बैसाख ३१ को सन्देश

  प्रकाशित मिति
१० जेष्ठ २०७४, बुधबार १०:०६


gobinda-neupane

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भई परिणाम आउने क्रममा नै दोस्रो तहको निवाचनको प्रक्रिया सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचनले बुझ्नेका लागि धेरै सन्देश दिएको छ । नाति पुस्ताको विकल्पदेखि अप्राकृतिक गठजोड समेत नेपाली राजनीतिमा देखिन आए । केन्द्रमा बसेर आफ्नो दल होइन, आफ्नो घमण्ड जित्नुपर्ने अवस्था समेतका कारण कतिपय स्थानमा दल समर्थक जनतामैत्री उम्मेद्वारहरुले दलगत उम्मेद्वारी नपाएपछि स्वतन्त्ररुपमा उम्मेद्वारी दिई विजयी बने । दलको दौराको फेर नसमाती निर्वाचन जितको वैतणी तर्न सकिदैन भन्ने भ्रमसमेत ललितपुर वडा नं. १० बाट नरसिंह व्यञ्जनकारले तोडिदिए । सत्ताको दौडमा जेपनि उचित हुने मनोविज्ञान र जनता त आखिर हाम्रै त हुन् नि भन्ने रोड्याइँ पनि करिव करिवा हिलोमा पछारिएको छ । नेकपा एमाले डोल्पामा नराम्ररी झुक्कियो । परिणाम डोल्पा छार्कातोङसोङ गाउँपालिकाका सोनाङ गुरुङ एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएर जित हात पारे । सोही जिल्लाका डोल्पोवुद्ध गाउँपालिकाका पेम्वा गुरुङ पनि एमालेबाट टिकट नपाएका कारण स्वतन्त्र उम्मेद्वारी दिई विजयको माला पहिरिए । यो घटनालाई स्थानीय जनतामाझ लोकपियता भएको आफ्नो नेता छान्न पाउने जनताको अधिकार माथिको नजरअन्दाजको परिणाम हो भन्दा अत्युक्ति नहोला । आफूलाई अब्बल प्रजातन्त्रवादी भन्ने नेपाली काङ्ग्रेसको चितवन विवाद त सतहमा नै आयो । कास्की काङ्ग्रेस सभापतिले राजीनामा नै दिए ।

आफ्नो दल होइन, आफै जित्नुपर्ने चरम आत्मकेन्द्रित सोच समेत जनताले देख्नु पर्यो । तर, नेतालाई लाजसम्म लागेन । प्रचण्डले संविधानसभामा उम्मेद्वार बनाएका आफ्नी छोरी रेणु दाहाललाई चितवनमा मेयरको उम्मेद्वार बनाए । रेणुको उम्मेद्वारी हुन पाउने उनको अधिकारमाथिको यो प्रश्न होइन । तर, माओवादीमा उनीभन्दा असल कोही थिएन भन्ने प्रश्न जन्मायो । उनी असल र अब्वल नै भए पनि लोकका लागि परिवारवाद हावी भएको देखियो । आफ्नी छोरी जिताउनका लागि उनी नेपाली काङ्ग्रेससँग साझेदारी गरे । आफू जित्नैपर्ने, आफूले जिते लोकतन्त्र अरुले जिते षडयन्त्र देख्ने नेपाली राजनीतिको खराब पक्ष पनि नेपाली मतदाताले बुझ्न थालेको अनुभूति भयो । प्रचण्डकै हकमा भन्नुपर्दा उनलाई मौकामा सबैले हाईहाई गरेकै थिए । पहाडमा आफू सुरक्षित नहुने देखेपछि ०७० को निर्वाचनमा सिराहाका मधेसी जनताले उनलाई साथ दिएका नै हुन् । सिराहा उनका लागि सुरक्षित भयो तर सदाकाल सुरक्षित हुन्छ कि हँुदैन यो त मतदाताले फैसला गर्ने हो । यसपालि चितवनमा जुन दृश्य देखियो यसले पनि आफू जिते निष्पक्ष र अरुले जिते धाँधली भन्ने सङ्केत देखिएको छ । यो आलेख तयार पार्दासम्म रेणु दाहाल झिनो मतले दोस्रो भएकी छन् । आशा गरौँ जनताले उनको कर्म, मर्म र धर्मलाई सम्झेर न्याय दिने नै छन् र त्यो न्यायलाई रेणु लगायत उनको दलले शिरोपर गर्ने नै छ ।

काठमाडौँमा अपेक्षाकृत मत नआउँदा काठमाडौँका मतदातालाई अनेक आरोप लगाउने गरेको पनि सोसल मिडियामा देखियो । काठमाडौँका जनता सर्वोच्च नेता गणेशमानले भने जस्तै रहेछन् वियर र सुकुटीका आधारमा समेत मत दिएको जस्ता अनावश्यक आरोप लगाइयो । नेताहरुलाई थाहा नभएको त होइन होला कि विश्व आज हरेक मानिसको खल्तीमा छ भन्ने कुरा । आजभन्दा २० वर्ष अघि ०५४ सालमा इन्टरनेटको पहुँच थिएन । मोवाइल फोन समेतको पहुँच थिएन । तर, आज भट्टीमा बनेको विलदेखि वुथ लुटेका भिडियो समेत सेकेण्डभित्रमा संसारमा पुगेको छ । काम गर्दा होस् नपुर्याउने अनि पछि खण्डन गरेर समय खेर फाल्दा एकपछि अर्को गल्ती देखिएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन होस् र वुथ कब्जा सवै श्रव्यदृश्य सबैका मोवाइलमा कैद छन् ।

दोस्रो चरणको निर्वाचनका लागि प्रशस्त शिक्षा प्राप्त भएका छन् । शीर्ष भनिएको नेतृत्वले आफ्नो भक्तभन्दा जनताको दुःखसुखमा साथ दिन सक्ने, जनतामा भिजेको या भोलि भिज्न सक्ने उम्मेद्वारी छनोट गर्नमा ध्यान दिन सक्यो भने जनता खुसीसाथ मतदानमा सरिक हुनेछन् । होइन जनताले नराम्रो मध्येको कम नराम्रो छान्नुपर्ने अवस्था तयार गरियो भने ‘खाए खा नखाए घिच’ भन्ने उखानको चरितार्थ हुनेछ । यो स्थानीय सरकार भएकाले जनताले समेत दलको आग्रह पूर्वाग्रह भन्दा पनि आफूलाई काम लाग्ने र आफू र आफ्नो समाज समुदायको हित गर्ने उम्मेद्वारलाई मतदान गर्नुपर्नेछ ।
पञ्चायतमा काठमाडौँमा नानी मैया दाहाले चुनाव जितेकै हुन् अनि जसले पनि जित्ने छ भन्ने सोच राख्यो भने तपाईको अन्दाज फेल खान सक्छ । जिते पनि स्थानीय निकायले गर्ने कामका बारेमा उसलाई जानकारी नै हुँदैन । यी सोचहरु हिजो काम लाग्ने थियो । किनकि हिजोको चेतना त्यही खालको थियो, आज आममानिसमा चेतना बढी सकेको छ । सूचना तथा सञ्चारमा अभ्यस्त पुस्ताले आज हुने मतदानमा ठुलो हिस्सा ओगटेको छ । तपाई मत माग्न जाँदा जनताले प्रश्न सोध्दैनन् । किनकि उनीहरुमा तपाईप्रति आशङ्का हुन सक्दछ नसोधे पनि तपाईका उम्मेद्वारहरुले । जनताले किन तपाई र तपाईका उम्मेद्वारलाई मत दिने ? त्यसको बारेमा मतदातालाई बुझाउन सक्नुपर्दछ । विकासका थोत्रा अलाप भट्याउनु भन्दा जनतालाई प्रश्न गर्न सक्ने बनाउनु आजको आवश्यकता हो । जब मैले तिरेको करबाट मेरो किन उन्नति हुँदैन भनेर जनताले भन्न सक्छन् । त्यसवेला विकासको अनुभूति आफै हुन्छ । म सर्वशक्तिमान र जनता त मेरै हुन् भन्ने धारणा तत्काल परिवर्तन हुन आवश्यक छ ।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो र त्यसको सुन्दरता सबैले ख्याल गर्नु पर्दछ । सुन्दरताका नाममा अश्लिलता प्रदर्शन गर्नु शोभा दिँदैन । अश्लिताको प्रदर्शन आज छोप्न सकिदैन, सेकेण्ड भरमा नै विश्वभर पुग्नेछ । शेरबहादुरले होइन नेपाली काङ्ग्रेसले जित्नु पर्यो । केपी ओली होइन नेकपा एमालेले जित्नु पर्यो । प्रचण्डले होइन माओवादीले जित्न पर्यो । व्यक्तिवादी चरित्र अब ज्यादै प्रदर्शन गर्नु हँुदैन । आफू हारे श्रीमती ल्याउने, साली ल्याउने जस्ता कार्य सदाकाल गरिरहँदा यसले राजनीति नै सखाप हुनेछ । राजनीति धन्दामा रुपान्तरण भई सक्यो । अब राजनीतिलाई राजनीतिकै सीमामा राखौँ, धन्दा बन्द गरौँ । वैसाख ३१ ले दिएको सन्देश मनन् गरौँ । आगामी निर्वाचनमा योग्य उम्मेद्वार र स्वस्थ मतदानको अभ्यास गरौँ । यसैले लोकतन्त्रको सुनिश्चितता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: