अस्पतालको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने तयारी भइरहेको उनको भनाई छ ।

ओपीडी सेवा केही महिना अघिदेखि सुरु गरेको यो अस्पतालले एक मिनेटभित्र क्यान्सरको जड रहेको विन्दुमा रेडियसन दिइसक्ने विश्वमै अत्याधुनिक टुबिम मेसिन भित्राएको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव बताउँछन् ।

पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालको नमुना हस्पिटल बन्ने उल्लेख गर्दै पत्रकार सम्मेलनमा डा. यादवले भने–‘भारतको सिलगढी, बङ्गलादेशको पञ्चगढ, पश्चिम नेपालको बाँके बर्दियादेखिका विरामीहरुले सम्पर्क गरिरहनु भएको छ, यति धेरै सुविधा र प्रविधिसम्पन्न हस्पिटलमा सेवा गर्न पाएकोमा म आफुलाई भाग्यशाली ठान्छु ।’ क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हालेका डा. यादव भारतको प्रसिद्ध मेदान्त हस्पिटलबाट आएका हुन् ।

मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यले वि.संं. २०७१ फागुन १८ गते विर्तामोडमा बीएन्डसी हस्पिटलको सेवा सुरु गरिएको थियो । अब क्यान्सर अस्पताल समेत थपिने भएपछि विर्तामोड नेपालकै प्रमुख स्वास्थ्य उपचारको केन्द्र बन्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई बताउँछन् ।

अस्पतालले नेपाल, भारत, भूटान र बङ्गलादेशका क्यान्सर रोगीलाई उपचार सेवा पुर्याउने र अस्पतालमा ९०० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमशि गिरीले बताए ।

क्यान्सर अस्पतालमा टुविम, थ्री टेस्लाको एमआरआई, पेट सीटी स्क्यान लगायतका अत्याधुनिक मेसिन भित्राइएको सञ्चालकहरुको भनाई छ ।

हाल भारतको टाटा, मेदान्त, राजीव गान्धी हस्पिटलसम्म धाएर क्यान्सरको उपचार गराउन बाध्य नेपालीहरुलाई विर्तामोडको यो अस्पतालको सेवा अझ उत्कृष्ट र सहुलियतपूर्ण हुने कार्यकारी निर्देशक प्रसाई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: