अर्जुन कार्की
भद्रपुर ÷ विभिन्न अस्पतालमा उपचार सम्भव नभएको ठहरपछि घरै फर्काएर बैतरणी गराइएका एक युवाले भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा पुनर्जीवन पाएका छन् ।
माइ नगरपलिका–३, इलामको दानाबारी निवासी २३ वर्षीय अशेष अधिकारीले ओमसाईको उपचारबाट पुनर्जीवन पाएका हुन् ।
पारिवारिक स्रोतका अनुसार गत चैत ३० गते करिव ३ घण्टा बान्ता भएपछि भोलिपल्ट उनलाई बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो ।
ड्राइभिङ सिक्न तम्सिएका अशेष तेह्रथुमको चुहानडाँडास्थित आफन्तको घरमा दशैँदेखि बस्दै आएका थिए । काका हरि असिमका अनुसार लगातारको बान्ता नरोकिएपछि उनलाई मनमोहन लगिएको थियो । अस्पतालले त्यहाँ सम्भव नहुने भनेपछि विर्तामोडकै अर्को हस्पिटल बिर्तासिटीमा रेफर गरियो । बिर्तासिटी अस्पतालमा बैशाख २ देखि ८ गतेसम्म सामान्य वेडदेखि आईसीयुसम्म राखेर उपचार गरियो ।
बैशाख ७ गते विरामीमा अलिक सुधार आएपछि आईसियुबाट सारियो । तर, ८ गते बेलुका ११ वजे फेरि विरामी सारो भए । उनलाई भेन्टिलेटरमा राखियो । करिव राति १२ वजे डाक्टरहरुले विरामीका आफन्तलाई बोलाएर अशेषको अवस्था नाजुक रहेको जानकारी दिएको काका असिमले बताए । विरामीको किड्नीमा समस्या देखा परेको डाक्टरको भनाई छ ।
अन्तिम अवस्था देखेर विरामीलाई घर लगियो । घरमा ल्याएर हिन्दु परम्परा अनुसार बैतरणी लगायतका काम परिवारले गरेका थिए । विराटनगरका केहि डाक्टरहरुको सल्लाह अनुसार बैशाख १० गते दिउँसो ४ वजे विरामीलाई ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो ।
ओमसाई अस्पतालको मेडिकल वार्डको २ नम्बर वेडमा विरामी अशेषलाई भर्ना गरेर उपचार गरेपछि क्रमशः सुधार आएको परिवारले जनाएको छ । डा. कपुरी र हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलका अनुसार विरामीको किड्नीमा समस्या र फोक्सोमा पानी जमेको थियो । करिव ६ दिनको अथक प्रयासले विरामी निको पार्न सफल भएको डा. कपुरीको भनाई छ ।
बैतरणी गरेर नाजुक अवस्थामा रहेको विरामी पुरै जाति भएर ठमठमी हिँड्ने पछि अस्पतालले अशेषलाई डिस्चार्ज दिएर घर पठाएको काका असिमले बताए । काका असिमका अनुसार ओमसाईमा ८० हजार रुपैयाँ, मनमोहन अस्पतालमा सामान्य र बिर्तासिटिमा ३ लाख ५० रुपैयाँ खर्च भएको छ ।
विरामीका परिवारले स्वस्थ भएर घर फर्किनु अघि ओमसाइ पाथिभरा हस्पिटलका डाक्टर, सञ्चालक तथा व्यवस्थापनलाई सस्तो र भरपर्दो उपचारका लागि धन्यवाद दिएका छन् ।