विराटनगर, २० भदौ । भारतीय दूतावासका पूर्व कर्मचारी लागू औषधसहित पक्राउ परेका छन् ।
जनकपुर घर भई धरानमा डेरा बस्ने ३३ वर्षका दन्त चिकित्सक डा. सन्दिपकुमार साह पक्राउ परेका हुन् ।
गत बुधवार विराटनगरको एकीकृत भन्सार जाँच चौकीबाट को९प ८५३७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई रोकेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो ।
बाइकको लेगार्ड उनले प्लास्टिकको झोलामा लागुऔषध बेरेर ल्याउँदै थिए । प्रहरीले स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, डाइलेक्स डीसी ९ बोतल र नाइट्राजेपाम २० ट्याब्लेट बरामद गरेको हो ।
साहबाट प्रहरीले भारतीय दूतावासको परिचयपत्र र धरानस्थित ‘पेन्सन पेइङ अफिस’को कर्मचारी पत्र समेत फेला पारेको छ ।
कोरोनाका कारण बोर्डरमा आउजाउ गर्न नदिइएको अवस्थामा समेत साह भारतीय राजदूताबासको त्यही परिचयपत्र देखाएर जोगमनी ओहोरदोहोर गर्दै आएका थिए ।
लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर उनको अनुसन्धान भइरहेको छ ।
अभियुक्त साहले बिरामी आफन्तका लागि औषधिका रुपमा प्रयोग गर्न लागुऔषध ल्याएको जिकीर गरेका छन् ।