संसद्को नमूना बैठक : राष्ट्रपतिमा आचार्य र उपराष्ट्रपतिमा बस्नेत

  प्रकाशित मिति
९ चैत्र २०७५, शनिबार ०९:३९


भद्रपुर । झापा जिल्ला समन्वय समितिको सभाहलमा शुक्रवार संसद्को बैठक बस्यो ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री लगायत संविधान बमोजिम निर्वाचित भएका राज्यका सबै महत्वपूर्ण अङ्गका प्रमुखहरुको सहभागिता थियो ।

जिससकै हलमा संसद् बैठक बस्ने भए पछि झापाका सहयाक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेश मैनाली, भद्रपुर वडा नं. १० का वडाध्यक्ष काजी खड्का लगायतको दर्शक दीर्घामा उपस्थिति रहेको थियो ।

शुक्रवार अपरान्ह १२ः३० मा बैठकको सुरुमै संसद्मा राष्ट्रपति र उपराष्ट्रपतिलाई शपथग्रहण गराइएको थियो । त्यसपछि राष्ट्रपतिबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाइएको थियो ।

यो दृश्य साँच्चैको संसद्को नभएर युवाहरुद्वारा गठित युवा संसद्को नमुना अभ्यास मात्र थियो । तर त्यहाँ पुग्ने जोकोहीले साँच्चिकै संसद्को बैठक चलिरहेको झल्को पाएका थिए ।

केही दिन अघि नै भद्रपुर नगरपालिकामा युवाहरु सम्मिलित संसद गठन भएको थियो । नगरभित्रका तिनै ४७ जना युवाले राज्य सञ्चालनका शासकीय संरचनाअनुसार व्यवस्थापिका र कार्यपालिका अन्तर्गतका संसद, सरकार गठन, सत्तापक्ष–प्रतिपक्षको भूमिकामा अभ्यास गरेका हुन् ।
त्यहाँ सभामुखले संसदको कारवाही अगाडि बढाएका थिए भने विपक्षी दलले प्रश्न उठाउने र सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम समेत अभ्यास गरियो ।

नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसदको कारवाही अघि बढाइउको थियो ।भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पुर्याउने लक्ष्यका साथ राष्ट्रिय युवा परिषदले सदरमुकाममा रहेका स्थानीय तहहरुमा युवावर्गको सशक्तिकरण अनि सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा उनीहरुको सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसमा १६ देखि २४ वर्षका युवा सहभागी छन् ।

भद्रपुर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले नमूना युवा संसद स्थापना र सञ्चालन अभ्यास गराएको शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपानेले जानकारी दिए ।

नेपालमै पहिलोपटक नमूना युवा संसद गठनको अभ्यास गरिएको हो । छनोटमा परेका युवालाई नमूना संसद स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद संचालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको प्रशिक्षक योगेन्द्र पौडेलले बताएका छन् ।
उनका अनसार पुसको अन्तिम सातादेखि नै यससम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको थियो ।

सबै चरण पूरा गरी मङ्गलबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रतिपक्षसमेत तयार गरिएको थियो ।
वडाहरुमा १५ सदस्यीय युवा समिति गठन गरी प्रत्येक वडाबाट ४ जना प्रतिनिधि तथा नगरप्रमुखले मनोनित गर्ने ७ जना प्रतिनिधिसमेत ४७ जनाको संसदबाट पदाधिकारी चयन गरिएको थियो ।

युवाहरुलाई दुई भागमा विभाजन गरी बहुमत युवाहरुबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीहरु चयन गरिएको थियो भने अल्पमतका युवाहरुले प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् ।

राष्ट्रपतिमा रिजु आचार्य, उपराष्ट्रपतिमा शितल बस्नेतले भूमिका निर्वाह गरेका छन् भने प्रधानमन्त्रीमा सरोज ढकाल, सभामुखमा जयन्ती सुवेदी र उपसभामुखमा सुशील पोखरेल चयन भएका थिए ।

यसैगरी, विपक्षी दलको नेतामा सरोज पाण्डे र उपनेतामा देवमान बराइलीलाई चयन गरिएको थियो । सत्तापक्षीय संसदीय दलका नेता सरोज ढकालको अध्यक्षतामा सांसदहरुको छलफलपछि प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीपरिषद गठन गरिएको थियो ।

विभागीय मन्त्रीहरुमा मनोहर गौतम गृहमन्त्री, प्रविन लुइँटेल अर्थमन्त्री, रिनुज वस्नेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, अनिल प्रधान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, प्रेमा श्रेष्ठ उद्योग तथा रोजगार मन्त्री, आकाश लोहार युवा तथा खेलकुदमन्त्री, निकन अधिकारी स्वास्थ्य तथा सामाजिक मन्त्री, काजल सारु मगर महिला तथा बालबालिका मन्त्री नियुक्त भएका थिए ।

उनीहरुलाई युवा अवस्था, विश्लेषण, युथ भिजन, युवा नीति, युवा संसदमा उठान हुने विषय, प्रश्नोत्तर तयारी, नेतृत्व विकास तथा उत्प्रेरणा, युवा संसद परिचय र महत्व, नेतृत्व चयन तथा पदीय जिम्मेवारी बाँडफाँड, युवाका सरोकार विधिसम्बन्धी प्रशिक्षकहरु युवा समिति झापाका अध्यक्ष छवि चूडाल, योगेन्द्र पौडेल, कानुन व्यवसायी टङ्क दङ्गाल र राजकुमार कट्टेल, स्रोतव्यक्ति प्रेम भुजेलले प्रशिक्षण दिएका थिए ।

नमूना युवा संसद गठनको सबै प्रक्रियामा नगर सरकार प्रमुख जीवनकुमार श्रेष्ठको प्रत्यक्ष सक्रियता र चासो रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: