बुद्धिचाल खेलप्रतिको मोह

  प्रकाशित मिति
१५ जेष्ठ २०७५, मंगलवार १०:५८


गोविन्द न्यौपाने

ठूलो हल करिब सयभन्दा बढी मानिसहरुको जमघट तर शान्त र भद्र वातावरण । सबै एकाग्र भई एकले अर्कालाई परास्त गर्ने ध्याउन्नमा लागेका बुद्धिचालका खेलाडीहरुको खानेपानी सभाहलमा जमघट सुरु भएको छ । यो जमघट जेठ १२ गतेदेखि सुरु भएको र १७ गतेसम्म चल्ने आयोजकहरुले बताएका छन् ।

यो प्रतियोगिता यसका नियम र मापदण्ड नजान्नेका लागि कठिन रहे पनि खेल अवलोकनमा आनन्दको अनुभूति छ । १० वर्षदेखि ५० वर्ष नाघेकाहरु एउटै टेवलमा प्रतिस्पर्धामा छन् । कुनै हल्ला र हुटिङ छैन । सबै प्रतिस्पर्धीहरु शान्त र सभ्य देखिन्छन् । तर, तिनको शान्तपना भित्र समेत प्रतिस्पर्धा रहेको छ । खेलको प्रतिस्पर्धाको लागि उमेरको कुनै हद छैन । कोही समान उमेर समूहकासँग प्रतिस्पर्धा गरिरहेका छन् त कोही आफ्ना नाती नातिना जस्तासँग खेलमा प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ । राष्ट्रिय स्तरका खेलाडीसँग स्कुलका विद्यार्थी समेत प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ । बालबालिकाले वयस्क समेतलाई शान्त र सभ्य तरिकाले हायल कायल गराउने गरेको खेल हेर्दा अनुभव हुन्छ ।

झापा दमक नगरपालिकाका १३ वर्षीय प्रज्ज्वल बस्नेत जो कक्षा ८ मा अध्ययनरत छन् एभरेस्ट बोर्डिङ स्कुलमा । हेर्दा पातलो कदका उनी बुद्धिचालका लागि भने अब्बल देखिएका छन् । बुद्धिचाल प्रतियोगिता सुरु भएको दोस्रो दिन १३ गते आइतवार तेस्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई बराबरीमा राख्न सफल भएका बस्नेत दिइएको कागजको पन्ना र घडी लिई स्टेजमा पुगे । खेलको नतिजा के भयो भन्ने प्रश्नको जवाफमा बराबरी भएको जवाफ फर्काए । प्रज्ज्वल रेटेड खेलाडी थिए र उनको रेटिङ १५८५ थियो ।

यस्तै, अरुणोदय आवासीय माध्यमिक विद्यालयकी पुनम प्रसार्इं प्रतियोगितामा निरन्तर सहभागी भइरहेकी छन् । उनी रेटेड प्रतिस्पर्धी हुन् । खेल सुरु भएको दिनमा नै उनी फिडे मास्टरसँग प्रतिस्पर्धा गरिरहेकी थिइन् । प्रतियोगितामा सामेल भएकी उनी स्थानीय काँकरभिट्टाकी एकमात्र रेटेड महिला प्रतिस्पर्धी हुन् । उच्च मनोवलका साथ प्रतियोगितामा सामेल पुनम मेधावी छात्रा हुन् भन्ने कुरामा कुनै द्विविधा देखिदैन ।

बुद्धिचाल खेलमा प्रतिस्पर्धी बनेका तारापुञ्ज अङ्ग्रेजी बोर्डिङ स्कुलका २ जना छात्राहरु त अझ आकर्षणका केन्द्रमा रहेका थिए । कक्षा ४ मा अध्ययनरत सेजल दाहाल र कृतिका पहिलो प्रतिस्पर्धा नै फिडे मास्टरसँग गरेका थिए । पराजित भएपनि आफूहरुलाई थप उत्साह प्राप्त भएको तारापुञ्जका छात्राहरुको भनाइ प्रेरणायोग्य थियो ।

यस प्रतियोगितामा बुद्धिचाल खेलका देशभरिबाट बालबालिका र भेट्रान समेत गरी जम्मा ९५ प्रतिस्पर्धी सामेल भएका छन् । फिल्ड मास्टरदेखि रेटेड र ननरेटेड खेलाडीहरुको उत्साहजनक सहभागिता यस खेलमा देखिएको छ । पूर्वमा झापादेखि पश्चिममा कैलालीसम्मका खेलाडीको सहभागी देखिएको यस प्रतिस्पर्धामा ताप्लेजुङबाट शारीरिक अपाङ्गता भएका एक खेलाडीको निरन्तर सहभागिता रहनु सुखद् पक्ष रहेको छ ।

