बौरिएला धुलावारी स्वास्थ्य केन्द्र ?

  प्रकाशित मिति
११ चैत्र २०७३, शुक्रबार ०९:३७


phc 2धुलावारी । प्रसुति सेवाबाहेक अन्य स्वास्थ्योपचार सेवामा नाजुक देखिएको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले पहिलोपल्ट जनस्तरबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेपछि आमूल सुधारको आशा पलाएको छ ।

स्वास्थ्य मन्त्रालय स्तरीय निर्णयबाट युवा समाजसेवी खड्गबहादुर धिमाल सो स्वास्थ्य केन्द्र सञ्चालक समितिको अध्यक्ष मनोनित भएका छन् । ७ सदस्यीय समितिमा नगरपालिका लगायतबाट सदस्यमा प्रतिनिधित्व रहने भनिए पनि अरु पदाधिकारीको चयन बारे स्पष्ट निर्देशिका आउन बाँकी छ । तर सुधारका लागि अध्यक्ष धिमालले सक्रियता सुरु गरिसकेका छन् ।

‘तपाई कति समयमा टेलिफोन पुनः जोड्नु हुन्छ ?’–अध्यक्ष बनेपछि विहीवार पहिलोपल्ट स्वास्थ्य केन्द्र पुगेका अध्यक्ष धिमाललाई पत्रकारहरुको पहिलो प्रश्न थियो ।

उनले जवाफमा भने–‘एक महिनाभित्र ।’ उनले एक महिना बारे थप अथ्र्याउँदै भने–‘एक महिना अघि भन्न खोजेको हुँ, त्यो सात दिन पनि हुन सक्छ ।’

मेचीनगरको सबैभन्दा ठूलो यो सरकारी स्वास्थ्य केन्द्रको ६०१३५ नम्वरको टेलिफोनको विल नतिरेर लाइन काटिएको बर्षौ भइसकेको छ । अध्यक्ष धिमालले विहीवारै टेलिफोन कार्यालय गएर बक्यौता बुझ्दा ३६ हजार २ सय रुपैयाँ पुगिसकेको पत्तो लागेको जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा पद वहालीका लागि गएका अध्यक्ष धिमालले बस्ने कुर्सी र टेबुल पाएनन् । ‘उहाँलाई दिन नचाहेको होइन, वास्तवमा स्वास्थ्य केन्द्र आर्थिक रुपमा नाजुक अवस्थामा पुगिसकेको छ कि त्यहाँ अध्यक्षको बस्ने कोठा, कुर्सी र टेबुल केही पनि जोहो गर्ने परिस्थिति नै छैन’–स्वास्थ्य केन्द्रका एक जानकारले बताए ।

केही साथीसँग केन्द्र पुगेका अध्यक्ष धिमाललाई केन्द्रकी मेडिकल अधिकृत डा. एलिजा गौतमको कार्यकक्षमा सरासर पुर्याइयो । साँघुरो कोठामा अटाइनअटाइ बसेर सिनियर कर्मचारी र डाक्टरहरुसँग धिमालले परिचय आदान प्रदान गरे ।

केन्द्रमा हाल दुई जना एमबीबीएस डाक्टर कार्यरत छन् । डा. गौतम कार्यालय प्रमुख हुन् भने डा. जमुना न्यौपाने पनि कार्यरत छिन् । सिनियर स्टाफ नर्स शशिकला राई लगायतका कर्मचारी र स्थानीय सामाजिक कार्यकर्ता अमिन अली, सुदय पनेरु लगायत सो अवसरमा उपस्थित थिए ।
केन्द्रको समस्या र अवस्था नाजुक रहेको डाक्टर तथा कर्मचारीहरुले बताइसके पछि फेरि पत्रकारहरुले अध्यक्ष धिमाललाई प्रश्न गरे–‘कहिलेसम्ममा इमर्जेन्सी सेवा सुरु गर्नु हुन्छ ?’

जनशक्ति अभाव र उचित व्यवस्थापनको कमीका कारण बर्षौदेखि बन्द रहेको इमर्जेन्सी सेवा खुलाउने आफ्नो प्राथमिकता रहने बताउँदै उनले भने–‘चाँडै, इमर्जेन्सी सेवा सुरु गराउन पहल गर्छु ।’ उनले इमर्जेन्सी सेवा सुरु गर्नका लागि तिथिमिति भने तोकेनन् ।
नयाँ सेवा सुरु गर्ने कुरा त परै जावोस्, पुराना योजना र विग्रेभत्केका विषयमै काम गर्न नयाँ समितिलाई निकै चुनौतिपूर्ण देखिन्छ । एक पछि

अर्को समस्याको चाङ देखेर पनि अध्यक्ष धिमाल आत्तिएका भने रहेनछन् ।
‘समस्या छ भनेर नै मलाई समाधानका लागि सरकारले मनोनित गरेर पठाएको हो’, बलिायो आत्मविश्वास व्यक्त गर्दै अध्यक्ष धिमाल भन्छन्–‘धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रलाई एउटा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने मेरो लक्ष्य र योजना छ ।’

उनले ५० बेडको अस्पताल बनाउने र स्थानीय नगरवासीले यसलाई उपचारका लागि आशा र भरोसा गर्नलायक बनाउने आफ्नो प्रयास रहने उनले सुनाए । तर त्यसका लागि उनले भनेका छन्–‘म एक्लैले जादुको छडी चलाएर समस्याको समाधान गर्ने होइन भन्ने यथार्थ बुझिदिन म सबैलाई आग्रह गर्न चाहन्छु र मेरो इमान्दार प्रयासमा हातेमालो गरिदिन नगरका सम्पूर्ण राजनीतिक दल र सङ्घ संस्थाहरुलाई अपिल गर्दछु ।’
बर्थिङ सेन्टरको रुपमा जिल्लाकै उत्कृष्ट स्वास्थ्य केन्द्र भनेर जिल्ला जनस्वास्थ्य कार्यालयले प्रशंसा गरे पनि त्यो ख्यातिलाई जनमानसमा प्रचार गर्न नसकिएको सिनियर स्टाफ नर्स शशिकला राई बताउँछिन् ।

‘कर्मचारीहरुले तलब पाए पनि नपाए पनि कर्तब्यनिष्ट भएर सेवा गरिरहेका छन्, मूल्याङ्कन गर्ने कोही भएन’, उनले गुनासो र अपेक्षा दुबै यसरी बताइन्–‘अब समिति गठन भएको छ, केही राम्रो हुने आशा जागेको छ ।’

समस्या कतिसम्म रहेछ भने खानेपानी कार्यालयलाई पानीको महसुल बुझाउन ७० हजार रुपैयाँ बाँकी नै छ । धन्न खानेपानीले लाइन काटेको छैन । एक्स रे मेशिन कुनै अँध्यारो कोठामा थन्क्याइएको छ । त्यहाँ माकुराले लगाएको जालो सफा गर्ने कोही छैन । जनशक्ति अभावले नचलाउँदा त्यो मेशिन थोत्रिसकेको छ ।

‘मर्मत गर्दा चलाउन सकिएला’–स्वास्थ्य केन्द्रका जिम्मेवार कर्मचारीहरु बताउँछन् । नयाँ प्रसुति भवन बने पछि पुरानो विल्डिङ ह्वाङ्ह्वाङ्ती खाली छ । पुराना सामान थन्काउने गोदाम बनेको त्यो भवनलाई भुइँचालोले चर्काएको पनि छ । कर्मचारीहरु भन्छन्–‘नगरपालिकाका इन्जिनियरहरुले कुनै पनि बेला भत्किन सक्छ, नबस्नु भनेका छन् ।’

प्राविधिक जनशक्ति केही मात्र अपुग छ । मेडिकल अधिकृत डा. एलिजा गौतमले २ जना सीएमएको नयाँ नियुक्तिको प्रबन्ध गरिए तत्कालै इमर्जेन्सी सेवा सञ्चालन गर्न आफुहरु तयार रहेको बताइन् । उनी यहाँ कार्यालय प्रमुख भएर आएको दुई साता मात्र भएको छ ।

औसतमा दैनिक ७० जना विरामीले सेवा लिने यस केन्द्रमा हाल दुई एमबीबीएस डाक्टर, एक जना अहेव, एक स्टाफ नर्स, २ जना अहेव, ३ जना अनमि, एक जना ल्याव असिस्टेन्ट, एक जना ग्रास्वाकाबाट बढुवा भएका अहेव, २ जना कार्यालय सहायक र निजी स्रोतबाट समितिले नियुक्त गरेका ४ जना कर्मचारी कार्यरत छन् ।

केन्द्रले ओपीडी सेवा, प्रसुति सेवा, ल्याव सेवा, माइनर सर्जरी सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, टीभी–कुष्ठरोग डट्स उपचार सेवा, नियमित खोप लगायतको सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

मेचीनगरको भौगोलिक आधारमा सदरमुकाम मानिएको धुलावारीको यो स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने, उपचार सेवालाई विश्वसनीय तुल्याउने, नगरपालिका लगायतका निकायबाट यथेष्ट सहयोग जुटाउने र साँच्चिकै अस्पतालको रुपमा विकसित बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै अध्यक्ष धिमालले स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुलाई सुविधा, सुरक्षा र सम्मान दिलाउन आफुले केन्द्रसम्मै पहल गर्ने बताएका छन् ।

अध्यक्ष धिमालले केन्द्रको भौतिक संरचना, उपचार कक्ष र पुरानो खाली भवनको समेत विहीवार निरीक्षण गरेका छन् । आफै विरामी जस्तो अवस्थामा पुगिसकेको धुलावारी स्वास्थ्य केन्द्रलाई आमूल सुधारको खाँचो छ । विगतमा नगरपालिकाका कार्यकारी अधिकृत आफै अध्यक्ष हुन्थे । तर अहिले जनस्तरबाट आएका अध्यक्षबाट सबैले धेरै अपेक्षा गरेका छन् । नयाँ अध्यक्ष र उनको समितिले यसलाई कायापलट गर्न सक्छ कि सक्दैन ? यसको उत्तर पाउन केही महिना अध्यक्षको काम हेर्ने पर्ने हुन्छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: