बौरिन खोज्दैछ तस्करी

  प्रकाशित मिति
११ कार्तिक २०७५, आईतवार ०७:४८


भद्रपुर । झापाको काँकरभिट्टा र भद्रपुरबाट सुपारी र कपडाको तस्करी बढेको छ । भन्सार छलेर सामान भित्र्याउने धन्धामा केही पुराना र नयाँ कारोवारीहरु सक्रिय रहेका छन् ।

भन्सार र प्रहरीलाई छलेर काँकरभिट्टाबाट सुपारी भारततिर लैजाने र भद्रपुरबाट कपडा नेपालतिर ल्याउने धन्धा मौलाउन थालेको हो ।

एक साता यता यी दुई नाकामा प्रहरीले धन्धामा संलग्न साना व्यापारीका लाखौँ मूल्यका सामान पक्रेर सार्वजनिक गरेको छ ।

तर जानकारहरु साना व्यापारीको भन्दा ठूला धन्धावालहरुले राति र दिउँसो भन्सार वरपरबाटै करोडौँको माल वारिपारि गरिरहेको बताउँछन् भने मूल बाटोबाटै न्यून मूल्याङ्कनमा भारी मात्रामा सामान भित्र्याइरहेका छन् ।

विगतमा सुपारी नाकाको रुपमा दुर्नाम काँकरभिट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मूल नाकाबाट एक किलोमिटर उत्तर र दक्षिणसम्म सुरक्षाकर्मीको बाक्लो तैनाथी गरेर तस्करी निष्तेज बनाएको थियो ।

त्यसबेला सुपारी पारि लैजाने धन्धामा संलग्नहरु अहिले अर्कै व्यापारमा लागेका छन् । तर तिनकै कारिन्दा रहेका केही धन्धावालहरु हाल सुपारी तस्करीलाई व्यूँताउने ध्याउन्नमा लागेको स्रोतले जनाएको छ ।

धन्धावालाहरुले बाहुनडाँगी र ज्यामिरगढीको खुला सीमा क्षेत्रमा पुरानै अखडा जमाउन थालेको र त्यसमा केही राजनीतिक संरक्षणको गन्ध समेत आउन थालेको छ ।

उता भद्रपुरमा सरकारले नयाँ छुट्टै भन्सारको मान्यता दिए पनि तस्करीको पुरानै सन्सार चलिरहेको छ ।

नवनिर्मित मेची पुलबाट उत्तर र दक्षिण दुबैतिर कपडा र सुपारीका धन्धावालहरु सलबलाउन थालेको देखिन्छ ।

भारतको विहार, बङ्गाल र नेपालको त्रिकोणात्मक सीमाक्षेत्र भएकाले भद्रपुरमा तस्करी चलाउन सहज हुने धन्धाका नाइकेहरुको निष्कर्ष हुनसक्छ ।

भद्रपुरको अबैध व्यापारलाई नियालिरहेका स्थानीय एक व्यक्तिका अनुसार पुल सञ्चालन हुने आशामा रहेका धन्धावालाहरुले अब भन्सार र प्रहरीलाई छलेर मूल नाकाबाटै सामान छिराउने अवसर हेरिरहेका छन् ।

विगतमा मेची पुल नहुँदा सामान ओसार्ने तरीका बेग्लै थियो । लोडसेडिङले अँध्यारो भएका बेला र प्रहरीको गस्ती अन्तै मोडिएको मौकामा सामान वारिपारि गराइन्थ्यो ।

दुबै नाकामा सुपारी र कपडा बाहेक लागू औषधको धन्धा पनि ठूलै चल्ने गरेको छ । यसमा पूर्व सेवनकर्ता मात्र नभएर केही ठूलाबडाका छोराछोरीहरु समेत लागेको पाइएको छ ।

सीमा नाकामा अपराध र धन्धा बढे पनि प्रहरीको जनशक्ति बढ्न सकेको छैन । थोरै सङ्ख्यामा खटिने प्रहरीलाई सुरुमा प्रलोभनमा पार्ने र नमाने झुक्याएर सामान छिराउने दाउमा धन्धावालाहरु लागेका छन् ।

तिहार र छठ पर्व नजिकिएको बेला पटाका र खाद्य सामानको तस्करी समेत भइरहेको छ । सीमामा तैनाथ सुरक्षाकर्मीहरुले सकेसम्म नियन्त्रण प्रयास गरे पनि धन्धा पुरै रोकिएको छैन ।

अबैध धन्धा बढ्न थाले पनि प्रहरी निकै प्रभावकारी रुपमा परिचालन भएको कारण तस्करीमा संलग्नहरुले खुलेआम धन्धा गर्ने दुस्साहस भने गरेका छैनन् ।

झापाको प्रहरी नेतृत्व र सीमामा तैनाथ सुरक्षाकर्मीको कत्र्तव्यपरायणतामाथि प्रश्न गर्ने ठाउँ देखिएको छैन ।

झापाको प्रहरीले सामाजिक सुरक्षा र शान्ति अमनचयन स्थापनामा उल्लेखनीय सफलता पाउँदै आएको छ ।
पछिल्लो समयमा बलात्कार, महिला हिंसा, सवारी दुर्घटना, चोरी र ठगीका अपराध न्यूनीकरण हुँदै गएको छ ।

प्रहरीको ध्यान आन्तरिक सुरक्षा र शान्ति स्थापनामा गएको कारण सीमामा तस्करी भने बढ्ने सम्भावनालाई नकार्न सकिन्न । तर सीमामा हुने अबैध धन्धामा प्रहरी निकाय वा तिनको नेतृत्व मिलेमतोमा नभएको हुँदा मौलाउन खोजिरहेको तस्करीलाई तह लगाउन प्रहरी सफल बन्ने आशा गरिएको छ ।
………………

नाकामा प्रहरी सक्रिय
भद्रपुर । भारतबाट लुकाइछिपाई भन्सार छलेर ल्याइएको ३ लाख रुपैयाँभन्दा बढीको विभिन्न सामान वरामद गरेको प्रहरीले जनाएको छ ।

मेचीनगरको काँकरभिट्टा र झापा गाउँपालिकाको कुमरखोदबाट नेपाल प्रहरीले दुई दिन यता पटाका र लत्ताकपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कुलप्रसाद चौधरीका अनुसार विभिन्न खाले पटाकाहरु २ लाख रुपैयाँको र लत्ताकपडा लगायतका सामान १ लाख रुपैयाँ बराबरको वरामद गरिएको हो ।

भारतबाट भन्सार नतिरी सामान ल्याइएको कारण प्रहरीले ती सामान नियन्त्रणमा लिई भन्सारमा बुझाउँदै आएको जनाएको छ ।

यसैगरी, काँकरभिट्टाबाट ६७ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको सुपारी र लत्ताकपडा शुक्रवार वरामद भएको छ । जसमा २६ हजार २ सय ५० रुपैयाँको सुपारी मात्र थियो ।

भारतबाट भन्सार छलेर भित्राइएको ४५ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा भद्रपुर–५ मेची खोला नजिकबाट प्रहरीले बरामद गरेको छ ।

शुक्रवार दिउँसो मेचीनगर–६ काँकरभिट्टाबाट लागू औषधसहित २ व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले दमक–४ का दिपक तामाङ र मेचीनगर–६ का भानुभक्त बस्नेतलाई लागू औषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।

२४ वर्षीय बस्नेतको शरीर चेकजाँच गर्दा २ ग्राम खैरो हेरोइन र २६ वर्षीय तामाङको शरीर खानतलासी गर्दा ६६ एम्पुल लागू औषध फेला परेको प्रहरी प्रवक्ता चौधरी बताउँछन् ।
……………….

तस्करीको नयाँ माल मरिच
काँकरभिट्टा । नेपालबाट भारततिर तस्करी हुने चल्तीको नयाँ मालसामानामा मरिच अग्रपङ्तिमा आएको छ ।
सीमाका अधिकांश नाकाबाट विदेशी मरिच भारततिर तस्करी भइरहेको छ ।

काँकरभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाकामा प्रहरी र भन्सार छलेर मरिच भारतरित गइरहेको छ ।

तर सीमामा तैनाथ प्रहरीले पनि त्यसलाई रोक्न अथक प्रयास गरिरहेको छ । फाट्टफुट्ट मरिच बरामद समेत हुने गरेको छ ।

स्रोतका अनुसार भारत सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट मरिचको आयात गत वर्षदेखि निषेध गरेको छ ।

भारतमा अत्यधिक माग भएकाले विगतमा सुपारी जस्तै मरिच भारततिर तस्करी हुने वस्तुको अग्रपङ्तिमा परेको हो । यसमा ठूला तस्करहरु नै लागेको बताइएको छ ।

गत वर्ष वीरगञ्ज नाका भएर नेपालमा तेस्रो मुलुकबाट अढाई अर्बको मरिच भित्रिएको थियो । यस वर्ष त्योभन्दा बढी भियतनाम र ब्राजिलको मरिच नेपाल आयात भएको बताइएको छ ।

आयातित मरिच नेपालमा खपत नहुने र त्यसलाई तस्करी बाटो भएर धन्धावालहरुले भारततिरै पुर्याउने गरेका छन् ।
तसर्थ, सीमामा अब मरिचको तस्करी प्रहरीका लागि नयाँ चुनौति भएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: