बुहारीलाई काजकिरिया गर्न अवरोध

  प्रकाशित मिति
२५ असार २०७५, सोमबार ०९:२०


ज्ञानेन्द्र निरौला÷मोहन काजी
मेचीनगर । अर्जुनधारा–८ की अमिता गौतमलाई ससुराको मृत्युपछि घरमै काजकिरिया गर्न गौतम परिवारले अवरोध पुर्याएको छ ।

अमिताका ससुरा खड्गप्रसाद गौतमको ५८ वर्षको उमेरमा यही असार २१ गते हृदयाघातका कारण मृत्यु भएको थियो ।

अर्जुनधारा–८ हात्तीकिल्लामा रहेको घरमा अमिताका ससुरा खड्गप्रसादको काजकिरिया भइरहेको छ ।

खड्गप्रसादका दुई छोराहरु तिलक र राजेन्द्र गौतम लगायतले आशौच बारिरहेका छन् ।
ससुराको निधन भएको खबर पाएपछि अमिता दुई छोरीहरु ४ बर्षकी सृष्टि र ७ वर्षकी शैलीलाई साथमै लिएर असार २२ गते दिउँसो हात्तीकिल्लास्थित घर पुगेकी थिइन् ।

तर कुटपिट समेत गरी उनलाई काजकिरिया गर्न दिइएन । उनी छोरीहरु लिएर माइती नै फर्किन बाध्य भइन् ।

ससुराको शबयात्रामा सहभागी भएकै बेला असार २२ गते अमितालाई उनका पति तिलक गौतमको सामु सासुआमा चन्द्रकला गौतम, आमाजु रोजी नेपाल र भाञ्जा विराज सुबेदीले ‘तँ किन आइस्’ भन्दै लात्तै लात्ताले कुटेको पीडितले बताइन् ।

अमितालाई घरमा काजकिरिया नदिने भनेर पतिसहित गौतम परिवारले बलजफ्ती गरे पछि उनी हाल मेचीनगर–१० धुलावारीस्थित दाजु–भाउजुको डेरामा बसेर ससुराको आशौच बारिरहेकी छन् ।

Amita Rijal

‘ससुराको दुःखद् निधनको खबर सुनेपछि म छोरीहरु लिएर घर पुगेकी थिएँ’, अमिताले आफुमाथि गौतम परिवार खनिएर कुटपिट गरेको बताउँदै लोकतन्त्र पोस्टसँग भनिन्–‘सासुआमा, आमाजु र भाञ्जाले लात्तै लात्ताले कुट्नु भयो भयो, मेरै पतिले पनि बसिस् भने काटिदिन्छु भनेर झम्टिए पछि ज्यान जोगाउन म माइत नै फर्केर आउनु पर्यो ।’

उनले ससुराको १३ दिने आशौच हिन्दु धार्मिक संस्कार बमोजिम नै बार्ने बताइन् ।

अमिताले आफु लामो समयदेखि घरेलु हिंसा पीडित भएको र गत पुस ९ गते गौतम परिवारबाट भयानक कुटपिटको शिकार भएपश्चात माइतीको आश्रयमा बस्दै आएको बताइन् ।

बुहारीलाई अरुहरुसँगै घरमा बसेर ससुराको आशौच बार्न नदिने गौतम परिवारको अमानवीय कार्यको चौतर्फी विरोध भइरहेको छ ।

स्थानीय समाजले गौतम परिवारले ठूलो गल्ती गरेको बताउँदै आएका छन् । स्थानीयले सम्झाउँदा समेत गौतम परिवारले नमानेको बताइएको छ ।

अमिताका पति तिलक गौतमले लोकतन्त्र पोस्टसँगको फोन सम्पर्कमा ‘घरमा सँगै बसेर काजकिरिया गर्न नदिएको’ स्वीकार गरेका छन् ।

‘परिवारलाई मुद्दा हालेर बद्नाम गरेको हुँदा उसलाई काजकिरिया गर्न दिएनौँ’, अमिताका पति तिलक भन्छन्–‘अन्तै गाउँतिर बसेर काजकिरिया बार्ने हो भने सहयोग गर्छौँ ।’

घरमा सँगै आशौच बार्न चाहि कुनै हालतमा नदिने अमिताका जेठाजु राजेन्द्र गौतमले समेत बताएका छन् ।
अमिता र तिलकविच हाल झापा जिल्ला अदालतमा अंश मुद्दा चलिरहेको छ ।

अमिताले अदालतमा दर्ता गरेको मुद्दामा मानो चामल भर्न र घरेलु हिंसामा गौतम परिवारमाथि कानूनी कार्वाही गर्न माग गरेकी छन् ।

अमिताका दाजु गोपीकृष्ण रिजाल हाल वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर छन् ।

रिजाल परिवारको बाहुनडाँगीमा मूल घर भए पनि गोपीकृष्ण धुलावारीको हिमालयन कलेज नजिकैको एक घरमा डेरा गरी बस्दै आएका छन् ।

अमिताकी भाउजु सासा रिजालले शोक परेको सम्बेदनशील घटनाका बेला शवयात्रामा जान र काजकिरिया गर्न समेत धाकधम्की दिएर अवरोध पुर्याउनु ज्यादै अमानवीय कार्य भएको गुनासो गरेकी छन् ।

अमिताकी आमा कृष्णमाया रिजालले गोडा धोएर छोरी दिएको स्मरण गर्दै ज्वाईबाट यस्तो नीच व्यवहार होला भन्ने कल्पनासम्म नगरिएको बताइन् ।

अमिता र तिलकविच २०६५ फागुन १७ गते मागी विहे भएको थियो । अमिता स्नातक पढेकी छन् भने तिलकले प्लस टु पूरा गरेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: