‘बैठक र मिटिङले मात्र गरीवको पेट भरिदैन’

  प्रकाशित मिति
२१ चैत्र २०७६, शुक्रबार ०९:४३


मेचीनगर, २१ चैत । नेपाली काङ्ग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डेले मेचीनगर नगरपालिकाका विपन्न परिवारलाई आजैदेखि राहत वितरण गर्न माग गरेका छन् ।

लकडाउन लम्बिदै जाँदा विपन्न वर्गका नगरवासी भोकले छटपटाइरहेको हुँदा नगरपालिकाले तत्काल राहत वितरण गर्नुपर्ने उनले सुझाव दिए ।

‘बैठक र मिटिङले मात्र गरीवको पेट भरिदैन,’ नगरपालिकाको कार्यशैली अपरिपक्व र लापरवाहीपूर्ण भएको बताउँदै उनी भन्छन्–‘नगरपालिका यो सङ्कटका बेला धेरै चुकेको छ, अरुका सल्लाह नलिने र आफु पनि केही नगर्ने अपरिपक्वता देखेर दुनियाँ छक्क परिसके ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले कुनै पनि काम बेलामा गरेको मात्र उचित हुने हुँदा गरीव वर्गलाई लकडाउनको सकसका बेला तडपाएर राख्ने कार्य सर्वथा अनुचित भएको बताए ।

‘लकडाउन भएको यति लामो अवधि बितिसक्दा मजदुरलगायतका विपन्न परिवार भोकभोकै मर्ने अवस्था आएको छ,’ मेचीनगर निवासी काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष पाण्डेले लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै भने, ‘नगरवासीको अभिभावक संस्थाको रुपमा रहेको नगरपालिकाले अहिलेसम्म राहत बाँड्न सुरु नगर्नु गम्भीर लापरवाही हो ।’

कोरोना भाइरस सङ्क्रमणको रोकथाम र विपन्न परिवारलाई राहत वितरण कार्य सँगसँगै अघि बढाउनु पर्ने सुझाव राख्दै काङ्ग्रेस नेता पाण्डेले मेचीनगर नगरपालिकाको नेतृत्व लकडाउनले गरीव समुदायको चुल्हो नबलेको सङ्कटपूर्ण अवस्थामा रमिते जस्तो बनेको आरोप लगाए ।

‘कोरोनाको सङ्कट विश्वव्यापी भएको कारण यसले पार्ने भावी असरहरु अझ कहालिलाग्दो हुनेछन्, तर यस्तो बेला दैनिक ज्यालादारी गरेर विहान बेलुकाको गाँस जुटाउने विपन्न वर्ग सबैभन्दा छिटो सङ्कटमा पर्छन् भन्ने बुझ्न जरुरी छ’–उनी भन्छन् ।

नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा पर्याप्त बजेट छुट्याउन नसकेको र स्थानीय उद्योगी व्यवसायी तथा दाताहरुबाट सहयोग जुटाउने यथेष्ट पहलसमेत गर्न नसकेको काङ्ग्रेस नेता पाण्डेले दावी गरे ।

विपतको बेला सबै राजनीतिक दल, सामाजिक संघ संस्था, पेशा व्यवसायीहरु निजी स्वार्थभन्दा माथि उठेर मानव जातिमाथि नै चुनौति दिइरहेको कोरोना भाइरससँग जुध्नु पर्ने आवश्यकता औल्याउँदै उनले मेचीनगर नगरपालिकाले उचित समन्वयकारी भूमिका निर्वाह गर्ने हो भने मेचीनगरभित्रैबाट विपत कोषमा करोडौं सहयोग जुट्ने सम्भावना रहेको बताए ।

नगरपालिकाको नेतृत्वले नगरमा क्रियाशील प्रमुख राजनीतिक दल, सामाजिक संघ संस्था, विज्ञ तथा बुद्धिजीवी, उद्योगी तथा व्यवसायी लगायतसँग समन्वय र हातेमालो गर्न नसकेको उनको आरोप छ ।

नगरपालिकाले विपत व्यवस्थापनमा विज्ञ र दक्ष व्यक्तिहरुको उपयोग गर्नुपर्ने र कोष अभिवृद्धिका लागि दाताहरुले विश्वास गर्नलायक वातावरण तयार गरिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: