पृथ्वीनगर । भद्रपुर नगरपालिकाले गाउँ–टोल स्वास्थ्यसम्बन्धी काम छिटो र सहज होस् भन्ने उद्देश्यले वडा नं १, २ र ३ नम्बरमा कार्यरत स्वास्थ्य–स्वयम्सेविकालाई साइकल उपलब्ध गराएको छ ।
१ र २ नं. वडाको संयुक्त कार्यालय, पृथ्वीनगरमा मङ्गलबार एक कार्यक्रमका बीच १२ जना स्वास्थ्य–स्वयम्सेविकालाई साइकल वितरण गरिएको हो । ती वडा साविक पृथ्वीनगर गाविसअन्तर्गतको भूगोलभित्र पर्छन् ।
स्वास्थ्य स्वयम्सेवी संघकी नगर अध्यक्ष सीता आचार्यको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, अतिथिहरु वडा नं. १ वडा अध्यक्ष दशरथ प्रधान, २ नं वडाका अध्यक्ष भीम सुब्बालगायतले साइकल हस्तान्तरण गरेका थिए ।
पृथ्वीनगर स्वास्थ्य चौकीका इन्चार्ज नेत्र दाहालले संचालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिका, स्वास्थ्य शाखा प्रमुख ईश्वरी पौड्यालले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नुपर्ने सूचकहरु पूरा गर्न स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले लगनशील भएर काम गर्न स्वयम्सेविकाहरुलाई आग्रह गरे ।