मेचीनगर, २ बैशाख । भारतको सिलगढीस्थित क्वारेन्टाइनबाट भागेर नेपाल पसेका गोरखा घर बताउने एक युवालाई भारततिरै फर्काइएको छ । एक नेपाली सुरक्षा अधिकारीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई बुझाइएको जनाएका छन् ।
चैत ३० गते अपरान्ह ४ बजेतिर काँकरभिट्टा नाकाभन्दा एक किलोमिटर दक्षिण मेचीनगर–७ स्थित चिया बगान पार गरेर पूर्वी भानुटोलमा आइपुगेका ती युवालाई सशस्त्र प्रहरी वलको टोलीले जताबाट आएको हो उतै फर्काइदिएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार हातमा पानीको हरियो बोतल र पछाडि कालो ब्याग भिरेका अठार वर्षीय ती युवाले लकडाउनका कारण खान बस्न भारतमा समस्या भएको हुँदा लुकीछिपी मेची नदी तरेर आएको बताएका थिए ।
लगत्तै सेतो गाडीमा आएका सुरक्षाकर्मीहरुले उनलाई जुन बाटो आएको हो त्यतै जना आग्रह गरेका थिए । जान नमानेका ती युवालाई सुरक्षाकर्मीले जबर्जस्ती नै मेची नदी तारेर एसएसबीको जिम्मा लगाए ।
सीमा तैनाथ सुरक्षाकर्मीहरुलाई छलेर नेपाल पसेका युवालाई भारततिरै फर्काइएको भिडियो स्थानीयबासीले खिचेर लोकतन्त्र पोस्टलाई उपलब्ध गराएका छन् ।
‘ज्यानको समेत जोखिम मोलेर आफ्नै मातृभूमिमा आइसकेको व्यक्तिलाई फेरि भारततिरै फर्काएको दृश्य देख्दा मन अमिलो भयो,’ एक प्रत्यक्षदर्शीले भने–‘भारतबाट आएकाहरुलाई त खान बस्न दिएर राखिएको छ, ती विचरा युवालाई क्वारेन्टाइनमा थपक्कै राखिएको भए हुनेथियो जस्तो लाग्यो ।’
झापास्थित सुरक्षा निकायका एक अधिकारीले भारतबाट लुकीछिपी ती व्यक्ति आएको स्वीकार गर्दै नेपाल र भारतबीचको समझदारी अनुसार बोर्डर पार गरेर आउनेलाई जताबाट आएको हो उतै फर्काउने नियम भएको बताए ।
‘भारत जना खोज्नेलाई नेपालले राम्रो व्यवस्था गरेर क्वारेन्टाइनमा राख्दै आएको छ,’ ती सुरक्षा अधिकारी भन्छन्–‘त्यसैगरी भारतले पनि नेपालीहरुलाई क्वारेन्टाइनमा खान र बस्न दिएर राख्ने भन्ने दुई देशबीचको समझदारी छ ।’
फर्काइएको व्यक्तिलाई भारतीय एसएसबीले किन आइस् भनेर फेरि कुटपिट गरेको भन्ने सामाजिक सञ्जालको खबरलाई सुरक्षा अधिकारीले गलत बताएका छन् । हाल ती युवा भारतको सिलगढीस्थित क्वारेन्टाइनमा भएको बताइएको छ ।