बूढा, रोगी गाई लिँदै, लैनो गाईं दिँदै

  प्रकाशित मिति
७ आश्विन २०७९, शुक्रबार १०:५९


 तस्वीर:  विनोद सापकोटा

।। अम्बिका भण्डारी ।।
झापा, ७ असोज । दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलनहाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा वि.संं २०७२ सालदेखि गोलोक गोवर्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।

गौशाला स्थापनापछि व्यापारीहरुले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका बृद्ध, रोगी, असक्त गाईहरुको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वज (महाराज)ले गौशालाले गाईको संरक्षण मात्र होइन, जिल्लाभित्रका गरीब, असहायहरुलाई दूध खाने उन्नत जातको गाई दिन समेत थालेको बताए ।

हल्दिबारी गाउँपालिका बस्नु हुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा हाल ६५० वटा गाई रहेको उनले जानकारी दिए । “गौशाला त सुरु गरियो गाई भएनन्”, उनले भने, “गाउँ वस्ती, टोल, सामुदायिक संघसंस्थालगायतका स्थानमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बुढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैं ल्याइदिनुहुन्छ ।”

तस्वीर: पत्रकार विनोद सापकोटा

उनले वि.सं. २०७५ सालपछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरुले आफैं ल्याईदिने गरेको बताए । हिजो बुढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरीब, दु:खीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकोमा खुशी व्यक्त गर्छन् । उनले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको विऊ गोरु ल्याएर उन्नत जातकै बाछी , बरहरु उत्पादन गरेको बताए ।

उनले हालसम्ममा ७५ वटा उन्नत जातका विऊ गोरु र एक हजार ६०० दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिसकेको बताए । “कुनै किसानले बुढो गाई हामीलाई दिनुभयो भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौं”, महाराज भन्छन्, “गरीब, दु:खीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौं ।” उहाँले गोठमा दैनिकजसो १५ देखि २० वटा दुहना गाई हुने गरेको बताए ।

गाईको दूधबाट गौशाला समितिले हाल घिउ, पन्चकव्य समेत बनाउँदै आएको छ । दैनिक जंगल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनहरुले नै प्रतिकेजी रु. एक हजार ३०० मा खरिद गरेर लैजाने गरेका छन् ।

जंगलभित्र रहेको गौशालाका गाई भने विहान छ बजेदेखि नै चर्न जाने गरेको उहाँको भनाई छ । चरनमा गएका गाईहरु अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्ने गरेका छन् । गाईको हेरचाह गर्नका लागि हाल २० जना गौसंरक्षक रहेका छन् । उनीहरु दैनिक जसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौले मल, गोकाष्ठा बनाउने लगायतका काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत विक्री गरेर गौशालामा रहेका गाईलाई दाना, साइलेजलगायत किनेर खुवाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: