मेचीनगर । माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टाले सन २०१५ मा बेचविखनमा परेका ३० जना महिलाको उद्धार गरेको छ ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले दिएको जानकारी अनुसार एक बर्षको अवधिमा भारतको कोलकता, दिल्ली, चेन्नाई, आसाम, बागडुग्रा, सिलगढी र बङ्गलादेशबाट ३० जना महिलालाई उद्धार गरिएको हो ।
सोही अवधिमा माइती नेपालले पूर्वीनाका काँकरभिट्टा हुँदै भारत तथा तेस्रो मुलुक हिँडेका २ सय ९५ जना महिलालाई सम्झाई बुझाई घर फर्काएको जनाएको छ ।
उद्धार गरिएका अधिकांश महिला भूकम्प प्रभावित क्षेत्र मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र पूर्वी पहाडी जिल्लाका छन् ।
त्यसैगरी, सोही अवधिमा कार्यालयमा १ सय ४८ जना महिला हराएको निवेदन परेको छ । कार्यालयका अनुसार बेचविखन विरुद्धका ५ वटा, बलात्कार सम्बन्धी ५ वटा र घरेलुहिंसा सम्बन्धी ६ वटा मुद्दा समेत दर्ता भएका छन् ।
संयोजक घिमिरेले यो नाकाबाट बैदेशिक रोजगारका लागि खाडीमुलक लगायत अन्य देशमा हिँडेका २१ हजार ३ सय २० जना महिलालाई उचित परामर्शपछि सुरक्षित स्थानागमन गरेको बताए ।
चेलीबेटी बेचविखन रोथकामका लागि माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टाले बर्षभरि नै चेतनामूलक नाटक तथा विविध कार्यव्रmम गर्दै आएको संयोजक घिमिरेले बताए ।