बृद्धा आमाहरुलाई सम्मानसहित खीर

  प्रकाशित मिति
१५ श्रावण २०७६, बुधबार १६:१२


 

भद्रपुर  । मानव अधिकारको लागि महिला एकल महिला समूह झापाले बुधबार ७५ बर्ष माथिका १८ बृद्धालाई सम्मानसहित ४० आमाहरुलाई खिर खुवाएको छ ।
परम्परादेखि नै साउन १५मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यतालाई सम्मान गर्दै समूहले भद्रपुर नगरपालिका भित्रका एकल बृद्धा आमाहरुलाई समूहको कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी खीर खुवाएको हो ।

समूहकै सभाहलमा आयोजित कार्यक्रममा ८४ बर्षीय मायादेवी पोखरेल, ८२ बर्षीय कालिका विक, ८० बर्षीया लक्ष्मी बस्नेतलगायत १८ जना ७५ बर्षमाथिका आमालाई सम्मान गरिएको थियो ।

परम्परा गत नेपाली संस्कार र सस्कृतिलाई सम्मान गर्दै नगरका बृद्धा आमाहरुलाई एकै थलोमा भेला गरेर खीर खुवाएकोमा समूहलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धन्यवाद व्यक्त गरे ।

उनले दिनादिनु विदेश अध्ययन र रोजगारीमा जाने सन्तानका कारण एक्लै घरमा बस्नु भएका आमाहरुको मिलन गराएर विभिन्न समयमा उनीहरुलाई भेटघाट गराई दुःख सुख साट्ने अवसर समेत प्रदान गर्न समूहलाई आग्रह गरेका थिए ।

बृद्धबृद्धा आमा बुबाहरु भनेका भगवान हुन् भन्दै प्रजिअ दाहालले भने, ‘उनीहरुको अपमान गर्ने सन्तानलाई कानुनी कठघरामा उभ्याएर हदैसम्मको दण्ड गर्छु ।’ उनले बृद्धाहरुलाई ढाडस दिँदै छोरा बुहारीले अपमान गरेमा तुरुन्त आफूलाई फोन गर्न समेत अनुरोध गरे ।

प्रजिअ दाहालले आफ्ना बुबा आमाको सम्मान गरे मात्र हामीलाई पनि भोलि सन्तानले सम्मान गर्ने बताउँदै भने, ‘म भगवानमा विश्वास राख्छु, माथिबाट उनले हेरिरहेका छन् आज हामी जे गर्छौ भोलि त्यही भोग्नेछौ ।’

समूहकी अध्यक्ष रेखा अधिकारीले संस्थाले विभिन्न चाडपर्वहरु जस्तै साउन १५ पनि नेपालीहरुका लागि चाड नै भएको हुँदा आमाहरुलाई सम्मानपूर्वक खीर खुवाएको बताइन् ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति गणेश पोखरेल, कृषि ज्ञान केन्द्रका निमत्त प्रमुख शालिकराम भट्टराई, वडा नम्बर १० का सचिव मोहन डाँगी, भद्रपुर नगरकी कार्यपालिका सदस्य मित्र भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साहित्यकार आरती पोखरेलले सञ्चालन गरेको कार्यक्रममा हर्कमाया विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: