बेरोजगारहरुको सहारा बन्दै इन्दिरा

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार ०९:०६


झापा, १३ पुस । मिठो बोली, मन्द मुस्कान, गुहँ गोरी, मझौला कद । अरुको समस्यामा सहयात्री बन्ने उनको बानी । सबैको मनमुटमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसताक्षी नगरपालिका वडा नम्बर–११ मा बस्दै आउनुभएकी समाजसेवी ५३ बर्षीया इन्दिरा गौतम बेरोजगारीहरुकी सहारा बनेकी छिन् ।

सीप नभएकाहरुलाई सीप सिकाउने र सिकिसकेकालाई रोजगारी दिने उहाँ गरीब दुखीका लागि अभिभावक नै बनेकी छिन् । उनी आफैं ढाकाका विभिन्न पहिरन बनाउन सिकाउने, क्रिस्टलको माला, टप, औंठी, चुरा, पोतेलगायतका सामग्री र सिलाई बुनाई तालिम समेत दिन्छिन् । सीप सिकेर घरमै महिलाले बनाएका सामग्री समेत उहाँ आफैं खरिद गरेर सहयोग गर्छिन् ।

“म तालिम मात्र दिने होइन”, उनले भनिन्, “समाजमा तालिम दिनेको खाँचो छैन । तालिमपछि रोजगारी पनि दिन्छु र उनीहरुको आर्थिकस्तर उकास्न मद्दत गर्छु ।” उनले आफ्ना दिवंगत श्रीमान गोपाल गौतमको नाममा ‘गोपाल गौरी दिगो विकास प्रतिष्ठान’ नामक संस्था नै खोलेर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।

श्रीमान वितेपछि अरुकै घरमा काम गरेर तीन छोराको पालनपोषण गर्दै आएकी गौतम वि.सं.२०५५ सालमा नेपाल प्रहरीमा जागिर भइन् । प्रहरीको जागिर पाएपछि जीवनयापनमा केही सहजता भए पनि परिवारका सदस्यले दिएको दुःख अझै विर्सन गाह्रो भइरहेको उनको अनुभव छ ।

उनले तीन सन्तानलाई समेत विभिन्न रोग लागेका कारण बचाउन नसकेपछि प्रहरीमा खाइरहेको जागिर समेत छोडिन् । “सन्तान गुमाएपछि पागल जस्तै भएँ, कहिले खोलामा हाम फालें त कहिले विष सेवन गरें”, उनले भनिन्, “खै कसरी कस्ले बचाउथ्यो, होश आउँदा जहिले हस्पिटलमा हुन्थ्थे ।” हस्पिटलमा पटक–पटक डाक्टर र नर्सले मठ मन्दिर घुम्न र असहायको सेवा गरेर दिन विताउन दिएको सल्लाहले नै आज आफू सामाजिक सेवामा समर्पित भएको उनको भनाई छ ।

त्यही जागिरे जीवनमा जोडेको सम्पति नै आज उनलाई सामाजिक क्षेत्रमा काम गर्ने दर्विलो स्रोत बनेको छ । उहाँले जागिरे जीवनमा तत्कालीन इटहरी नगरपालिकामा दुई कठ्ठा र झापाकै राजगढमा एक विगाह जग्गा जोडेकी थिइन् ।

गौतमले हाल इटहरी महानगरपालिका भित्र रहेको एक कठ्ठा जग्गा बेचेर प्रतिष्ठानको लिफ्टसहितको रु. अढाई करोडको लगानीमा बन्न लागेको चार तले भवनको शिलान्यास गरिसकेकी छिन् । विं. सं. २०७४ सालमा स्थापना गरेको संस्थाको कार्यालय हाल भाडामा छ । भाडामा रहेको कार्यालयमा उनले यतिबेला ४० जना महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताइन् ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले उनले व्यक्तिगत रुपमा संस्था सञ्चालन गरेर नगरकै धेरै बेरोजगार दिदी बहिनीहरुलाई रोजगारी प्रदान गरेकोमा प्रशंसा गरिन् ।

‘सबै परिवार गुमाएर समाजिक कार्यमा लाग्नभएकी उहाँले नगर गौरवको योजनालाई नै सहयोग पुग्ने व्यक्तिगत लगानीमा तालिम हलसहितको प्रतिष्ठान निर्माण गर्नु सामान्य कुरा होइन” उपप्रमुख नेपालले भनिन्, “आज ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने भोलि सयले पाउने निश्चित छ । तर, व्यक्तिगत रुपमा गरिएका योजनामा नगरले सहयोग गर्न अप्ठ्यारो भइरहेको हुँदा कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।”

उनले आफ्नो सम्पूर्ण सम्पति समाजसेवामा समर्पण गर्ने गौतमलाई नगरपालिकाले मिलाएर सक्दो सहयोग गर्ने र गौतमकै माध्यमबाट धेरै भन्दा धेरै बेरोजगारलाई रोजगारी प्रदान गर्ने योजना रहेको सुनाइन् ।

“तीनै तहको सरकारले गर्न नसकेको काम इन्दिरा दिदीले एक्लै गर्नुभएको छ”, स्थानीय पत्रकार विनोद सापकोटाले भने “कोभिडका कारण रोजगार गुमाएका परिवारका सदस्यलाई जागिर दिनुभएको छ, सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर बनाउनु भएको छ । आफ्नै लगानीमा यति ठूलो काम गर्ने व्यक्ति भने ओझेलमा हुनुहुन्छ ।”

परिवारका सदस्य गुमाएकी उनले तयार गरेको त्यो भौतिक सम्पति भोलि स्थानीय सरकारकै हुने हुँदा शिवसताक्षी नगरपालिकाले आर्थिक रुपमा सक्दो सहयोग गर्नुपर्ने पत्रकार सापकोटाको भनाई छ ।

उनले विगतदेखि नै आर्थिक अवस्था नाजुक भएर विद्यालय जान नसकेका नानीहरुलाई लत्ताकपडा किनेर विद्यालय भर्ना गर्ने र जस्तासुकै प्राकृकित विपदमा पनि राहत लिएर नगरमा सबैभन्दा पहिला गौतम नै पुग्ने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: