बाहुनडाँगी । मेचीनगर नगरपालिका र रोङ गाउँपालिकाको साँधमा अवस्थित बेशीबजारमा साउन ९ गते ग्रामीण पर्यटनको प्रबर्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
पहाड र तराइको सङ्गमस्थल बेशीबजारमा हुने सो कार्यक्रममा चर्चित कलाकारहरु मिलन अमात्य, राजनराज शिवाकोटी लगायतको प्रस्तुति रहने कार्यक्रमको संयोजन गरिरहेको ग्रीन जेनेरेसनका अध्यक्ष अजुृन कार्कीले जानकारी दिएका छन् ।
गायिका अमात्यले १३ वटा भाषामा आफ्नो सुमधुर आवाज प्रस्तुत गरिसकेकी छन् भने शिवाकोटीले कुटुमा कुटु, पूर्व पश्चिम रेल र सुर्के थैली खोई जस्ता गीतमा स्वर दिइसकेका छन् ।
ग्रीन भिलेज सामुदायिक होमस्टे इलाम–झापाको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, ग्रामीण पर्यटनको प्रबर्धनमा ऐक्यबद्धता जनाऔँ’ भन्ने नाराका साथ हुने एक दिवशीय सांस्कृतिक कार्यक्रमबाट झापा र इलामको ग्रामीण क्षेत्रमा रहेका होमस्टेहरुको प्रचार हुने अपेक्षा गरिएको ग्रीन जेनेरेसनका अध्यक्ष कार्की बताउँछन् ।
कार्कीका अनुसार आगामी पुस २१ देखि २५ गतेसम्म इलामको सलकपुरमा पाँचौ एसियन ग्रामीण पर्यटन महोत्सव आयोजना गर्ने निर्णय भएको छ ।
बेशीबजारमा हालै नेपाल र भारतका पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा भारतका प्रख्यात पर्यटनविद् राज बसु र बेलायतमा रहेका सामाजिक अभियन्ता पूर्ण लक्समको विशेष उपस्थिति रहेको थियो ।
……………….