करिव १५०० वर्ष अघि छैटौँ शताब्दीमा उत्तर भारतबाट सुरु भएको भनिएको बुद्धिचाल खेलको विकास अन्य देशसरह नेपालमा हुन् नसके पनि काठमाडौँ र ठूला सहरहरुमा प्रतियोगिताहरु बारम्बार भइरहेको पाइन्छ । बुद्धिचाल खेलको आयोजनाले युवा तथा यो खेलप्रतिको आकर्षण भएका व्यक्तिहरुका लागि बौद्धिक क्षमताको विकास हुन सहायक हुन्छ भन्ने यस खेलका खेलाडीहरुको विश्वास छ । यसका अलावा युवाहरुलाई यस खेलप्रति आकर्षण गर्न सके युवाहरुको सोचमा परिवर्तन हुने विश्वास गर्न सकिन्छ ।

आयोजक नाइट चेस क्लव स्थापना नै चेस खेलबाट सुरु भएको संस्था हो । स्थानीय युवाहरु विश्वविजय घिमिरे, बालाजीत राई, सुरेन बुढाथोकी, अरुण श्रेष्ठ, बलिमान गुरुङ, मोहन तामाङ लगायतका युवाहरु काठको पिर्कामा बसी चेस खेल खेल्दाखेल्दै नाइट चेस क्लवको स्थापना भएको थियो भन्ने भनाइ छ । स्थापना कालका एक विश्वविजय घिमिरे यस प्रतियोगितामा खेलिरहेका छन् । स्थापनाकै बलिमान गुरुङ भने यस खेलमा प्रतिस्पर्धीको रुपमा सहभागी भएनन् । तर, बुद्धिचालको प्रवर्धनमा अबका पुस्तालाई सीप हस्तान्तरण कार्यमा उनी लागेका छन् । २०५४ सालमा झापा जिल्लामा सामाजिक संस्थाको रुपमा दर्ता भएको नाइट चेस क्लबले खेलकुदका अलावा समाजमा महामारीको रुपमा रहेको एचआइभी एड्स तथा लागुपदार्थ सम्बन्धी चेतनामूलक तथा उपचारात्मक कार्यक्रममा करिव २ दशक पूरा गरिसकेको छ ।

बुद्धिचाल प्रतियोगिता नियमित रुपमा आयोजना गर्नु आवश्यक भएपनि यो प्रतियोगिता आयोजना गर्न भने अन्य खेल जस्तो सहज नभएको यसका पारखीहरुको भनाइ रहेको छ । अन्य खेलकुदका इभेन्ट जस्तो यसका खेलाडीहरु सहज रुपमा उपलब्ध हुँदैनन् । खेलका निर्णायकहरु समेत उपलब्ध हुन सहज हँुदैन । यो खेल विशेष मापदण्डको रुपमा सञ्चालन हुने भएकाले यसका लागि व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । आयोजकहरुका अनुसार अब नाइट चेस क्लबले यो प्रतियोगिता हरेक वर्ष आयोजना गर्नेछ । यसका लागि पशुपति बोर्डिङ स्कुलकी सञ्चालक अनिता थापाले वार्षिक रुपमा पुरस्कारको प्रायोजन गर्ने वचन दिएकी छन् ।

खेलकुद मानव जीवनको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको छ । विगत केही वर्षदेखि खेलकुदका विभिन्न प्रतियोगिताहरु काँकरभिट्टामा हँुदै आएका छन् । जिल्ला खेलकुद विकास समितिले समेत यस क्षेत्रलाई खेलकुदको केन्द्र भागमा नै राखेको देखिन्छ । आगामी दिनमा बुद्धिचाल प्रतियोगिताका लागि समेत खेलकुद विकास समितिको ध्यान जानु आवश्यक छ । बुद्धिचाल प्रतियोगिताले सहभागीहरुमा भद्रताको विकास गर्ने निश्चित छ । समझदारीको अभिवृद्धिले समाजको विकास हुनेमा विश्वास गर्न सकिन्छ । युवाहरुको हौसला र विश्वासका साथ संस्थाले आगामी दिनमा बुद्धिचाल खेलको प्रवर्धन गर्दै शान्त र सभ्य समाजको निर्माणमा सहयोगी बनोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: