बोक्सी आरोप लगाउने मातासहित दुई महिलाविरुद्ध प्रहरीमा उजुरी

  प्रकाशित मिति
३१ जेष्ठ २०७६, शुक्रबार १०:३६


मेचीनगर । मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख इन्स्पेक्टर टिका कार्कीले वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाउने मेचीनगर–९ की कुमारी चम्लागाई र आफुलाई बुढीबजै भनेर चिनाउँदै फारफुक गर्ने माता सावित्री शिवाकोटीविरुद्ध उजुरी परेको बताए ।

विरामी भएर झारफुकका लागि गत जेठ ७ गते माताको मन्दिरमा पुगेकी चम्लागाईले बक्ने क्रममा साँध जोडिएको छिमेकी वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाएकी थिइन् ।

झारफुकको क्रममा चम्लागाईलाई गालामा चड्कन लगाउँदै र कपाल भुत्ल्याउँदै माता शिवाकोटीले बोक्सी बक्न लगाएको भिडियो सार्वजनिक भएको थियो । भिडियो रेकर्डमा माताले पिटेपछि वृद्धा बस्नेतलाई चम्लागाईले बोक्सीको आरोप लगाएको प्रस्ट देख्न र सुन्न सकिन्छ ।

बोक्सीको आरोप लगाएपछि वृद्धा बस्नेतले आपत्ति गर्दै आएकी थिइन् । तर गाउँमै मुद्धा मिल्न स्थानीय वडाका अध्यक्ष गोपाल खड्का लगायत गाउँकै केही महिला अगुवाले दवाव दिएको वृद्धा बताउँछिन् ।

जनप्रतिनिधि र केही गाउँलेहरु माता र बोक्सी आरोप लगाउनेहरुकै पक्षमा लागेपछि असह्य अनुभूति गरेकी पीडित वृद्धा बस्नेतले जेठ १८ गते इलाका प्रहरी कार्यालय धुलावारीमा आरोप लगाउने चम्लागाईविरुद्ध कानूनी कार्वाहीको माग गर्दै उजुरी दिएकी थिइन् । माता शिवाकोटीविरुद्ध विहीवार उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरी इन्सपेक्टर कार्कीले पीडितको उजुरी बमोजिम आरोपीहरुलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको बताएका छन् । आरोपी चम्लागाई घरमा नभेटिएको हुँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मेचीनगरका प्रमुख विमाल आचार्य र उपप्रमुख मीना उप्रेतीले पीडित वृद्धा बस्नेतको घरैमा पुगेर न्याय दिलाउन मदत गर्ने आश्वासन दिएका छन् ।

दुई÷तीन वर्षदेखि लड्ने बरबराउने समस्याबाट ग्रसित चम्लागाईले माताकोमा आफूलाई कुटपिट भएको र बक्ने क्रममा आफूले कसलाई के भने भन्ने थाहा नभएको बताइन् ।

चम्लागाईका पति शिव चम्लागाईले वृद्धासँग कुनै रीसइबी नभएको बताए । ‘१८ वर्षअघि आएर बसेको गाउँमा ती वृद्धा आमासँग हाम्रो कुनै रिसइबी छैन’–उनले भने ।

दुई बर्ष अघि पनि बृद्धालाई बोक्सीको आरोप लगाइएको थियो । स्थानीय भद्रभलाद्मी बसेर पुनः आरोप नलगाउने शर्तमा त्यसबेला छिमेकी कुमारी चम्लागाईलाई माफी मगाएको स्थानीयले बताएका छन् ।

वडा नम्बर–९ का ध्यक्ष गोपाल खड्काले एक साताअघि ती वृद्धा वडा कार्यालयमा आएर रुन थालेपछि आफूले नै वडाध्यक्षलाई सम्बोधन गरेर निवेदन लेख्न लगाएको बताए ।

‘बिरामी चम्लागाईले वडामा आएकी वृद्धाको खुट्टा ढोगेर माफी माग्न खोज्दा बाहिर निस्किनुभयो’, वडाध्यक्ष खडकाले भने–‘चित्त नबुझेकाले त्यही दिन इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिन जानुभएछ । मलाई पछि थाहा भयो ।’

वडाध्यक्ष खड्काले यो घटनाले यस्तो रुपमा लिन्छ होला भन्ने नसोचेको बताउँदै भने–‘समाजको दबाबले मिलाएँ ।’

माता भनिएकी शिवाकोटीले आफ्नो मुखबाट बोक्सी भन्ने शब्द उच्चारण नगरेको दावी गरिन् । ‘बिरामीलाई उपचार गर्ने क्रममा कुटपिट अनिवार्य हुन्छ नत्र उनीहरु बोल्दैनन्’, उनले भनिन्–‘त्यो हाम्रो विधि हो, मैले बोक्सी भनेको होइन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: