बैङ्क बोलाएर गाउँमै निःशुल्क खाता

  प्रकाशित मिति
१२ चैत्र २०७४, सोमबार १२:१५


बाहुनडाँगी । मेचीनगरको वडा नं. ४ बाहुनडाँगीमा सामाजिक सुरक्षा भत्ता लिइरहेका सयौँले आइतवार आफ्नै गाउँमा निःशुल्क बैङ्क खाता खोल्ने सुविधा पाएका छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन बैङ्क खाता अनिवार्य गरेपछि वडा कार्यालयले गाउँमै बैङ्कका प्रतिनिधि बोलाएर सबैलाई एकैपटक खाता खोल्ने सुविधा दिलाएको हो ।

खाता खोल्नका लागि एक्सेल डेभलपमेन्ट बैङ्कका ८ जना कर्मचारीहरु खातापाता बोकेरै बाहुनडाँगी आएका थिए ।
खाता खोल्न सघाउन एक्सेल बैङ्कका उपनिर्देशक पङ्कज घिमिरे, धुलावारी शाखाका प्रबन्धक केदार लम्साल, चन्द्रगढी शाखाका प्रबन्धक टिका दाहाल, काँकरभिट्टा शाखाका प्रबन्धक रेगन आचार्य लगायतको टोली बाहुनडाँगी आएको थियो ।
वडाध्यक्ष नवीन बरालले आइतवार एकैदिन ३ सय ७५ जनाले सामाजिक सुरक्षाको भत्ता लिने प्रयोजनका लागि बैङ्क खाता खोलेको जानकारी दिए ।

बाहुनडाँगी क्षेत्रमा सहकारी संस्था बाहेक कुनै पनि कमर्सियल वा विकास बैङ्क छैनन् । गाउँमै बैङ्कका प्रतिनिधिहरु नआएका भए स्थानीयले काँकरभिट्टा, धुलावारी, विर्तामोड लगायतका स्थानमा गएर बैङ्किङ सेवा लिनु पर्नेथ्यो ।
सामाजिक सुरक्षा अन्तर्गत दलित, एकल महिला, ज्येष्ठ नागरिक, लोपोन्मुख जाति र अपाङ्गहरुले सरकारबाट मासिक २ हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

‘भरसक कोही नछुटुन् भनेर खाता खोल्नका लागि सबैलाई घरघरै पुगेर ल्याइयो’, बैङ्कको सेवा गाउँमा ल्याउने पहलकदमी गरेका वडाध्यक्ष बराल भन्छन्–‘कोही छुट्नु भएको हुनसक्छ, उहाँहरुलाई टोलटोलमै पुगेर खाता खोल्ने व्यवस्था मिलाउँछु ।’

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले ८२ वर्षीय रामबहादुर थापालाई बैङ्कको फाराम हस्तान्तरण गरेर पहिलो खाता खोलाएकी थिइन् । विहान ८ बजेदेखि सुरु भएको खाता खोल्ने कार्यक्रम दिनभर चलेको थियो । नगरका प्रमुख विमल आचार्य समेत दिउँसो कार्यक्रममा आएका थिए ।

सोही वडाकी ७३ वर्षीय हेमकुमारी घिमिरेले जीवनमै पहिलोपल्ट आफ्नो नाममा बैङ्क खाता खोल्न पाएकोमा खुशी व्यक्त गर्दै भत्ता बाँड्न पनि बैङ्कलाई गाउँमै ल्याउन आग्रह गरेकी छन् ।

‘खाता खोल्न त सजिलो भयो’, उनले लोकतन्त्र पोस्टसँग भनिन्–‘भत्ता निकाल्न फेरि सहरतिर धाउन पर्यो भने चाहिँ गाह्रो हुन्छ ।’

नेकपा एमालेका वडा अध्यक्ष प्रविण भण्डारीले घुम्ती सेवा सञ्चालन गरेर भए पनि बैङ्कले गाउँमै आएर भत्ता बाड्ने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् ।

वडापालिका कार्यालयले बाहुनडाँगी सामुदायिक भवनमा खाता खोल्ने कार्यक्रम राखेको थियो भने गाउँबाट ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपाङ्ग लगायतका खाता खोल्न आउनेहरुलाई ल्याउन र फर्काउन बसको निःशुल्क व्यवस्था गरेको थियो ।

६५ वर्षीय नरमान लोहारले गाउँमै बैङ्क खाता खोल्ने सुविधा पाएकोमा खुशी व्यक्त गरे । उनले महिनाको ५ हजार भत्ता पुग्ने दिन पर्खेर बसिरहेको पनि बताएका छन् ।

सामुदायिक हलमा खाता खोल्न भेला भएकाहरुलाई वडाध्यक्ष बरालले निजी खर्चमा खीर खाने प्रबन्ध समेत मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: