‘बैशाख १२’ को बार्षिकी र खलनायक राज्य

  प्रकाशित मिति
११ बैशाख २०७३, शनिबार ०४:२२


oli 1भोलि ‘बैशाख १२’ अर्थात गत बर्ष नेपाल र नेपालीलाई जरैदेखि हल्लाएर बिक्षिप्त बनाउने गरी महाभूकम्पको कम्पन्न भएको बार्षिकीको दिन । यो एक बर्ष या भनौँ २०७२ साल भरी नै हामीलाई त्यै महाभूकम्पको कम्पन्नले हल्लाइरह्यो । ८ हजार भन्दा बढीको ज्यान लिएको त्यो कम्पनले हजारौँलाई अङ्गभङ्ग हुने गरी घाइते बनायो भने लाखौँ मानिसलाई घरबार बिहिन बनायो ।

त्यो कहालीलाग्दो ‘बैशाख १२’ को दिन बितेको पनि एक बर्ष भयो । तर के एक बर्ष पूरा गर्दैगर्दा भूकम्पले पीडित बनाएकाहरूप्रति राज्य वास्तविक रुपमा गम्भीर देखियो त भन्ने प्रश्न मात्रले पनि राज्यलाई धिक्कार्न मन लाग्छ ।

एक छिन सोचेर हेरौँ, त्यो महाकम्पन्नले हामी झापाबासीलाई त हल्लायो मात्र । अनि सोचौँ एक छिन हल्लाउँदा मात्र पनि हाम्रो हालत के भएको थियो । त्रासले केहि दिन मात्र घर बाहिर खुला आकाशको बास हुँदा हाम्रो अवस्थाको बारेमा कल्पना गरौँ । अनि एक पलका लागि हाम्रो ध्यान सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, धादिङ लगायतका जिल्लामा आज पनि खुला आकाश मुनी जीवन बिताइरहेका हामी जस्तै नेपाली नागरिकको जीवनलाई नियालौँ कि उनीहरू कसरी बसिरहेका होलान् ?

हामी कहाँ जस्तै त्यहाँ पनि बुढेशकाल अवस्थाका जेष्ठ नागरिकहरू हुनुहुन्छ, वालवालिकाहरूको सङ्ख्या छ अनि अपाङ्ग, अशक्त, बिरामी सबै खालका नागरिक ती जिल्लामा पनि छन् र आज पनि भूकम्पले दिएको घाउसँगै बाँचिरहेका छन् । कतिले त पीडा खप्न नसकेर जीवन छाडिसकेको अवस्था पनि छ भने केही अहिले पनि अस्पताल धाइरहेका छन् ।

भएको जेथो भूकम्पले सखाप पा¥यो मात्र होइन सँगै रहेका आफन्तलाई भूकम्पले परलोक पु¥यायो । दुधे बालकले आमाको काखबाट बञ्चित हुनुुुुुुुुुुुुुुुुुुुुुु प¥यो भने बैशाखीको सहारामा जीवन जीउने उमेर पुगेका हजुरबुवा हजुरआमाको बुढेशकालको सहारा बनेका आफ्ना सन्तति नै भूकम्पले खोस्यो ।

यो दर्दनाक अवस्था हेर्दा होइन सुन्दा मात्र पनि पीडा छचल्किएर आउँछ । तर के यो पीडा राज्यको बागडोर सम्हालेकाहरूलाई छ त ? पक्कै पनि छैन । काङ्ग्रेसका तत्कालीन सभापति स्वर्गीय शुशिल कोइराला प्रधानमन्त्री हुँदा आएको महाभूकम्पले दिएको पीडा कम गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि जुझारु काम गरेको देखिएन ।

हाम्रा देशका राजनीतिक अगुवाहरू आफु र आफ्ना नातागोता अनि आसेपासेहरूलाई सामान्य रुघाखोकी मात्र लाग्यो भने नेपाली चिकित्सकले उपचार नै गर्न जान्दैनन् । उनीहरूलाई राज्यको सम्पत्ति खर्च गरेर युरोप अमेरिका भएन भने पनि भारतसम्म त लानै पर्छ । तर आज यही देशका नागरिक जीवनकै असीम पीडा र बेदनाले छटपटाइरहँदा हाम्रो सरकार पुनर्निर्माण प्राधिकारणको सिइओमा कसलाई राख्ने भनेर दलीय भागबण्डामा नै लिप्त देखियो ।

कुन दिन पुनः निर्माणको काम सुरु गर्ने भनेर साइत हेराउनमा नै समय खर्च गरिरहेको छ । ती भूकम्प पीडितहरूले यो देशमा सरकार पनि छ, त्यसले नागरिकको सुरक्षाको बन्दोबस्तीमा काम गर्छ भन्ने कुराको सानो अंश पनि देख्न पाएका छैनन् । यही हो त सरकारले गर्नु पर्ने काम ।

संविधान कार्यान्वयनका छलफल तारे होटलमा गर्दै गर्दा भूकम्प पीडित जनता के खाएर बाँचेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ, गएको जाडो मौसम कसरी बिताए अनि आउने बर्षा अगाडि नै उनीहरूको घर बन्छ कि बन्दैन भन्ने बिषय तारे होटलको छलफलको बिषय बन्यो त ? पक्कै बनेन र त एक बर्ष बितिसक्दासम्म पनि भूकम्पको पीडा आलै छ ।

सरकारले चाहेको भए सबै नियम र कानूनलाई एक छिन छोपेर भए पनि आफ्ना नागरिकको सहज जीवन यापनमा सबै ध्यान केन्द्रीत गर्न सक्थ्यो । तर सरकार र राज्यका जिम्मेवार ठाउँमा बसेकाहरूलाई त भूकम्प पीडितका लागि आएको राहत सामाग्री माथि गिद्धे नजर लगाउँदैमा समय पुगेन । निजी क्षेत्र र विभिन्न दातृ निकायले गरेको सहयोगसम्म पनि व्यवस्थित गर्न नसकेर वास्तविक पीडितको साटो नेताका अगुवा पछुवा र सुरक्षा अङ्गका उच्च ओहोदाका व्यक्तिमा सीमित हुन पुगेको राहत मात्र होइन पुनः निर्माण पनि सिंहदरवारका टेवलका फाइलहरूमा नै अलमलिरहेका छन् ।

आफ्ना देशका नागरिक यति धेरै पीडामा हुँदा राज्य भने यो तहसम्मको खलनायक भएको सायद बिश्वमा पहिलो देश नेपाल नै होला । त्यसैले ‘बैशाख १२’को बार्षिकी मनाउँदै गर्दा ती पीडित नागरिकले फेरि राज्य भएको महशुस गर्ने गरी द्रुत गतिमा पुनर्निर्माणको काम गर्ने तर्फ राज्यको ध्यान पुगोस् ।
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: