बीस जना कर्मचारीका लागि सोह्र सय परीक्षार्थी

  प्रकाशित मिति
१८ जेष्ठ २०७६, शनिबार १४:३३


भद्रपुर, १८ जेठ (रासस) ः झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि सोह्र सयभन्दा बढीले आवेदन भरेर प्रतिष्पर्धा गरिरहेका छन् ।

मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई यो घटनाले देखाएको छ । आज कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा भइरहेको छ ।

एनएमसीले सहायक अधिकृत स्तरको ५ जना, वरिष्ठ सहायक स्तरको ८ जना र कार्यालय सहायक स्तरको ७ जना कर्मचारीका लागि खुला आवेदन मागेको थियो ।

जसमा एक हजार ६०६ जनाले आवेदन भरेको र उनीहरु सबैलाई लिखित र मौखिक परीक्षामा सामेल गरेर २० जना छनौट गरिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती बताउनुहुन्छ ।

आजै मेचीनगर–१४ स्थित शहिद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसको २० वटा कोठामा ४० जना निरीक्षण खटाएर दुई शिफ्टमा लिखित परीक्षा सञ्चालन भइरहेको छ ।

एनएमसीको जागिरप्रतिको आकर्षण र निष्पक्ष परीक्षाप्रतिको विश्वासका कारण आवेदकहरुको सङ्ख्या धेरै भएको संस्थाका उपाध्यक्ष उप्रेतीको भनाई छ ।

परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन गरेको छ भने आजको परीक्षामा दर्जनौं सुरक्षा गार्ड र नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।

बचत तथा ऋण कारोवार गर्ने एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डार समेत सञ्चालन गर्दै आएको छ ।

२०५० सालमा स्थापित झापाको अग्रणी सहकारीको रुपमा चिनिएको यो संस्थामा हाल ६०० भन्दा बढी कर्मचारी, ३५ वटा सेवा केन्द्र, ७३५ करोड रुपैयाँको वार्षिक कारोवार, ६५ हजार भन्दा बढी सदस्य, ५६५ करोड रुपैयाँ निक्षेप र ६७ करोड रुपैयाँ शेयर पँुजी रहेको छ ।–––

 

 

परीक्षा केन्द्र तोकिएको शदिद दशरथ मावि परिसरमा परीक्षार्थीद्वारा पार्किङ गरिएका सयौं मोटरसाइकलको रमिता । नजिककैको त्रिदेव क्याम्पसमा पनि परीक्षा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: