भद्रपुरमा अर्धनग्न प्रदर्शन

  प्रकाशित मिति
२२ भाद्र २०७५, शुक्रबार १८:०७


भद्रपुर । सिंहदरवार अगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बुले शुक्रवार विहान भद्रपुरमा पनि अर्धनग्न विरोध प्रदर्शन गरेका छन् ।

भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका–३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बुसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।

लिम्बु नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरी भद्रपुर नगरपालिका अगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए । युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेपछि प्रहरीले भद्रपुर नगरपालिका अगाडि पुग्न अघि नै बाटोमा रोकेका थिए । प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै नगरपालिका अगाडि जान अनुमति दिएन ।

करिव एक घण्टा गरिएको विरोध प्रदर्शनका नेतृत्व गरेका लिम्बुले भने, ‘नगरपालिकाले शुक्रवार जनताको करबाट तीजको दर खुवाउने कार्यक्रम गर्न लागेको भन्दै विभिन्न मिडियामा समाचार आएकाले त्यसको विरोधमा प्रदर्शन गरेको हो ।’

तीज जस्तै अन्य धर्महरुको पर्व पनि नगरपालिकाले मनाउनु पर्ने भन्दै उनले भने, ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्नुपर्ने छ ।’ नगरपालिकाले नगरमा बसोबास गर्ने सबै जातजातिका लागि तीज कार्यक्रम जस्तै रकम छुट्टाएर मनाउनुपर्नेमा तीजलाई मात्र प्रोत्साहन दिनु उचित नभएको स्थानीय युवा किशोर थापाले बताए ।

यता, नगरपालिका अगाडि युवाहरुले अर्धनग्न प्रदर्शन गरेपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठसँगको सहकार्यमा युवाहरुसँग छलफलका लागि सहजीकरण मिलाइ दिएका थिए ।

नगरपालिका कार्यालयभित्र लिम्बुसहित गएका युवाहरुले लुगा लगाएर नगर प्रमुख श्रेष्ठ समक्ष गुनासाहरु पोखेका थिए । युवाहरुको गुनासा सुन्दै नगर प्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले एउटा जाति विशेष कुनै पनि कार्यक्रम नगरेको प्रस्टाए ।

उनका अनुसार नगरपालिकाले आयोजना गरेको तीज कार्यक्रममा दर मात्रै होइन, त्यस कार्यक्रममा महिलामाथि हुने यौनजन्य हिंसा, बालमैत्री स्थानीय शासन तथा खुल्ला दिसामुक्त अभियानका नाटक, प्रत्येक वडाका जेष्ठ आमालाई अभिनन्दन लगायतका कार्यक्रम गर्न लागेका उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: